फूलपाती : मालश्री धुन, भगवतीको पूजा र कीटाणु विनाश
देशभरका प्रमुख शक्तिपीठ, देवी मन्दिर, नेपाली सेना र प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा हर्षबढाइँका साथ फूलपाती भित्र्याउने चलन छ।
फूलको अर्थ ‘पुष्प’ र पातीको अर्थ ‘पातसहितको हाँगा’ । दसैंको सातौं दिन अर्थात् फूलपातीमा घरघरमा शुभसाइतको प्रतीकका रूपमा पात र फूलसहितको हाँगा भित्र्याइन्छ।
फूलपातीका दिन घरमा नवपत्रिका भित्र्याइन्छ, जसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पर्छन्। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा धान्यलक्ष्मीलगायत नवपत्रिकाका हरेक सामग्रीमा भगवतीको बास हुने विश्वास रहिआएको छ।
सोही कारण फूलपातीका दिन ती सामग्रीलाई भगवतीको रूपमा पूजा गर्ने चलन छ। यसले वातावरणलाई संरक्षण गर्नुपर्ने कुरा पनि सिकाउँछ। जस्तै– रुखले औषधि उत्पादन गर्छन्, रूख काट्नुहुँदैन । रुखले हामीलाई स्वच्छ वायु प्रदान गर्छ, बाढीपहिरोबाट बचाउँछ, वनस्पतिको संरक्षण गर्नुपर्छ भन्ने फूलपातीले हामीलाई सिकाउँछ।
भगवतीको रूपमा मानिसले सामग्रीहरू घरमा भित्र्याउँदा परिवारका सबै सदस्यले नयाँ तथा चोखो लुगा लगाउनुपर्छ। साथै एकअर्कासँग सद्भाव र माया साटासाट गर्ने, बाजागाजासहित नवपत्रिका भित्र्याउनुपर्छ।
त्यसपछि सोही दिन भद्रकाली र सरस्वतीको विशेष पूजा हुन्छ। कतिपय ठाउँमा नवपत्रिका पूजा गर्दा किताब वा पुस्तक पनि राख्ने गरिन्छ। पुस्तकमा सरस्वतीलाई आह्वान गरिन्छ।
हामीसँग हजारौं वर्षदेखिका शास्त्रहरू छन्। तर कुन समयदेखि फूलपातीको प्रचलन आयो भन्ने विषयमा ठोस प्रमाण छैन। किंवदन्तीहरू अनुसार भगवान् रामले रावणको बध गरी विजय प्राप्त भएपछि विजया दशमी पर्व मान्न थालिएको मानिन्छ। तर यसको पनि ठोस प्रमाण छैन।
कतिपयले विगतमा चैतमा मनाइने दसैं कालान्तरमा असोजमा मनाउन थालिएको पनि बताउँछन्। तर यसको पनि प्रमाण पाइँदैन। नवरात्रि चारवटा हुन्छन्– शारदीय, वसन्त, माघ र असार। यसको प्रमाण स्वयं शास्त्र नै हो। यस अर्थमा पृथ्वीको सृष्टि सुरु भएको अनादिकालदेखि नै दसैं मनाउने प्रचलन रहेको मान्न सकिन्छ। एक युगमा ४३ लाख २० हजार वर्ष हुन्छ। त्यसैले यो शताब्दीदेखि सुरु भएको भन्ने प्रमाण छैन।
अहिलेको समय फूलपाती भित्र्याउँदा धेरैलाई यसको विधिबारे थाहा हुँदैन। आफूले नजानेको खण्डमा पुरोहितसँगको सल्लाहमा फूलपाती भित्र्याउँदा सबैभन्दा राम्रो हो। कथंकदाचित जानिएन भने भगवतीलाई श्रद्धा, प्रेम र भक्तिका साथ आराधना गर्नुपर्छ।

शास्त्रले बिहानै पूजा गर्नू, फूलपाती भित्र्याउनू र भगवतीको विसर्जन गर्नू भनेको छ। यस दिन भगवती, सरस्वती र फूलपातीको पूजा हुन्छ। सोही दिन गोरखा दरबारमा भने साइत हेरी भृकुटी सुसारेहरूले दरबार क्षेत्रमा रहेको जंगलबाट ल्याएका नवपत्रिका चौतारोमा राख्ने र बाजागाजासहित मालश्री गीत गाउँदै फूलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्छन् ।
फूलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बलि दिने चलन छ। यस्तै, देशभरका प्रमुख शक्तिपीठ, देवी मन्दिर, नेपाली सेना र प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा हर्षबढाइँका साथ फूलपाती भित्र्याउने चलन छ।
फूलपाती भित्र्याउने साइतअनुसार टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ जात्रा प्रस्तुत गर्ने गर्छ। नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्षबढाइँ गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ। उक्त बढाइँको राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरूले प्रत्यक्ष अवलोकन गर्छन्।
नेपाली सेनाले सोही दिन टुँडिखेलमा टुकडीले तोप पड्काउँदै देशभर महोत्सव सुरु भएको आह्वान गर्छ। उनीहरूले आजबाट मुल दसैं सुरु भयो र सबैजना काम छाडेर आपसमा सद्भाव र प्रेम साटासाट गर्ने सन्देश दिएको हुन्छ। दसैंमा नयाँ लुगा लगाउने भनेकै पवित्र हुने भन्ने हो। तर, धेरैले यो कुरा बुझेका छैनन्।
विगतमा काठमाडौंका नेवार समुदायले फूलपाती भित्र्याउँदा मात्र नभई नवरात्रिभर बाजा बजाउने, शंख फुक्ने, धुप बालेर मन्दिरको परिक्रमा गर्थे। किनकि, वर्षायाममा पानी परेर थुप्रिएको फोहोर र कीटाणुलाई हटाएर अब हिउँद लाग्यो, रोगबाट डराउनुपर्दैन भन्ने सन्देश दिन यस्ता क्रियाकलाप गरिएको हो। शंख फुक्दा र बाजा बजाउँदा वायुमा रहेका मसिना कीटाणुहरू मर्ने धार्मिक तथा पौराणिक मान्यता छ। गल्ली–गल्लीमा जम्मा भएको फोहोर र त्यसको दुर्गन्धलाई हटाउन धुप बालेर हिँड्ने प्रचलन स्थापित भएको हो।
यस्तै, दसैं आउँदा गाउँघरमा कमेरो पोत्ने चलन अद्यापि छ। वर्षामा जम्मा भएका किरा टालिऊन् वा नष्ट हुन् र नयाँ किसिमको वातावरण होस् भनेर त्यसो गरिएको हो। मानिसको जीवनशैली परिवर्तन भएसँगै विगत र अहिले पूजा विधि वा अन्य केही कार्यमा सामान्य परिवर्तन पक्कै पनि आएका छन्। तर अन्य पर्वहरू जस्तै फूलपातीमा त्यति धेरै परिवर्तन आएको छैन।
जमलबाट हनुमानढोकासम्म ब्यान्डबाजा र नाचगानसहित फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने छ। देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ। फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता पर्दैन।
यस्तै फूलपातीकै दिनदेखि दसैं पूर्ण रूपमा सुरु भएको मानिन्छ। फूलपातीका दिन नवपत्रिका भित्र्याउँदा ‘प्रातः रेव प्रवेशयेत्, प्रातस्प्रातस् सम्पूज्य, प्रातरेव विसर्जयेत्’ श्लोक उच्चारण गर्नु उपयुक्त हुन्छ। भगवतीको पूजा गर्नेबेला पनि ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवाधात्री स्वहा स्वधा नमोस्तुते’ श्लोक उच्चारण गरेर पूजा गर्न सकिन्छ। यति पनि जानिएन भने ‘नवदुर्गाय नमः’ उच्चारण गरेर पूजा गर्न सकिन्छ।
दसैंमा भगवतीको पूजाआराधना गर्दा देशमा अनिकाल नपर्ने, राम्रो वर्षा हुने, धान, मकै, कोदो राम्रोसँग फल्ने तथा शान्ति सुरक्षा, सद्भाव र माया बढ्ने धार्मिक मान्यता रहिआएको छ।
यसको सामाजिक मूल्य र मान्यता पनि उत्तिकै छ। समाजमा यो एउटा उत्सवको रूपमा पनि स्थापित छ। विदेशमा बसेको मान्छे पनि दसैंको समयमा परिवारसँग भेट्न वा सँगै दसैं मनाउन र ठुलोबाट टीका, आशिर्वाद थाप्न स्वदेश फर्किन्छन्। परिवारका समस्यहरूमा वर्षभरि मनमुटाव भएको छ भने पनि दसैंमा सबै रिसराग भुलेर सँगै बसेर खाने, शुभकामना साटासाट गर्ने, आनन्द लिने गर्छन्। साथै देशभरका मानिसले नयाँ लुगा लगाउने, मिठो खाने, सहयोग र सद्भावना प्रदर्शन गर्ने हुँदा सामाजिक मेलमिलाप र राष्ट्रियताको प्रदर्शन गर्ने काम दसैंले गरेको छ।









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)