सीट टुंगो लगाउन गठबन्धन कार्यदलको बैठक आज
काठमाडौं, भदौ २०: प्रतिनिधिसभा र प्रदेश सभाका सीट बाँडफाँडको टुंगो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ।प्रतिनिधिसभा र प्रदेश सभाको सीटसँगै...
काठमाडौं, भदौ २०: प्रतिनिधिसभा र प्रदेश सभाका सीट बाँडफाँडको टुंगो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ।
प्रतिनिधिसभा र प्रदेश सभाको सीटसँगै निर्वाचन क्षेत्रको पनि टुंगो लगाउने गरी आजको बैठकमा छलफल हुने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार यसका लागि आज दिउसो १ बजे कार्यदलको बैठक बस्नेछ।
आइतबार शीर्ष नेतासहित बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचन क्षेत्रको पनि खाका बनाउन कार्यदललाई जिम्मेवारी दिएको थियो।
त्यहिअनुसार, आजबाट लगातार बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कुन दलले उम्मेदवार उठाउने भन्ने पनि तय गरिने मन्त्री कार्कीले बताए। दुई दिनभित्र यसमा सहमति जुटाइने उनले बताए।
कार्यदलले बुझाउन सीट बाँडफाँडको खाकापछि शीर्ष नेताले सहमतिको निर्णय गर्नेछन्। त्यसैअनुसार, गठबन्धनमा रहेका दलले उम्मेदवार उठाउने जनाइएको छ।











