उदयपुर घटना : तीनजनाकाे हत्या गरी भाग्दै गरेको अवस्थामा पक्राउ
उदयपुर, भदाै १८ : उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।आफ्नै वंशजका तीनजनाको हत्या...
उदयपुर, भदाै १८ : उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।
आफ्नै वंशजका तीनजनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो।
शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका-७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो।
तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए। मृतक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन्। हत्यापछि नरबहादुर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो।
उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो। नरबहादुरको बयान लिने कार्य भइरहेको र हत्याको कारण चाँडै खुल्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।
तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ।











