ह्यातको बैठकमा तारा गाउँका अध्यक्षको ६ बुँदे असहमति
काठमाडौं, मंसिर २४ : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले असन्तुष्टि प्रक....

काठमाडौं, मंसिर २४ : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले असन्तुष्टि प्रकट गरेका छन्।
काठमाडौंमा सोमबार भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानले तारा गाउँ विकास समितिको तर्फबाट फरक मत प्रस्तुत गरेका हुन्। सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफललगायतका विषयमा अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मत राखेको जनाएको छ।
अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा विकास समितिको तर्फबाट यसअघि तीन जनाको प्रतिनिधित्व रहने प्राबधान भएपनि पछिल्लो समयमा एक जना मात्रै प्रतिनिधित्व गराएको भन्दै तीन जनाकै प्रतिनिधित्व हुनुपर्ने अडान राखेका छन्।
यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव र समितिका संचालक सदस्य गरी तीन जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो। तर, पछिल्लो समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको २२.६७ प्रतिशतबाट घटेर ९.१ प्रतिशत झरेको भन्दै एक जनामा सिमित गराएको थियो। तारा गाउँ विकास समितिमा तीनै जना हुनुपर्नेमा अध्यक्ष न्यौपानेको भनाइ छ।
त्यस्तै, अध्यक्ष न्यौपानेले तारा गाउँ रिजेन्सी होटल लिमिटेडमा समितिको लगानीको अनुपात साविकको २२.६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्न र आफ्नो हिस्साको हकप्रद शेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने माग गरेका छन्।
तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण गर्नुपर्ने उनको भनाइ थियो।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०५० चैत १८ गते दिएको निर्देशनको सम्बन्धमा समितिले होटल्सलाई लिजमा दिएको जग्गाको समय सापेक्ष पुनः मुल्यांकन हुनपर्ने अडान उनले राखेका छन्।
यस्तै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्बन्धमा अध्ययन अनुगमनसम्बन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनु पर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्रलगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शिघ्र कार्यान्वयन गर्नु पर्ने उनको भनाइ थियो।
बैठकमा हायात होटलका प्रबन्ध निर्देशक सुरेशलाल श्रेष्ठ, सिईओ अरुणकुमार सराफ, सञ्चालक समिति सदस्य कमलादेवी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।











