विद्यार्थी घाइते भएपछि कोहलपुरमा कर्फ्यू
नेपालगञ्ज, मंसिर २२ : तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले क....
नेपालगञ्ज, मंसिर २२ : तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरका कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको हो। अपराह्न ३ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आइतबार बिहान स्कुल जाँदै गरेकी प्रगती चन्दलाई ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करले उनी गम्भीर घाइते भएकी छन्। उनको कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं ल्याउने तयारी गरिएको छ। उनी कोहलपुरकै त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययरनत छन्।
प्रगतीलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्।
आगो निभाउन खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको थियो। तर, विद्यार्थीले पनि ढुंगामुडा गरेका छन्। त्यसपछि प्रहरीले हवाइ फायर समेत गरेको छ।
स्थिति नियन्त्रणमा आउन नसकेपछि कर्फ्यू लगाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए। उनका अनुसार, अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको हो।






