निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने
काठमाडाैं, भदाै २६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन। बयान नसकिएकाले यही भदौ २८...
काठमाडाैं, भदाै २६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ।
सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोर्याएका छन।
आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, 'नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकाङ्क्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ ।' उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए।
आजसम्म जबरालाई ३५ प्रश्न गरिएको छ। अब मङ्गलबार आठवटा प्रश्नमा सवाल/जवाल हुनेछ । उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने, 'मङ्गलबार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ।'
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो।
जबरााविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ।











