प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस
काठमाडौं, भदाै १७ : प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्वर ६ बाट समानुपाति सांसदको लागि सिफारिस भएका छन्।क्षेत्रीय समितिको...
काठमाडौं, भदाै १७ : प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नं. ६ बाट समानुपातिक सांसदका लागि सिफारिस भएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन्।
एक दशकदेखि काठमाडौं महानगरपालिका-२६ बाट कांग्रेस क्रियाशिल सदस्य रहेका परियार पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए।
कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसंघको स्कुल सचिव भएका उनी २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित संघको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए।
समय साप्ताहिकमार्फत पत्रकारिता सुरु गरेका परियारले नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चार माध्याममा विभिन्न पदमा रहेर १५ वर्ष पत्रकारिता गरेका छन् ।
२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परियार वरिष्ठ सञ्चार विज्ञमा नियुक्त भएका थिए। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा उनको यो दोस्रो कार्यकाल हो।
अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। उनले सन् २०१२ मा बेलायतको थम्सन फाउण्डेशनबाट खोज पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।
परियारले बेलायत, अमेरिका, अष्ट्रेलिया र नेदरल्यान्ड्सबाट पत्रकारिताका विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन्। पछिल्लो समय उनी राजनीतिक अभियान र संवादमा विभिन्न संस्थामार्फत काम गर्दै आएका थिए।











