हिरासतमा रहेका सुरक्षागार्डसँग भेटेपछि रविले भने– नियम नमान्ने मन्त्रीमाथि अनुसन्धान होस्
काठमाडौं, भदौ २० : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाईनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका छन्...
काठमाडौं, भदौ २० : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाईनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका छन् ।
दरबारमार्ग प्रहरी हिरासतमा रहेका गुरुङलाई लामिछानेले सोमबार भेटेका हुन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा तस्बिर हालेर भनेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।’
आफूसँगको भेटमा शेरजंगले कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएको लामिछानेले उल्लेख गरेका छन् । ‘शेरजंग जी भन्नु हुन्छ– गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्यो,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
शेरजंगको कुरा सहि हो भने उनलाई थुनामा होइन ससम्मान रिहा गर्न लामिछानेले माग गरेका छन् । ‘दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ लामिछानेले भनेका छन् ।
भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए।








![साउनको अन्तिम सोमबार पशुपतिनाथमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_cfe186ea-1786347418.jpg)


