तीजगीत ‘शून्य छ जन्मेको घर बरिलै’ बजारमा
पाेखरा, भदाै ३ : आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको...
पाेखरा, भदाै ३ : आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको छ।
उनले गीतमा नेपाली मौलिकतामा आधारित तीजको झल्को दिएको छ नै, समाजको वास्तविकतालाई पनि चित्रण गर्न खोजिएको छ।
कृषिप्रधान मुलुकमा बाँझिदै गएका घरबारी चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै उनले तीनताका बाबुबाजेका पालाको घरपरिवार र समाज अहिले पाउन छोडिएको उल्लेख गरेकी छन्।
दुःख गरेर जोगाएको सम्पत्तिको पछिल्लो पुस्ताले संरक्षण गर्न नखोजेको र सुख सुविधाका नाममा परिवार नै बोकेर सहर पस्ने गरेको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ।
पहिलोपटक २०७४ सालमा आइन छोरी भनेर गीत लिएर बजारमा आएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा भाग एक, गरिन गुनासो, जागिरे नारी भाग एक, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सँगी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइसहित शून्य छ जन्मेको घर बरिलै शीर्षकका गीत बजारमा आएका हुन्। वाग्लेको हरिश्चन्द्र शोक काव्य २०७५ मा प्रकाशित भएको थियो।
सरकारी सेवामा पोखरा महानगरपालिकामा सातौँ तहको अधिकृतका रुपमा कार्यरत वाग्ले कस्केली अधिकृत समाजका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ। वाग्लेको यो गीतसहित ११ एकल र दुई वटा संयुक्त गरी १३ गीत रेकर्ड भई बजारमा आएका हुन्। उनले दर्जनौँ फुटकर गीत तथा कविता रचना गर्नुभएको छ।
गीतका माध्यमबाट समाजका सत्यतथ्य बाहिर ल्याउँदै सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बर्सेनि तीजका एल्बम बजारमा ल्याएकी वाग्लेको यस गीतको भिडियो निर्देशन, छायांकन, सम्पादन शिवराज भुर्तेलले गर्नुभएको छ।
भिडियोमा कलाकार तीर्थराज वाग्ले, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ। गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको छ।












