दसैंमा पुजिने १० शक्तिपीठ
शक्तिको प्रतीकका रूपमा देवीहरूको पूजाअर्चना गर्दा जीवनमा प्रगति गर्न र शत्रुहरूलाई निस्तेज पारी विजय हासिल गर्न ऊर्जा प्राप्त हुने विश्वासमा मानिसहरु पाइक पर्ने शक्तिपीठमा पुगेर देवीको पूजामा सरिक हुने गर्छन् ।काठमाडौं, असोज : बडादसैं नेपालीहरूको महान् चाड हो। दसैंमा देशबाहिर रहेका वा देशभित्रै यत्रतत्र छरिएर रहेका नेपाली सकेसम्म घर फर्कने गर्छन्। यतिबेला विद्यालय, विश्वविद्यालय तथा विभिन्न निजी तथा सरकारी कार्यालयमा बिदा पनि हुन्छ। चाड मनाउने सिलसिलामा खेतीपातीको कामलाई पनि विश्राम दिइन्छ। उद्योग कलकारखानासमेत बन्द गरी फुर्सद निकालेर दसैं मनाउने परम्परा रहिआएको छ।
दसैंमा एकादशीदेखि महानवमीसम्म शक्तिकी देवी दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। शक्तिपीठहरूमा राँगा, बोका, हाँस, कुखुराको बलि दिई पूजाआजा गरे मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार देशभर रहेका शक्तिपीठहरूमा पूजाआजा गरिन्छ। शक्तिको प्रतीकका रूपमा देवीहरूको पूजाअर्चना गर्दा जीवनमा प्रगति गर्न र शत्रुहरूलाई निस्तेज पारी विजय हासिल गर्न ऊर्जा प्राप्त हुने विश्वासमा मानिसहरु पाइक पर्ने शक्तिपीठमा पुगेर देवीको पूजामा सरिक हुने गर्छन् । अन्य समयमा सामान्य रहे पनि अष्टमी र नवमीमा शक्तिपीठमा दर्शनार्थीहरूको बाक्लो उपस्थिति हुने गर्छ।
दसैंमा नेपालका विभिन्न भूभागमा रहेका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ। ताप्लेजुङको पाथीभरा, बाराको गढीमाई, काठमाडौंको तलेजु भवानी, कास्कीको विन्ध्यवासिनी,पाल्पाको उज्जेश्वरी, सुर्खेतको देउती बज्यै, डडेल्धुराको उग्रतारा, काठमाडौंको गुह्येश्वरी, बाँकेको वागेश्वरी, काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा दर्शनार्थीको ठुलो भिड लाग्ने गर्छ।
ताप्लेजुङको पाथीभरा
पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा मन्दिर एक हो। पाथीभरामा चाडपर्व भन्दा बाहेकको समय पनि दर्शनार्थीहरूको घुइँचो हुन्छ। ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तरपूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा छ। पाथीभरा लिम्बू जातिको आराध्या देवताको थान भए पनि हिन्दु एवं बौद्धहरूले समेत पुज्ने शक्तिपीठ हो ।
यो ताप्लेजुङको १२ हजार फिट उचाइमा रहेको छ । यो मन्दिरमा वर्षभरि भक्तजनको घुइँचो लाग्ने गर्छ। यहाँ जतिसुकै बलि चढाए पनि रगत नदेखिने जनविश्वास छ। पाथीभरामा दसैंको समयमा झनै दर्शनार्थीको घुइँचो हुने स्थानीयको भनाइ छ। अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यो देवीको नाम ‘पाथीभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिने गरिएको स्थानीय बताउँछन्।
बाराको गढीमाई
बाराको कलैयामा रहेको गढीमाई मन्दिर तराई क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल हो। यहाँ दसैंका बेला बलिसहितको पूजाअर्चना हुने गर्छ। दसैंको दिन नेपाललगायत भारतका नागरिक दर्शन गर्न आउने गर्छन्। यो बलिका लागि चर्चित छ। बडादसैंका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ ।
गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । बरियारपुरको खुला चौरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। बाराको सदरमुकाम कलैया नगरपालिकाबाट झन्डै आठ किलोमिटर पूर्व बरियारपुरमा रहेको गढीमाईमा दसैंमा बाहेका पाँचपाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि ठुलो मेला लाग्ने गर्छ।
काठमाडौंको तलेजु भवानी मन्दिर
तलेजु भवानी मन्दिर काठमाडौं दरबार क्षेत्रमा रहेको एक प्रसिद्ध मन्दिर हो। यो वर्षको एक दिन अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। मल्लकालमा निर्माण गरिएको यो मन्दिर हनुमानढोका नामले पनि चिन्ने गरिन्छ।
महानवमीको दिन मात्र खुल्ने भएकाले उक्त दिन दर्शनार्थीको निकै भिड लाग्ने गर्छ। तलेजु भवानी मन्दिरको दसैं घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । नेपालमा तलेजु भवानीलाई प्रवेश गराउने व्यक्ति सिम्रौनगढबाट लखेटिएका कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको भनिन्छ। मल्ल राजाहरूले इष्टदेवीका रूपमा पुज्ने गर्थे।
कास्कीको विन्ध्यवासिनी मन्दिर
विन्ध्यवासिनी गण्डकी प्रदेशको प्रख्यात मन्दिर हो। यो पोखराको प्रख्यात पर्यटकीय स्थलमध्येको एक हो। यसलाई पोखरा सहरको सबैभन्दा पुरानो मन्दिर पनि मानिन्छ । विन्ध्यवासिनीलाई भगवती कालीको अवतारका रूपमा लिइन्छ ।
मन्दिर परिसरमा देवी सरस्वती, शिव, हनुमान, गणेशका साना मन्दिरहरू छन् । मन्दिर एउटा सानो पहाडमा अवस्थित छ। मन्दिरसम्म पुग्नको लागि ढुंगाको सुन्दर सिढी बनाइएको छ।
यहाँबाट अन्नपूर्ण हिमशृंखलाको राम्रोसँग अवलोकन गर्न सकिन्छ। हरेक दिन यो मन्दिरमा पूजापाठ जारी रहे पनि दसैंको बेला विशेष भिड लाग्ने गर्छ । पोखरा–बागलुङ सडकखण्डनजिकै पर्ने यो मन्दिरमा बडादसैंको फूलपातीका दिन बाजागाजासहित फूलपाती भिœयाइन्छ भने नवमीको दिन विशेष पूजा गरिन्छ। यहाँ पूजा गरे मनले चिताएको कुरा पूरा हुने जनविश्वास रहीआएको छ।
पाल्पाको रणाउजेश्वरी मन्दिर
पहाडी जिल्ला पाल्पामा रहेको रणउजेश्वरी भगवती प्रसिद्ध मन्दिर हो। दसैंको बेला यहाँ बलि दिइँदैन तर पूजाआजा भने गरिन्छ। नेपाल र अंग्रेज युद्धको सम्झना स्वरुप यो मन्दिरमा भगवती जात्रा गरिन्छ। यहाँ दसैंको बेला बलि नदिइए पनि पूजाआजा भने हुने गर्छ। भगवती जात्राको दिनमा भने यहाँ बलीसहितको पूजा लाग्ने गरेको स्थानीय बताउँछन्।
सुर्खेतको देउती बज्यै मन्दिर
देउती बज्यै मन्दिर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रख्यात धार्मिकस्थल हो। यो मन्दिर धार्मिक, पर्यटकीय स्थलका रूपमा प्रख्यात मानिन्छ। सुर्खेतमा बसोबास गर्दै आएको पुरानो जाति राजीले गंगामा जाल खेल्न जाँदा देवता भेटिएकाले देउती बज्यै नाम रहेको किंवदन्ती छ।
यहाँ दसैंका बेला राँगा, बोकासहितको बलिसहित पूजा गर्ने चलन छ। यो मन्दिरमा दसैंैबाहेकको समयमा हजारौ दर्शनार्थी पुग्ने गर्छन्। यो मन्दिरमा पूजाआजा गरे मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ ।
डडेल्धुराको उग्रतारा मन्दिर
उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध महाशक्तिपीठ हो। यो डडेल्धुरा जिल्लामा पर्दछ। यहाँ अष्टमीको दिन बलिसहितको पूजाआजा गरिन्छ।
किंवदन्तीअनुसार २५ सय वर्षपहिले हालको अमरगढी नगरपालिका लटाउलीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको बताइन्छ ।
दसैंको आठौं दिन भगवती गौरीमाताको उत्पन्न हुने दिन भएकाले हरेक वर्ष अष्टमीको दिन मेला लाग्ने गर्छ। मेलामा यो प्रदेशका नौवटै जिल्ला तथा भारतबाट भक्तजन एवं धार्मिक आस्थावान् नागरिक उग्रतारा मन्दिर पुग्ने गर्छन्। उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महŒवपूर्ण शक्तिपीठका रूपमा रहेको छ ।
काठमाडौंको गुह्येश्वरी मन्दिर
गुह्यश्वरी काठमाडौं उपत्यकाभित्रको प्रसिद्ध शक्तिपीठ हो। यो वाग्मती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ। यहाँ सतीदेवीको गुह्य पतन भएको विश्वास गरिन्छ। यो पीठमा दसैंको घटस्थापनादेखि नै विशेष पूजा आराधना गरिन्छ ।
यो स्थानमा सबैभन्दा पहिले ३३ कोटी देवता पूजाआराधना गरेको विश्वास भए पनि यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्छन् ।
बाँकेको वागेश्वरी मन्दिर
बाँके जिल्लाको नेपालगन्जमा रहेको वागेश्वरी एक प्रसिद्ध मन्दिर हो। सतीदेवीको जिब्रो पतन भएको सो मन्दिरमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत देशको धेरै जिल्लाका नागरिक दर्शन गर्न जाने गर्छन्। एउटा ठुलो तलाउको किनारामा रहेको यो मन्दिरमा सबैभन्दा पहिले किन्नरहरूले पूजाआराधना गरेको मानिन्छ।
काभ्रेको पलाञ्चोक भगवती मन्दिर
काभ्रेको पाँचखालबाट सात किलोमिटर पुर्वमा पर्छ पलाञ्चोक भगवतीको मन्दिर। दोलखाको कालिञ्चोक भगवती, काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवती र अन्य गरी सात भगवती दिदीबहिनी भएको बताउने गरिन्छ ।
लिच्छविकालमा राजा मानदेवले आमाको सम्झनामा यो मन्दिर बनाएका हुन्। यस मन्दिरमा दर्शन गरे चिताएको पूरा हुने, रोगव्याधि नलाग्ने, शत्रुको भय नहुने, धनसम्पत्ति वृद्धि हुने जनविश्वास छ । यहाँ दसैंमा भक्तजनको भिड लाग्ने गर्छ।