सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी हुँदै, अनुमतिका लागि अदालत जाँदै प्रहरी
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराका अनुसार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं अदालत जान लागेको छ ।
काठमाडौं, भदौ २२ : राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले प्रक्रिया अगाडि बढाएको छ । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले पक्राउको प्रक्रिया अगाडि बढाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराका अनुसार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं अदालत जान लागेको छ । कानुनी प्रक्रिया पुर्याएर लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको र आज नभए भोलिसम्म अनुमति लिन अदालत जाने उनले बताए।
कुनै पनि घटनामा आरोप लागेका वा सम्बन्धित मानिसलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतसँग अनुमति माग्नुपर्ने कानुनी प्रावधान छ।
लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका छन् । उनी टी–ट्वान्टी क्रिकेटका खेल्न भदौ ७ गते केन्या पुगेका थिए । केन्यामा पाँच खेल खेलेर वेस्ट इन्डिज पुगेका थिए ।
केन्या जानुअघि लामिछानेले किशोरीलाई काठमाडौंको एक होटलमा लगेर पटकपटक बलात्कार गरेको आरोप लागेको छ । पीडित किशोरीले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले दिउँसो नगरकोट लगेको र राति सिनामंगलको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।
जाहेरी परेपछि किशोरीको स्वास्थ्य परीक्षण गराइएको छ । घटनाबारे जिल्ला प्रहरी परिसर र गौशला प्रहरी वृत्तले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ।









-ink-1740145571.jpeg)

