तलब-भत्ताको खर्च वृद्धि, विकास खर्च न्यून
काठमाडौं, मंसिर २३ : सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विकास खर्च गर्न सकेको छैन। तलब-भत्ता खर्च अत्यधिक बढेपनि विकास खर्च भने न्यून रहेको....

काठमाडौं, मंसिर २३ : सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विकास खर्च गर्न सकेको छैन। तलब-भत्ता खर्च अत्यधिक बढेपनि विकास खर्च भने न्यून रहेको छ।
महालेखा नियन्त्रकको कार्यालयको मंसिर २२ गतेसम्मको तथ्यांक अनुसार, विकास खर्चमा कुल अनुमानित खर्चको ८.१७ प्रतिशत मात्रै भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि पूजिगत खर्च (विकास खर्च) चार खर्ब ८० अर्ब ५९ करोडको लक्ष्य लिएको थियो। जसमा अहिलेसम्म ३३ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च भएको महालेखाले जनाएको छ।
त्यस्तै सबैभन्दा धेरै तलब–भत्ता (चालु खर्च)मा खर्च भएको छ। तलब–भत्तामा मात्रै २४.०३ प्रतिशत खर्च भएको छ। सरकारले नौ खर्ब ५७ अर्ब १० करोड लक्ष्य लिएको चालु खर्च (तलब–भत्ता)अन्तर्गत अहिलेसम्म दुई खर्ब ३० अर्ब १५ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार, विकास खर्चको तुलनामा चालु खर्च तीन गुणा बृद्धि भएको छ।
राजश्व संकलनमा गिरावट
सरकारले राजश्व संकलनमा पनि प्रगति गर्न सकेको छैन। ११ खर्ब १२ अर्ब ३३ करोडको वार्षिक लक्ष्यमा हालसम्म दुई खर्ब ८० अर्ब ८० करोड ७२ लाख राजश्व संकलन भएको छ।
आर्थिक वर्षको पहिलो चार महिना भनेको कुल अवधिको ३३ प्रतिशत हो। तर, साढे चार महिनामा लक्ष्यअनुसार, राजश्व संकलन हुने सकेको छैन। अहिलेसम्म २५ प्रतिशत मात्रै रकम संकलन भएको छ।
असोज मसान्तसम्म दुई खर्ब ५२ अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको थियो। त्यो लक्ष्य मंसिरमा आएर पूरा भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ।
अर्थ मन्त्रालयले भने चालू आर्थिक वर्षमा वस्तु आयातमा कमी आएका कारण भन्सारबाट संकलन हुने राजस्वको वृद्धि न्यून रहेको जनाएको छ।
‘विशेषगरी डिजेल, पेट्रोल, ग्यास, सवारी साधान, सिमेन्ट क्लिंकर, सुन, पत्थर, कोइलालगायतका वस्तुको आयात घटेकाले त्यसको प्रभाव राजस्व परिचालनमा पर्न गएको हो,’ अर्थ मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ।












