‘ऐना झ्यालको पुतली’मा स्कुल पढ्न लालायित किशाेरीकाे संघर्षपूर्ण कथा
काठमाडौं, भदाै ७ : चलचित्र ‘ऐनाझ्यालको पुतली’ भदौ २४ गतेदेखि देशव्यापी रिलिज हुँदैछ।म्युजिक नेपालको युट्युब च्यानलमार्फत आठ दिनअघि सार्वजनिक गरिएको उक्त चलचित्र ट्रेलरले दर्शकहरूबाट प्रशंसा पाइरहेकाे छ।...
काठमाडौं, भदाै ७ : चलचित्र ‘ऐनाझ्यालको पुतली’ भदौ २४ गतेदेखि देशव्यापी रिलिज हुँदैछ।
म्युजिक नेपालको युट्युब च्यानलमार्फत आठ दिनअघि सार्वजनिक गरिएको उक्त चलचित्र ट्रेलरले दर्शकहरूबाट प्रशंसा पाइरहेकाे छ। सुजित बिडारीद्वारा निर्देशित साे चलिचत्रमा स्कुल पढ्न चाहने किशाेरीले सामना गर्नुपरेकाे अवराेधकाे चित्रण छ।
एउटा सामान्य परिवारको सरल तथा मर्मस्पर्शी कथा उधिनेकाे साे चलिचत्रकाे प्रचारप्रसार थालिएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘ऐनाझ्यालको पुतली’ नन एक्टर कलाकारलाई लिएर निर्माण गरिएको चलचित्र भएकाे निर्देशक बिडारीले बताए।
बिडारीले कोरोना महामारी र अन्य प्राविधिक कारणले चलचित्र चार वर्षपछि रिलिज हुन लागेको बताए। बाल्यकालमा आफूले भोगेको अनुभव, आफ्नै दिदीबहिनी र आमाको संघर्षको कथालाई प्रतिबिम्बित गरेर आफूले चलचित्र बनाएको उनकाे भनाइ थियाे।
‘हाम्रो समाजलाई नियाल्ने यो एक इमान्दार प्रयास हो। यो चलचित्रमा दर्शकले कथाका पात्रसँगै यात्रा गर्नुहुनेछ,' उनले भने, 'मेरा दुई बहिनी र आमासँग हुर्किंदै गर्दा मैले देखेको संघर्षलाई चित्रण गरेको छु।’
भुइँचालोपछि मोनोटोनस भएर बसिरहेका बेला आफ्नै दिदीबहिनीको बाल्यकालीन स्मरणबारे कथा लेख्न थालेकाे उनले बताए।
‘मलाई प्योर र काँचो अभिनय शैली चाहिएको थियो। नन एक्टरसँगै काम गर्दा मैले खोजेको अर्गानिक अभिनय आउँछ भन्ने लागेको थियो त्यही भएर हामी उनीहरुलाई कास्टिङ गराएँ,’ उनले भने।
संखुवासभामा छायांकन गरिएको चलचित्रको मुख्य कलाकार सिरु विष्टबाहेक सबै नन एक्टर छन्। उनीहरु स्कुले विद्यार्थी हुन्। चलचित्रकी मुख्य पात्र कञ्जन चिमरिया हुन् र उमेश श्रेष्ठ, क्षितिज र प्रसन्न पनि कलाकारका रुपमा छन्।












