Kathmandu Press

आर्चरीको स्वर्ण पदकमा बंगलादेशको क्लिन स्विप

पोखरा, मंसिर २३ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ।

१० वटा स्व....

आर्चरीको स्वर्ण पदकमा बंगलादेशको क्लिन स्विप

पोखरा, मंसिर २३ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ।

१० वटा स्वर्ण पदकको लागि सोमबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो।

रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो।  रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व र्‍याङकिङ १० औंभित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे।

सोही इभेण्टको महिलातर्फ बंगलादेशकी १४ बर्षकी उदीयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन्। 

रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो। श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्। कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन्।

त्यसैगरी कम्पाउण्ड एकल पुरुष तर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो। कास्य पदकका लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन्।

सोही इभेण्टको महिला तर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। श्रीलंकाले यो विधामा कास्य पदक हात पारेको छ। श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।

आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदकमाथि बंगलादेशले एक्लौटी ढंगले वर्चश्व जमाउन सफल भएको थियो। विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसदद्वय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेशकुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए। नेपालले एक रजत, २ कास्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ।

नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो। नेपालसहित ४ देश सहभागी भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागी भएन।
 

प्रकाशित मिति: १७:१० बजे, सोमबार, मंसिर २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्