कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा तलतको अर्धशतक मद्दतमा कर्णाली याक्सले चितवन राइनोजलाई १५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।
काठमाडौं, कात्तिक २९ : नेपाल प्रिमियर लिगको तेस्रो संकस्करणमा पाकिस्तानी अलराउन्डर हुसेन तलतले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा तलतको अर्धशतक मद्दतमा कर्णाली याक्सले चितवन राइनोजलाई १५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो। उसका लागि तलतले ३३ बलमा २ चौका र ३ छक्का मद्दतमा नटआउट ५१ रनको पारी खेले।
यस्तै, ओपनर अरिफुल इस्लामले १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन बनाउँदा गुल्सन झाले ६ बलमा १८ रन बनाए। पवन सर्राफले १५, दीपक दुम्रेले १० रन बनाउँदा कप्तान डेविड मिलरले भने ८ बलमा ५ रन मात्र बनाउन सके।
बलिङमा चितवनका कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। सिकन्दर रजाले १ तथा रिजन ढकालले १ विकेट हात पारे।
कर्णालीविरुद्ध प्लेअफमा पुगिसकेको चितवनले प्लेइङ ११ मा ४ परिवर्तन गरेको थियो। शनिबारको खेलमा विराटनगर किंग्स पराजित भएपछि चितवन अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो। कर्णाली भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।






