Kathmandu Press

२२ करोडको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागु औषध सञ्जालका मुख्य व्यक्ति

तिघारे यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए। उनले पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पु¥याएको अनुसन्धानबाट खुलेको छ।
२२ करोडको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागु औषध सञ्जालका मुख्य व्यक्ति

काठमाडौं, कात्तिक २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पु¥याएको खुलेको हो।

लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ कात्तिक २८ गते पक्राउ गरेको थियो। प्रहरीका अनुसार थाइल्यान्डबाट नेपाल आएका शङ्कास्पद यात्रुको प्रोफाइलिङ तथा चेकजाँच गर्ने क्रममा उनको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको अवस्थामा साढे ५ किलो सेतो हेरोइन बरामद भएको थियो।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार तिघारे यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए। उनले पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पु¥याएको अनुसन्धानबाट खुलेको छ।

‘पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति हुन्। यसअघि पनि उनले दुई पटक लागुऔषध भारत पु¥याएको देखिन्छ,’ निरौलाले भने। यसपटक उनी लाओसबाट बैंकक हुँदै नेपाल आइपुगेका थिए। अनुसन्धानका क्रममा उनले लाओसबाहेक जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको ब्यूरोले जनाएको छ।

प्रहरीले तिघारेको साथबाट साढे ५ किलो सेतो हेरोइनसँगै एक थान पासपोर्ट, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्र पनि बरामद गरेको छ। बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुने ब्यूरोले जनाएको छ। भारत पुगेपछि यसको मूल्य अझ बढी पर्ने प्रहरीको भनाइ छ।

ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तिघारेमाथि थप अनुसन्धान भइरहेको छ। लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा दोषी ठहरिएमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: १५:२३ बजे, आइतबार, कात्तिक २९, २०८३