Kathmandu Press

दसैंमा घुमघामका लागि उपयुक्त आठ गन्तव्य

तपाईले पनि दसैंमा  घुम्न जाने योजना बनाउनुभएको छ? यदि छ भने यी आठ पर्यटकीय गतव्यबारे दिइएको जानकारी तपाईंका लागि उपयोगी हुन सक्छ।
दसैंमा घुमघामका लागि उपयुक्त आठ गन्तव्य

काठमाडौं, असोज १७ : नेपालीको सबैभन्दा ठुलो पर्व दसैं सुरु भइसकेको छ। आजकाल दसैंमा सपरिवार घुम्न जाने चलन बढ्दो छ। तपाईले पनि दसैंमा  घुम्न जाने योजना बनाउनुभएको छ? यदि छ भने यी आठ पर्यटकीय गतव्यबारे दिइएको जानकारी तपाईंका लागि उपयोगी हुन सक्छ। 

पोखरा 

छोटो समयको बिदामा घुम्न उपयुक्त स्थान हो, पोखरा। काठमाडौंबाट नजिकै पर्ने पोखरा स्वदेशी तथा विदेशी पर्यटकद्वारा एकदमै रुचाइएको ठाउँ हो।

Hardik ivf

पोखराको पहिलो आकर्षण फेवाताल हो। फेवातालमा डुंगा सयर गर्दै सुन्दर प्राकृतिक दृश्य अवलोकन गर्न पाइन्छ। पोखराबाट माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न पाइन्छ।

pojkhara1664871879.jpg

पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनास ताललगायत अरू धेरै सुन्दर स्थानहरू छन्। 

सराङकोटबाट पोखरा सहर, फेवाताल, सुन्दर हिमशृंखला हेर्न सकिन्छ। सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गरेर मनोरञ्जन लिन पाइन्छ।त्यस्तै अहिले बन्जी जम्पसमेत सञ्चालनमा आएको छ।

धार्मिक स्थलमा रुचि हुने व्यक्तिले विन्ध्यवासिनी, बाराही मन्दिरका दर्शनसमेत गर्न सक्छन्। तीन दिनदेखि एक सातासम्म घुम्न सकिने पोखरा एकदम रमणीय ठाउँ हो। 

घलेगाउँ 

लमजुङको घलेगाउँ ग्रामीण पर्यटनका लागि प्रसिद्ध छ। पछिल्लो समय युवावर्गले निकै रुचाएको गन्तव्य घलेगाउँमा होमस्टेमार्फत पर्यटन सेवा दिइँदै आएको छ। घलेगाउँमा अतिथि सत्कार निकै आकर्षक छ। 

ghalegaur1664871988.jpg

यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खानबस्न प्रशस्त होमस्टे बनेका छन्। प्राकृतिक सुन्दरता, रमणीय बस्ती र होमस्टेको सुविधाले गर्दा अहिले त्यहाँ घुम्न प्रशस्त पर्यटक त्यहाँ पुग्छन्।

काठमाडौंबाट छोटो बिदा लिएर भ्रमण गर्न घलेगाउँ उत्तम गतव्य मानिने दसैं बिदामा एकदुई दिन त्यहाँ घुम्न गए समय खेर गएको अनुभस्ति बिल्कुलै हुन्न। 

से–फोक्सुन्डो ताल

से–फोक्सुन्डो ताललाई गतव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ। हरियो र नीलो रङको अनुपम मिश्रणले रंगाएको तालको दृश्य निकै आकर्षक देखिन्छ। आकाशमा सूर्यको स्थानसँगै रङ फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई हिमालहरूले पहरा दिएका छन्। 

shephoksundo1664871882.jpg

से–फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो। तालनजिकै से गुम्बा पनि छ। डोल्पामा पर्ने से गुम्बा विश्वका प्रमुख १२ बौद्ध गुम्बामध्ये एक मानिन्छ। प्राकृतिक सुन्दरता र हिमशृंखलालाई नजिकबाट नियाल्न से–फोक्सुन्डो गज्जब ठाउँ मान्निन्छ। त्यसैले अहिले युवाहरुको उत्कृष्ट गतव्यमा यो ताल पर्छ। 

जिरी 

दोलखाको जिरीलाई नेपालको स्विट्जरल्यान्ड भनेर चिनिन्छ। राजधानी उपत्यकाबाट नजिकै रहेको जिरी घुम्न काठमाडौंदेखि ठुलो संख्यामा मानिसहरू जान्छन्। आफ्नो निजी सवारीबाट वा सार्वजनिक यातायातबाट एक दिनमै जिरी पुग्न सकिन्छ। 

दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पुगिन्छ। जिरी जाने क्रममा कालिञ्चोक मन्दिर दर्शन गरेर यात्रालाई अगाडि बढाउन सकिन्छ।

jiri dolakha1664871874.jpg

काठमाडौंबाट करिब दुई सय किलोमिटर टाढा रहेको जिरी पुगेपछि बेग्लै अनुभूति हुन्छ। जिरी खोलाको वरिपरि खुला ठाउँ र प्राकृतिक वातावरण बिछट्टै आकर्षक छन्। डाँडाकाँडाका बीचमा अवस्थित जिरी बजार कुनै समय सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित थियो।

किनकि सगरमाथा जान जिरी बजार भएर मात्र सम्भव थियो। तर अहिले सोलुखुम्बुको नाम्चे, लुक्ला र स्याङ्बोचेमा विमानस्थल बनेपछि केही मात्रामा जिरी सुस्ताएको छ। सगरमाथा जान पैदलयात्री भने अझै पनि त्यही बाटो आवतजावत गर्छन्। 

रारा

नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो रारा। मुगु सदरमुकाम गमगढीबाट तीन घन्टाको पैदलयात्रापछि पुगिने रारा ताल समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाइमा अवस्थित छ । प्रकृतिको उपहारका रूपमा सिर्जित रारा ताल रारा राष्ट्रिय निकुञ्जमा पर्छ। रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । 

rara lake1664871879.jpg

मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुंगीहरूले समेत यस क्षेत्रको शोभा बढाएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ । रारा तालबाट सैपाल हिमालको शृंखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनुका साथै अन्यत्र कहीं नपाइने ‘असला’ जातको माछा पाइन्छ ।

कन्याम

प्रदेश १ को पर्ने १४ जिल्लामध्ये इलाम पनि एक हो। इलामको कन्याम घुमघामका लागि असाध्यै प्रसिद्ध ठाउँ हो। इलामको सूर्याेदय नगरपालिकामा पर्ने कन्याममा मनोरम चियाबारी रहेको छ।

चर्चित पर्यटकीय स्थल कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठुलो संख्यामा मानिसहरू वनभोज कन्याम आउँछन्। 

kanyam1664871875.jpg

कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्णलगायत जस्ता हिमाल हेरेर रमाउन सकिन्छ। साथै कन्याम घुम्न आउने मानिसहरुले घोडा चढेर पनि मनोञ्जन लिन सक्छन्। 

इलाममा धार्मिक तथा पर्यटकीय स्थलहरु प्रशस्त छन्। अन्तुडाँडा इलामको एक पर्यटकीय गतव्य मानिन्छ। अन्तुडाँडा सूर्याेदयको दृष्टिकोणले प्रसिद्ध मानिन्छ। इलाम भ्रमणका क्रममा कन्याम र सन्दकपुरको फन्को लगाउन सकिन्छ।

थुम्काथुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि प्राकृतिक सुन्दरताको अनुपम झझल्को दिन्छ। सूर्याेदयको दृश्यावलोकनका लागि नेपालमै प्रख्यात श्री अन्तुदेखि विविधिताले सम्पन्न माईपोखरी र सन्दकपुरसम्मको यात्राले इलाम भ्रमणलाई सार्थक बनाउँछ। 

भेडेटार  

पूर्वको रमणीय स्थलका रूपमा प्रख्यात छ। धनकुटाको भेडेटार धरानबाट १६ किलोमिटर उत्तरमा सुनसरी र धनकुटाको सिमानामा अवस्थित छ। समुद्री सतहबाट १ हजार ४३० मिटर उचाइमा पहाडी क्षेत्रमा अवस्थित भएकाले मानिसहरु गर्मी छल्नका साथै चिसो वातावरणमा रम्न भेडेटार पुग्छन्। पहाडी भेगको प्राकृतिक सुन्दरता हेर्न आउने गर्छन्। 

bhedetar1664871870.jpg

भेडेटारको भ्यु टावर अर्थात् चाल्र्स प्वाइन्ट निकै चर्चित छ। २०३८ सालमा बेलायती युवराज चाल्र्स शैलुङ डाँडाको टुप्पोमा चढेकाले यस डाँडालाई चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो। 

भेडेटारबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरुका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृंखलाहरु हेर्न सकिन्छ। यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएकाले घुम्न जान एकदम उपयुक्त मानिन्छ। 

भेडेटारनजिकै पाथीभरा मन्दिर छ भने केही तल नमस्ते झरना पनि छ। राजारानी जाने बाटो हुँदै तीन किलोमिटर पर्तिर गएर थुम्की–नाम्जे होमस्टेमा बसेर हुर्रा नाचमा रमाइलो गर्न पनि पाइन्छ। त्यहाँ आत्माघर भन्ने एउटा चर्चित स्थान पनि छ। 

गोसाइँकुण्ड

प्रकृतिको सुन्दर, शान्त र शीतल भूमि हो गोसाइँकुण्ड । सामुद्रिक सतहबाट १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ ६ सय मिटर र चौडाइ ३ सय ७० मिटरसम्म फैलिएको छ । गंगा दशहरा र जनैपूर्णिमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने यहाँ दशहरामा भन्दा जनैपूर्णिमाको मेलामा हजारौं श्रद्धालु भक्तजन र विदेशी पर्यटकहरूको जमघट हुने गर्छ ।

gosain kunda1664871871.jpg

रसुवाको स्याफ्रु गाविसको उच्च स्थानमा पर्ने यस कुण्डमा पुग्न सदरमुकाम धुन्चेदेखि एकदिनको पैदलयात्रा गर्नुपर्छ । धुुन्चेबाट देउराली, च्योलाङपाटी, चन्दनबारी, लौरिविनायकको उकालोपछि गोसाइँकुण्ड पुगिन्छ । 

तिब्बतसँग भएको नेपालको लडाईंमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल पनि गोसाइकुण्ड जाने बेलामा पुग्न सकिन्छ । रसुवा जिल्लाको दक्षिणी भेगका ग्रामीण बस्ती सरमथली, जिबजिबे, कालिकास्थान र राम्चे वरपरका पहाडी बस्तीहरूले पनि गोसाइँकुण्ड जाने यात्रुहरूलाई रोमाञ्चित बनाउँछ ।

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्