सदगुरुको ‘माटो जोगाऔं’ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता
काठमाडौं, भदाै १८ : ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले...
काठमाडौं, भदाै १८ : ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाएका हुन्।
ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उनले माटो जोगाऔं अभियानका लागि सदगुरुले गरेको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
'तपाईंको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ', मन्त्री यादवले भने, 'वृक्षरोपणको कार्य भदौ महिनाभित्रै सुरुआत गरिने छ।'
उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उनले बताए। माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो।
सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गर्नुभएको थियो।मन्त्री यादवले भने, 'सदगुरुले गरेको काम, खासगरी हामी राजनीतिज्ञले गर्ने काम हो, हामीले गर्नुपर्ने काम तपाईंले गरिरहनुभएको छ, योभन्दा अरु खुसीको कुरा के होला?'











