थारू समुदायका परम्परागत गीत लोप हुने संघारमा
कञ्चनपुर, साउन २९ : सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन्।चाडपर्व, बाली भित्र्याउने बेला...
कञ्चनपुर, साउन २९ : सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन्।
चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने संघारमा पुगेका हुन्।
सुखदुःख, खुसियाली, प्रेम र विशेष अवसरमा गाइने यस्ता गीतको आफ्नै विशिष्ट स्थान रहे पनि आधुनिक युवाले पुराना संस्कृति बोकेका गीत विर्सदै जान थालेपछि थारु बुढापाका चिन्तित भएका छन्।
युवापिँढी पश्चिमा संस्कृतिको सिको गर्दै आधुनिकतामै हराउन थालेपछि पुराना गीत हराउन थालेको थारु भागीराम चौधरीले बताए। सजना फागुनदेखि साउनसम्म, मैना कात्तिकमा धान काट्ने बेला, धमार ससुराल गएको बेला दुलहादुलहीले भाका हालेर गीत गाउने गरेको उनले बताए।
आफनै मौलिकता बोकेका थारु समुदायका गीतको कागजी दस्तावेजसमेत नराखिँदा गीत सङ्कलन र संरक्षण हुन नसकेको थारु अगुवा धनबहादुर चौधरी बताउँछन्।
उनका अनुसार समयसापेक्ष ढङ्गले परम्परागत गीतलाई ढाल्न नसकिँदा नै युवापिँढी अन्य समुदायको गीतसङ्गीतप्रति आकर्षित हुन थालेका हुन्।
हालसम्म आधादर्जन बढी परम्परागत थारु गीत लोप भइसकेको र त्यतिकै सङ्ख्यामा रहेका गीत लोप हुने सङ्घारमा पुगेका उनी बताउँछन्।












