विपद् व्यवस्थापनका लागि छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : गृहमन्त्री खाण
काठमाडाैं, भदाै १७ : गृहमन्त्री बालकृष्ण खाणले विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्।शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
काठमाडाैं, भदाै १७ : गृहमन्त्री बालकृष्ण खाणले विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताए।
विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए। उनले गत वर्ष विभिन्न भूभागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केही भूभागमा क्षति पुगेकाले केन्द्रले नै समन्वयन गर्नुपर्ने धारणा राखे।
सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भइनसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेल्धुरा, बझाङलगायत अन्य जिल्लामा मनसुनजन्य विपद्वाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरुको तत्का पुननिर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भएको थियो भने खोटाङ र लमजुङ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवासहरुको पुनर्निर्माण सम्बन्धमा पनि छलफल भएको थियो।











