सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति, आइतबार फेरि बैठक बस्ने
आगामी निर्वाचनमा चुनावी तालमेलकाे लागि कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठक बिना निष्कर्ष टुङ्गिएकाे हाे।
काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकाे सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष सकिएको छ।
आगामी निर्वाचनमा चुनावी तालमेलकाे लागि कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठक बिना निष्कर्ष टुङ्गिएकाे हाे।
बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति जुट्न नसकेकाे जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए। उनका अनुसार बैठक फेरि भाेलि बिहान ८ बजे बस्नेछ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन २० गते नै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए। साेही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेकाे थियाे। तर, कार्यदलले दर्जनौं पटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेको छैन।