दसैंमा स्वास्थ्य कसरी बचाउने?
वास्तवमा खानपानकै कारण हामीमा स्वास्थ्य जटिलताहरू पैदा भइरहेका हुन्छन्। दसैं, तिहारजस्ता चाडपर्व मनाउने क्रममा चिकित्सकहरूले दिएका सल्लाहसुझावलाई आत्मसात् गरे धेरै हदसम्म स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ।
काठमाडाैं : दसैं नेपालीहरूको महान् पर्व हो। यो पर्व १५ दिनसम्म मनाउने परम्परा छ। दसैंलाई मिठो खाने र राम्रो लाउने पर्वका रूपमा पनि जनमानसले बुझ्दै आएका छन्।
काम विशेष वा पढाइका सिलसिलामा घर अथवा देशबाहिर रहेका आफन्तजन सकेसम्म दसैंका अवसरमा घर फर्कने गर्छन्। शरद ऋतुमा पर्ने यो पर्व मौसमका हिसाबले पनि एकदम उपयुक्त मानिन्छ। न जाडो न गर्मीको समय भएकाले खानेकुरा पच्न पनि सजिलो हुन्छ भन्ने मान्यता रहेको पाइन्छ।
दसैंमा आफन्तजनको जमघट हुने हुँदा सेलरोटी, माछामासु, चिउरा, अचारलगायत विभिन्न किसिमका परिकार खाने प्रचलन छ। तर जसले जे भने पनि दसैमा हामीले खाने खाना स्वास्थ्यका लागि कत्तिको अनुकूल या प्रतिकूल छ भन्नेमा विचार पु¥याइएन भने अनेक समस्या निम्तिन सक्छन्।
वास्तवमा हाम्रो खानपानकै कारण हामीमा स्वास्थ्य जटिलताहरू पैदा भइरहेका हुन्छन्। दसैं, तिहारजस्ता चाडपर्व मनाउने क्रममा पनि स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरू धेरै छन्। यस्ता विषयमा चिकित्सकहरूले दिएका सल्लाहसुझावलाई आत्मसात् गरे धेरै हदसम्म स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ।
योग तथा प्राकृतिक चिकित्सक संघका निर्देशक डा. हेमराज कोेइराला चाडपर्वमा स्वास्थ्यलाई जोगाउन खानपानमा विशेष ख्याल पु¥याउनुपर्नेमा जोड दिन्छन्। ‘दसैंमा कुन परिकार खाने, कसरी पकाउने र कस्तो तरिकाले भण्डारण गर्ने भन्ने विषयलाई ध्यानमा राखे हामी हाम्रो स्वास्थ्यलाई धेरै हदसम्म सुरक्षित राख्न सक्छौं,’ उनी भन्छन्।
खाने तरिकामा ध्यान दिनु जरुरी
दसैंैका अवसरमा परिवारका सबै सदस्य जम्मा भई मिठामिठा परिकार खाँदै आपसमा रमाइलो गर्ने गरिन्छ। यस्तो बेलामा बनाइने–खाइने परिकार स्वच्छ र स्वस्थ हुनु जरुरी छ, ताकि कुनै शरीरमा रोग निम्त्याउने र सुषुत्त रोग बल्झाउने अवस्था नबनोस्।
दसैंमा कुन परिकार खाने, कसरी पकाउने र कस्तो तरिकाले भण्डारण गर्ने भन्ने विषयलाई ध्यानमा राखे हामी हाम्रो स्वास्थ्यलाई धेरै हदसम्म सुरक्षित राख्न सक्छौं ।
हामीले खाने खानेकुरामा पौष्टिक पदार्थ बढी अथवा कम भन्ने कुराले त्यति धेरै माने राख्दैन। तर पकाउने, खाने र भण्डारण गर्ने तरिकामा भने विशेष ध्यान दिनुपर्ने हुन्छ।
पहिलेपहिले गरिबीका कारण कतिपय मानिसले दसैंका अवसरमा मात्र माछामासु खाने गर्थे। अहिले माछामासु खान दसैं नै कुरिरहनुपर्ने अवस्था हटिसकेको छ। पछि खान पाइँदैन पाइएको बेलामा सकेको जति खाइहालूँ भन्ने स्थिति अहिले छैन।
अहिले दसैंबाहेक जुनसुकै समयमा पनि मानिसहरूले पौष्टिक तत्वका रूपमा माछामासु खाइ नै रहेका हुन्छन्। तसर्थ माछामासु खानुहुँदैन भन्ने होइन, खाने तरिकामा भने ध्यान दिनु आवश्यक छ।
परिकार बनाउँदा पौष्टिक तत्व कसरी जोगाउने
दसैंमा माछामासु धेरै खाने चलन छ। सुरुमा त हामीले खाने कुखुरा, खसी, राँगा, सुँगुर स्वस्थ छ कि छैन भन्नेमा ध्यान दिनुपर्छ। मासु ‘हाइली इन्फेटेड फुड’ हो। त्यसकारण धेरै दिन यसलाई भण्डारण गरेर राख्नुहुँदैन। धेरै दिन भण्डारण गरेको मासुमा ‘ब्याक्टेरिया’ एकदमै चाँडो सक्रिय हुन्छ।
धेरै दिनदेखि भण्डार गरी राखेको मासु खायौँ भने त्यसबाट ‘फुड पोइजन’ भई झाडापखला हुने, बान्ता हुने, पेट दुख्ने, ज्वरो आउने समस्या देखिने गर्छ। यो समस्या बढ्दै गए मानिसको अकालमै ज्यान पनि जान सक्छ।
मासु पकाएर खानु राम्रो हो तर आजभोलि पकाउने तौरतरिका फेरिँदा पौष्टिक तत्व नष्ट भइरहेको देखिन्छ। मासु पकाउँदा चर्काे नुन राख्ने, बेसरी तार्ने, धेरैबेर भुट्ने गर्दा यसमा रहेको पौष्टिक तत्व नष्ट भई क्यालोरी मात्र बाँकी रहन्छ, जसले शरीरलाई फाइदा गर्दैन। त्यसैगरी मासु पकाउँदा चिल्लो पदार्थ र अन्य मसमसला कमै प्रयोग गरी पकाउनुपर्छ।
सेलरोटी पनि ३ सय डिग्री तातो तेलमा पकाइने भएकाले यसमा पनि पौष्टिक तत्व नभई क्यालोरी मात्र हुन्छ। यसरी सेलरोटीलाई पचाउन शरीरले एस्ट्रा क्यालोरी खर्च गरेर पचाउनुपर्छ। त्यसकारण सेलरोटी पनि थोरै मात्रामा खानुपर्छ।
दसैंमा रक्सी, बियर, वाइनलगायत अल्कोहलको पनि धेरै प्रयोग हुन्छ। आवश्यकताभन्दा बढी अल्कोहलको प्रयोगले ज्यानै तलमाथि हुन सक्ने खतरा रहन्छ।
दीर्घरोगी रातो मासुबाट टाढै बस्नु जाती
दसैंमा बनाइएका परिकार खाँदा दीर्घरोगीले विशेष ध्यान दिनु आवश्यक छ। मुटुरोग, युरिक एसिड, सुगरका रोगीहरुले रातो मासु (मुटु, कलेजो तथा अन्य फलमासु) खानैहुँदैन। किनभने, रातो मासु र फलमासुमा कोलेस्टोरलको मात्रा बढी हुने हुन्छ।
तर दीर्घरोगीले रातो मासुको सट्टा कुखुराको मासु राम्ररी पकाएर सीमित मात्रामा खाँदा स्वास्थ्यमा खासै असर गर्दैन। यसका अतिरिक्त दीर्घरोगीेले माछामासुभन्दा पनि फलफूल र हरियो सागपात खानु राम्रो हुन्छ।
दीर्घरोगी रक्सी सेवनबाट पनि टाढा रहनुपर्छ। रक्सीको सेवनले स्वास्थ्यलाई कुनै पनि हालतमा फाइदा पु¥याउँदैन भन्ने बुझ्नुपर्छ।
बालबालिकाका लागि झोल हालेको माछामासु उपयुक्त
बालबालिकाको पाचन शक्ति कमजोर हुन्छ, त्यसकारण उनीहरूलाई माछामासुभन्दा पनि त्यसको झोल खुवाउनु बेस हुन्छ।
यसका साथै बालबालिकाले धेरै चिल्लो पदार्थयुक्त खानेकुरा जस्तै खिर, सेलरोटी र मालपुवा धेरै खुवाउनुहुँदैन। बालबालिकालाई चिल्लो खानेकुराबाट बचाएर धेरैखाले रोगबाट उनीहरूलाई जोगाउन सकिन्छ।
(काठमाडौं प्रेसकर्मी सलिना कुँवरले प्राकृतिक चिकित्सक संघका निर्देशक डा.कोेइरालासँग गरेको कुराकानीमा आधारित)









![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)