आठ वर्षमा भेटिए ९०४ बेवारिसे शव, सबैभन्दा बढी मधेस प्रदेशमा
आठ वर्षको अन्तरालमा भेटिएका बेवारिसे शवमध्ये लगभग आधाको संख्यामा विवरण राखेर जलाइसकिएको र आधाजति जलाउन बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।काठमाडौं, भदौ १६ : २०७९ असार १९ गते ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेस्थित वाग्मती खोलाको बगरमा सडेर औंसासमेत परिसकेको अवस्थामा एक पुरुषको शव फेला पर्यो। ती पुरुषको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। उनको शव पाटन अस्पतालमा राखिएको अपराध अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ।
त्यस्तै जेठ १ गते काठमाडौं महानगरपालिका–२५ न्यौखाथित एक स्थानीयको घरमा डेरा गरी बस्ने एक महिलाले सोही घरको पाँचौं तलाको बार्दलीबाट हाम फालिन्। उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उनको मृत्यु भयो। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका छ। ती महिलाको पनि पहिचान नखुल्दा शव बेवारिसे बनेको प्रहरीको भनाइ छ।
यी दुई त प्रतिनिधि उदाहरण मात्र हुन्। पहिचान खुल्न नसकेका अर्थात् बेवारिसे अवस्थामा रहेका यस्ता थुप्रै शव विभिन्न अस्पतालमा राखिएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। कतिपय शव उचित व्यवस्थापनको अभावमा सडेगलेर औंसासमेत परिसकेको अवस्थामा रहेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताए।
‘हामीसँग लामो समय शव सुरक्षित राख्ने पर्याप्त स्रोतसाधन छैन, त्यसैले राम्रोसँग व्यवस्थापन हुन नसकेका शव एकदुई महिनापछि कुहिन थाल्छन्,’ प्रवक्ता राईले भने, ‘कोही आफन्त खोज्दै आउँछन् कि भनेर शवको पहिचान हुनेगरी टिपोट गरेर राखेका छौं तर कोही आएका छैनन्।’
उनले २०७९ सालमा मात्र ३६ जनाको बेवारिसे शव फेला परेको जानकारी दिए। ‘२०७९ सालमा ३६ वटा बेवारिसे शव फेला परेका छन्। जसमा २१ पुरुष, ९ महिला र ६ लिंग नखुलेका छन्,’ उनले भने।
शव पहिचान गरेर आफन्तलाई बुझाउन प्रचारप्रसार गरिन्छ। त्यसपछि पनि आफन्त कोही नआएका कारण सनाखत हुन नसकेका शवलाई बेवारिसे शवको सूचीमा राख्ने गरिएको उनले जानकारी दिए।
उनका अनुसार २०७१ देखि २०७८ सम्म आठ वर्षको अन्तरालमा देशभर ९०४ बेवारिसे शव भेटिएका छन्। तीमध्ये पुरुष ७०३, महिला १२७, बालक ६, बालिका ३, नवजात शिशु २५ तथा लिंग पहिचान नभएका (कंकालको अवस्थामा रहेका) ४० वटा छन्।
ती शव देशभरिका विभिन्न सरकारी अस्पतालमा राखिएका छन्। कतिपय शव कुहिएका कारण विवरण राखेर जलाइएको प्रवक्ता राई बताए।
‘लामो समय राख्ने उचित व्यवस्थापन नभएकाले विवरण राखेर कतिपय शव जलाइदिन्छौं,’ उनले भने, ‘शव जलाउने कार्य प्रायः प्रहरीले नै गर्छ। बेवारिसे शव जलाउने कार्यमा संलग्न समाजसेवीलाई पनि कतिपय शव पठाइदिने गरेका छौं।’
आठ वर्षको अन्तरालमा भेटिएका बेवारिसे शवमध्ये लगभग आधाको संख्यामा विवरण राखेर जलाइसकिएको र आधाजति जलाउन बाँकी रहेको प्रवक्ता राईले जानकारी दिए।
कुनकुन प्रदेशमा कति भेटिए?
नेपाल प्रहरीका प्रवक्ता राईका अनुसार आठ वर्षमा सातै प्रदेशको तथ्यांक हेर्दा मधेस र लुम्बिनीमा सबैभन्दा बढी बेवारिसे शव भेटिएका छन्। जसअनुसार मधेसमा २२१ र लुम्बिनीमा २२० शव भेटिएका छन्।
अन्य प्रदेशमध्ये सुदूरपश्चिममा २७, कर्णालीमा २८, लुम्बिनीमा २२०, गण्डकीमा १८५, वाग्मतीमा १९१, प्रदेश १ मा ४३ वटा बेवारिसे शव भेटिएको प्रदेश प्रहरी कार्यालयहरूको तथ्यांकमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशमा २७
सुदूरपश्चिम प्रदेशको प्रहरी कार्यालय दीपायलले राखेको तथ्यांकाअनुसार २०७२ देखि २०७८ पुससम्म पहिचान नखुलेका (बेवारिसे शव) २७ वटा छन्। तीमध्ये २१ पुरुष, ४ महिला, १ बालक, १ लिंग पहिचान नभएका छन्।
सुदूरपश्चिमका सात जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा १४ वटा शव भेटिएका छन्। बाँकी जिल्लामध्ये कञ्चनपुरमा ६, डडेलधुरामा १, बैतडीमा २, अछाममा १, दार्चुलामा २ र बझाङमा १ शव भेटिएको अपराध अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ।
कर्णाली प्रदेशमा २८
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगन्ज) को तथ्यांकअनुसार २०७१ साउनदेखि २०७८ सालसम्म २८ वटा बेवारिसे शव फेला परेका छन्। तीमध्ये १७ पुरुष, ६ महिला, १ बालक, २ नवजात शिशु, २ लिंग पहिचान नभएका छन्।
सबैभन्दा बढी सुर्खेतमा १२ वटा बेवारिसे शव भेटिएका छन्। अन्य जिल्लामध्ये जुम्लामा २, जाजरकोटमा ३, रुकुममा ५, बाँके १, मुगुमा १, सल्यानमा २ र कालिकोटमा २ शव भेटिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
लुम्बिनी प्रदेशमा २२०
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तथ्यांकलाई आधार मान्दा सो प्रदेशमा बेवारिसे शव २२० भेटिएका छन्। जसमा १६२ पुरुष, ४१ महिला, ३ बालक, २ बालिका, ४ नववात शिशु, ८ लिंग पहिचान नखुलेका छन्।
२०७१ सालदेखि २०७८ सम्म भेटिएका ती शवमध्ये सबैभन्दा बढी रूपन्देहीमा ७४ वटा भेटिएका हुन्। त्यसपछि कपिलवस्तुमा ३७, पाल्पामा २३, दाङ र नवलपरासी (बर्र्दघाट सुस्ता पश्चिम) मा २०÷२०, बाँकेमा ११, प्युठान र बर्दियामा १०÷१०, गुल्मीमा ९, अर्घाखाँचीमा ३ तथा जुम्ला र लमजुङमा १÷१ वटा बेवारिसे शव भेटिएको प्रहरीको तथ्यांकले जनाएको छ।
गण्डकी प्रदेशमा १७४
२०७१ देखि २०७८ सालसम्म गण्डकी प्रदेशमा १८५ वटा बेवारिसे शव भेटिएका छन्। तीमध्ये पुरुषका १५२, महिलाका २०, लिंग नछुट्टिएकाका १२, नवजात शिशुका १ वटा छन्।
लुम्बिनीमा सबैभन्दा बढी शव नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ७९ वटा भेटिएका छन्। अन्य जिल्लाअन्तर्गत तनहँुमा २५, मुस्ताङमा ८, लमजुङमा ६, म्याग्दीमा १०, स्याङ्जामा १०, गोरखामा ७, कास्कीमा २०, पर्वतमा १३, नवलपरासीमा १, बाग्लुङमा ६ वटा बेवारिसे शव भेटिएको तथ्यांक छ।
वाग्मती प्रदेशमा १९१
वाग्मतीमा प्रदेश प्रहरी कार्यालयको २०७२ देखि २०७८ सम्मको तथ्यांक हेर्दा बेवारिसे अवस्थामा १९१ वटा शव भेटिएका छन्। तीमध्ये पुरुषका १४६, महिलाका २२, लिंग पहिचान नभएकाका १०, बालकका २, शिशुका ११ वटा छन्।
जसमा सबैभन्दा बढी चितवनमा ५४ वटा छन्। त्यसैगरी मकवानपुरमा ३७, धादिङमा २७, काभ्रेमा २६, सिन्धुलीका १४, दोलखा र रामेछापमा ८÷८, नुवाकोटमा ७, सिन्धुपाल्चोकमा ६, रसुवामा ३ र उदयपुरमा १ वटा भेटिएका हुन्।
मधेस प्रदेशमा २२१
मधेस प्रदेशमा २०७२ देखि २०७८ सम्म २२१ बेवारिसे शव भेटिएका छन्। जसमा १८९ पुरुष, १९ महिला, ६ लिंग पहिचान नभएका, ६ नवजात शिशु छन्।
जिल्लागत रूपमा हेर्दा पर्सामा ५४, बारामा ३६, महोत्तरीमा ३४, सर्लाहीमा २८, रौतहटमा २७, धनुषामा २६ र सिरहामा १६ जना छन्।
प्रदेश १ मा ४३
प्रदेश १ मा २०७१ देखि २०७८ सम्म ४३ वटा बेवारिसे शव भेटिएका छन्। जसमा २६ पुरुष, १५ महिला, लिंग पहिचान नभएको एक, शिशु एक छन्।
जिल्लाअनुसार झापामा १२ सुनसरीमा ११, मोरङ ७, धनकुटामा ४, पाँचथर र उदयपुरमा ३÷३, ओखलढुंगा २ र इलाम १ वटा भेटिएका हुन्।
भूकम्पमा भेटिएका शवमध्ये १३ वटा बेवारिसे
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण मृत्यु भएका १३ जनाको शव सनाखत हुन नसकेको प्रवक्ता राई बताउँछन्।
‘जसमा पुरुषका १०, महिलाका तीन छन्। तीन महिलामध्ये एक शव विदेशीको हो,’ उनले भने, ‘घटनास्थलका आधारमा काठमाडौंमा १०, रसुवा (लाङटाङ) मा ३ शव भेटिएका हुन्।’
लामो समयसम्म कोही पनि आफन्त सोधपुछका लागि नआएपछि प्रहरी र शव व्यवस्थापन समितिको सहकार्यमा ती शव जलाइएको उनको भनाइ छ।