गण्डकीका सभामुख अधिकारी प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
कास्की, भदौ १७ : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा...
कास्की, भदौ १७ : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस भएका हुन्।
बिहीबार सम्पन्न माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी भएका हुन्। उनी बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरी प्रदेशसभामा विजयी भएका थिए। प्रदेशसभामा उनी सुरुआत समयदेखि नै सभामुखका रुपमा कार्यरत रहेका छन् ।
अधिकारीसँगै प्रतिनिधिसभामा माओवादी केन्द्रले केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गङ्गा तिमिल्सिनालाई पनि सिफारिस गरेको छ। बस्याल संविधानसभा सदस्यसमेत हुन् । हमाल भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए भने उनी दोस्रो संविधानसभाको निर्वाचनमा कास्की जिल्लाबाट उम्मेदवार बनेका थिए ।
यसैगरी प्रदेशसभा ‘क’ तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लीला दवाडी, मीनराज केसी र विजय सापकोटाको नाम सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ तर्फ सविन गुरुङ, उमाकान्त भूर्तेल, गगन थापा, ऋषिराम भुसाल र प्रेम रानाको नाम सिफारिस गरेको छ।











