कथाकार ज्ञवालीको अर्को भोर लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौं, भदौ १७ : यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको निर्णय अनुसार वि.सं. २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार ज्ञवालीको अर्को भोर कथा सङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो ।
वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्ने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी तीन लाख रहेको छ ।
तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।











