शंकरदेव क्याम्पसलाई थप जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं, भदौ १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन्...
काठमाडौं, भदौ १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् ।
भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् ।
‘त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ,’ प्रधानमन्त्री देउवाले भने।
दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए। नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगकोे प्रशंसा पनि गरे।
क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पु¥याएको बताउँदै उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।











