Kathmandu Press

महाभियोग सिफारिस समितिको औचित्यमाथि जबराले उठाए प्रश्न

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोस्राे दिन बयान दिने क्रममा उनले महाभियोगमा प्रस्तावक रहेका सांसद छानबिन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन्।
महाभियोग सिफारिस समितिको औचित्यमाथि जबराले उठाए प्रश्न

काठमाडाैं, भदाै १६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोस्राे दिन बयान दिने क्रममा उनले महाभियोगमा प्रस्तावक रहेका सांसद छानबिन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन्।

त्यस्तै उनले समितिले आफूमाथि असक्षमता र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए। बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएका थिए। समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए।

उनले प्रश्नको जवाफ जबराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए। मंसिर ४ गते चुनाव रहेकाले त्यसअघि नै सबै प्रक्रिया पूरा हुने उनको भनाइ छ।

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको बताए। बयानका क्रममा जबराले आफ्नो बचाउका लागि राखेका विषयलाई समितिले स्वाभाविक रूपमा लिएको उनले बताए।

त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाबारे नै प्रश्न उठाएको धारणा राखे। संविधानअनुसार नै समिति गठन भएको र सदस्यहरु रहेको आफूहरुको भनाइ रहेको उनले जानकारी दिए।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको छ। गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो। त्यसपछि उनी स्वतः निलम्बनमा परेका थिए।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्