डा केसी धनगढी प्रस्थान, साँझदेखि अनसन बस्ने
काठमाडौं, भदौ २७ : डा गोविन्द केसी धनगढी प्रस्थान गरेका छन् । आफूले उठाएको माग सम्बोधन नभए अनसन बस्ने पूर्वघोषित योजनाअनुसार उनी धनगढी प्रस्थान गरेका...
काठमाडौं, भदौ २७ : डा गोविन्द केसी धनगढी प्रस्थान गरेका छन् ।
आफूले उठाएको माग सम्बोधन नभए अनसन बस्ने पूर्वघोषित योजनाअनुसार उनी धनगढी प्रस्थान गरेका हुन् । उनले भदौ १२ गते पत्रकार सम्मेलन गर्दै माग सुनुवाई नभए भदौ २७ देखि अनशन बस्ने चेतावनी दिएका थिए । सोही अनुसार उनी धनगढी लागेका हुन् ।
उनले आजै साँझदेखि अनसन सुरु गर्ने बताएपनि कहाँ बस्ने भन्ने बारेमा भने निर्क्यौल नभइसकेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग राख्दै डा केसी अनसन बस्न लागेका हुन् ।
यसअघि पनि विभिन्न मागहरु राख्दै उनी पटकपटक अनसन बसिसकेका छन् ।











