ला लिगामा रियल र बार्सिलोनाको जित, रोकियो एट्लेटिको
काठमाडाैं, भदाै १९ : ब्राजिलियन युवा स्ट्राइकरद्वय भिनिसियस जुनियर र रोड्रिगो गोएसको गोल मद्दतमा ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति...
काठमाडाैं, भदाै १९ :ब्राजिलियन युवा स्ट्राइकरद्वय भिनिसियस जुनियर र रोड्रिगो गोएसको गोल मद्दतमा ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियलले रियल बेटिसमाथि २–१को जित निकाल्यो।
खेलको नवौं मिनेटमा भिनिसियसको गोलमा रियलले अग्रता लियो। उनले डेभिड अलबाको लामो पासमा गोल गरेका थिए। १७औं मिनेटमा बेटिसले खेलालाई बराबरीमा ल्यायो। उसका सर्जियो कनालेसले गोल गरेका थिए।
पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ६५औं मिनेटमा रोड्रिगोले फेडेरिको भाल्भर्डेको पासमा गोल गर्दै रियललाई जित दिलाए ।
यस्तै, अर्को खेलमा बर्सिलोना विजयी भएको छ। बार्सिलोनाले सेभियामाथि ३–०को जित निकाल्यो।
बार्सिलोनाको जित राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सिलाले गोल गरे। २१औं मिनेटमा राफिन्हाको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि ३६औं मिनेटमा लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । ५०औं मिनेटमा गार्सियाले गोल गरेपछि बार्सिलोना सेभियामाथि सहज जित निकाल्यो।
यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा रोकिएको छ। एट्लेटिकोका लागि अल्भारो मोराटाले गोल गरेका थिए भने सोसिडाडका उमर सद्दिकले गोल गरेका थिए।
लिगमा शतप्रतिशत नतिजा निकालेको रियल १२ अंकसहित शीर्ष स्थानमा रहँदा १० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। रियलसँग हारेको बेटिस ९ अंकसहित तेस्रो स्थानमा रहँदा १ अंकमात्र जोडेको सेभिया १७औं स्थानमा छ। समान ७ अंक जोडेका एट्लेटिको छैठौं र सोसिडाड आठौं स्थानमा छन्।











