सुरक्षागार्ड गुरुङलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं, भदौ २० : पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको...
काठमाडौं, भदौ २० : पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।
रिटमा पर्यटनमन्त्री श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरबारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
शुक्रबार ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसमा बायोमेट्रिकका लागि पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो । मन्त्री श्रेष्ठले आफूमाथि सुरक्षागार्डले दुर्व्यवहार गरेको भन्दै पिएसओमार्फत उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।
आइतबार प्रहरीले गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनको म्याद दिइसकेको थियो । नियमको पालना गराउन खोज्दा मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर सुरुक्षा गार्डलाई थुनेको भन्दै पर्यटनमन्त्री श्रेष्ठको चर्को आलोचना भइरहेको छ । पक्राउ परेका गुरुङ अहिले दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।
यसैबीच सोमबार गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिइसकेका छन् ।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
