चार सन्तान पढाउन पासपोर्टको कभर बेच्छिन् कल्पना
कल्पनाले यो काम गर्न थालेको केही महिना मात्रै भएको छ। यसअघि उनी मजदुरी गर्थिन्। बाध्यताले मात्रै यता आउनु परेको उनी सुनाउँछिन्।काठमाडौं, साउन ५ : ‘सर! पासपोर्टको कभर चाहिन्छ ? म्याम पासपोर्टको कभर लिनुस् न।’ त्रिपुरेश्वरस्थित राहदानी विभागको दुई नम्बर गेटबाट निस्कने हरेक व्यक्तिलाई अनुनय गरिरहेको अवस्थामा भेटिन्छिन्,कल्पना सुनार।
४० वर्षीया कल्पना सेवाग्राही देख्नेबित्तिकै केही थान पासपोर्टका कभर (खोल), कागजपत्र राख्ने सेफ्टी झोला र कलम बोकेर दौडिहाल्छिन् र आफूसँग भएको सामान किनिदिन आग्रह गर्छिन्। कतिले किन्छन्, कतिले किनिसकेको बताउँछन्।
कसैले केही सामान किनिदिँदा कल्पना प्रफुल्लित हुन्छिन, सामान विक्री गर्न नसक्दा निराश बन्छिन्। तर,गेटबाट मानिस बाहिर निस्किन लागेको देख्नेबित्तिकै फेरि दौडिएरै पुग्छिन, उही शैलीमा आग्रह गर्छिन्- पासपोर्ट कभर लिनुस् न।
कल्पनाको दैनिकी यसरी नै चलिरहेको छ। नेपालगञ्ज घर भएकी उनी हाल त्रिपुरेश्वरस्थित विभागको कार्यालयबाट केही दुरीमा कोठा भाडामा लिएर बस्दै आएकी छन्। बिहान सबेरै उठेर खाना बनाउने, छोराछोरीलाई विद्यालयसम्म पुर्याएर १० नबज्दै उनी राहदानी विभागको गेटमा आइपुग्छिन्। कार्यालय खुलेदेखि बन्द नहुँदासम्म राहदानीका खोल, क्लियर ब्याग र कलम बेच्छिन्।
‘बिहान छोराछोरीलाई खाना खुवाएर विद्यालय पु¥याउँछु त्यसपछि यहाँ आउँछु,’ उनी भन्छिन्, ‘अरु काम गर्न सक्दिन। बिरामी छु, छोराछोरी पढाउन, गुजारा चलाउन पासपोर्टका कभर बेच्न थालेकी हुँ।’
विभागको कार्यालय बाहिर पासपोर्टका कभर, कलम, कागजपत्रको सेफ्टी ब्याग बेच्ने थुप्रै छन्। अरूले जस्तो धेरै बिक्री गर्न नसक्ने गरेको उनी सुनाउँछिन्। ‘कसैले एकपल्ट नलिने भनेपछि जबर्जस्ती गर्नै आउँदैन। मायाले लिए लिनुहुन्छ, नत्र कर गर्दिनँ,’ उनी भन्छिन्, ‘पहिलैदेखि बिक्री गर्नेहरूले भने कर गरेर भए पनि सामान बिक्री गर्न सक्छन्।’
बिहान १० देखि साँझ ५ बजेसम्म यस्ता सामान बिक्री हुन्छन्। दैनिक हुने व्यापारको ठेगान हुँदैन। ‘कहिले तीन–चार सय रुपैयाँ नाफा हुन्छ भने कहिले एक–दुई सय रुपैयाँ मात्रै बच्छ,’ कल्पना भन्छिन्, ‘अरुले जस्तो धेरै नाफा लिन्न।’
उनी होलसेलमा पासपोर्टको कभर ल्याउँछिन्। जतिधेरै सामान होलसेलबाट ल्याउन सकियो त्यति सस्तो पर्ने कल्पना बताउँछिन्। ‘पासपोर्टको कभरको निश्चित शुल्क तोकिएको छैन, जसले जतिमा बेच्न सक्यो त्यतिमा बेच्छन्। म १२० देखि १५० रुपैयाँसम्ममा बेच्छु,’ उनी भन्छिन्।
कल्पनाले यो काम गर्न थालेको केही महिना मात्रै भएको छ। यसअघि उनी मजदुरी गर्थिन्। बाध्यताले मात्रै यता आउनु परेको उनी सुनाउँछिन्। ‘पहिले घरनिर्माणको काममा हिड्थेँ, बिस्तारै भारी बोक्न नसक्ने भएपछि मार्बल घोट्ने काम गर्थेँ,’ उनी भन्छिन्, ‘मार्बलको काम पनि गर्नसकेपछि छोडेँ।’
उनी अहिले शारीरिक रुपमा कमजोर मात्र छैनन्, बिरामी पनि छिन्। ‘अस्वस्थ भएकै कारणले अन्य काम गर्न सकिनँ। छोराछोरी पढाउन दिनभरी खटिइरहेको छु,’ उनी भन्छिन्। नेपालगञ्जकी कल्पनालाई काठमाडौं छिरेको १३ वर्ष भयो। काठमाडौं छिरेदेखि खानपिनकै लागि संघर्ष गर्नुपरिरहेको उनी बताउँछिन्।
उसो त उनको बाल्यकाल पनि संघर्षमै बित्यो। सानै उमेरमा आमाबुवा गुमाउनुपरेपछि मजदुरी गुर्नुप¥यो। २० वर्षको उमेरमा नेपालगन्जकै लक्ष्मण सुनारसँग बिहे भयो। हाल उनका दुई छोरी र दुई छोरा छन्।
गाउँमा ज्याला मजदुरी गरेर गुजारा चलाउन मुस्किल भएपछि काम खोज्दै काठमाडौं आएको उनी बताउँछिन्। ‘चार सन्तान पाल्न खुब काम गरें। अब स्वास्थ्य कठीन काम गर्न नसक्ने भएपछि सामान बेचिरहेकी छु,’ उनी सुनाउँछिन्, ‘आजकाल भारी बोक्न पनि पढेको मान्छे चाहिन्छ, त्यसैले छोराछोरी पढाउन दुःख गरिरहेकी छु।’
उनले १३ वर्षसम्म घर निर्माणको काम गरिन्। भारी बोक्ने, बालुवा छान्ने, इँटा बोक्ने, मार्बल घोट्ने गर्थिन्। एक वर्षअघि पनि मार्बल घोट्ने गर्थिन्। ‘मार्बल घोट्ने काम गर्दागर्दै ढाड दुख्न थाल्यो। टाउको पनि बेसरी दुख्न थाल्यो,’ कल्पना भन्छिन्, ‘डाक्टरले त ढाडको हड्डी खिएको छ भनेको छ, औषधि निरन्तर खानू भनेका छन् तर खान सकेकी छैन।’
टाउको दुख्ने गरेकाले सिटी स्क्यान गर्न चिकित्सकले सुझाएका छन्। तर उनले सिटि स्क्यान गर्न सकेकी छैनन्, पैसा नहुँदा। उनका श्रीमान् खासै काम गर्दैनन्। मदिरा पिउने उनलाई घरको वास्ता हुँदैन। घरपरिवारको सबै जिम्मेवारी कल्पनाकै काँधमा छ। ‘श्रीमान् रक्सी पिएर हिड्छन्, केही परवाह गर्दैनन्, त्यसैले मैले धेरै काम गर्नु परिरहेको छ,’ उनी भन्छिन्।
कमजोर स्वास्थ्य, आर्थिक अभाव, ससाना छोराछोरी। उनले दैनिक काम नगरे बिहान बेलुका हातमुख जोड्न मुस्किल हुन्छ। उनलाई लाग्छ, आफूले पढ्न नपाएकैले यी सबै समस्या भोग्नुपरिरहेको छ। पढ्न लेख्न पाएको भए राम्रो काम पाइन्थ्यो, दुःख गर्नुपर्ने थिएन। ‘मैले पढ्न पाइनँ। पढाइ नहुँदा मैले पाएको दुःख सन्तानले भोग्न नपरोस् भनेर स्कुल पठाउँछु,’ उनी भन्छिन्।
जेठी छोरी कक्षा ९ मा पढ्छिन्। माइली छोरी कक्षा ७ मा, साइलो छोरा कक्षा ५ र कान्छो छोरा कक्षा ३ मा पढिरहेको उनले बताइन्। उनको लक्ष्य भनेकै चारै छोराछोरीलाई राम्रोसँग पढाउने हो। ‘दिनभर धुलोधुवाँमा बस्दा पनि एक बोतल पानी किनेर खान मन लाग्दैन,’ कल्पना भन्छिन्, ‘एक पैसा जोगिए पनि छोराछोरी कापीकिताब किन्न पुग्ला भन्ने लाग्छ।’
राहदानी विभागको गेटमा पासपोर्टको कभर बेच्न बेसकी उनी मात्र होइन, अरु पनि छन्। बालबालिकादेखि वृद्धवृद्धाको लाइन हुन्छ। उनीहरुको रोजगारीको बाटो यहि बनेको छ। जसले दैनिक गुजारा मात्रै चलाइरहेको छैन, कल्पनाका जस्तै कैयौं बालबालिकालाई स्कुल पढ्न पनि सहयोग पुगिरहेको छ।