Kathmandu Press

सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी  माया सितलु छाया’ सार्वजनिक

काठमाडाैं, साउन २२ : सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छाया’ नामक देउडा गीत र  म्युजिक भिडियो सार्वजनिक भएको छ। कलाकार भानुभक्त...
सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी  माया सितलु छाया’ सार्वजनिक

काठमाडाैं, साउन २२ : सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छाया’ नामक देउडा गीत र  म्युजिक भिडियो सार्वजनिक भएको छ। कलाकार भानुभक्त जोशीको शब्द तथा संकलनको उक्त गीत र  भिडियोमा सुदूरपश्चिमका नौओटै जिल्लाका अधिकांश धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको छ।

उक्त गीतले मनोरञ्जन दिनाका साथै सुदूरपश्चिमको पर्यटन प्रवर्धनमा पनि टेवा पुगाउने अपेक्षा गरिएको छ। कैलालीको टीकापुर पार्क, चिसापानी, घोडाघोडी ताललगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई देउडा गीतलाई समेटेर अहिले बजारमा ल्याइएको म्युजिक भिडियोमा कञ्चनपुरको वेदकोट ताल, शुक्लाफाँटा, दोधारा चाँदनी पुल, अछामको बैझनाथ धाम, रामारोशन ताल, डोटीको शैलेश्वरी, डडेल्धुराको अमरगढी, बाजुराको बडिमालिका, बझाङ्को बान्नी चैतली, दार्चुलाको सितड भगवती र अपी सैपाललाई समेटिएको छ। यसैगरी दार्चुलाको तमाखु र कैलालीको मन्सुली धान, नेपालका अमर शहीद बलभद्र कुँवर, दशरथचन्द ठाकुर, भीमदत्त पन्तलाई पनि सम्झिएको छ। 

Hardik ivf

पश्चिम नेपालको लोकलयमा गाइएको गीतलाई यहाँको संस्कृति संरक्षण, पर्यटकीयस्थलको पहिचान र सम्भावनाको खोजीका रुपमा कलाकारले लिएका छन्। चर्चित देउडा गायिका रेखा जोशी र शेरी आउजीले गाएको गीत सुन्दा देउडा दोहोरीजस्तो लागे पनि गीतमा सवालजवाफ भएको छैन्। यस गीतमा एकल वर्णनात्मक भाव बढी झल्किएको छ।

‘गीतमा सुदूरपश्चिमका सबै जिल्लाका धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको देखिन्छ’, देउडा प्रेमी तथा कलाकार नवराज रिमाल भन्छन्, ‘गीतमा माया र प्रेमसँगै, प्रकृतिसँग प्रेम, संस्कार र संस्कृतिसमेत झल्किन्छ। गीत र भिडियोमा सुदूरको माटो भूगोल र पहिचान झल्कन्छ।’

गीत सुन्दा पर्यटन प्रवर्धनका लागि गाइएको जस्तो लाग्छ। अर्को रोचक कुरा म्युजिक भिडियोमा अभिनय गर्ने एउटा पात्र कुनै कलाकार नभइ नाम चलेका प्रहरी अधिकृत भएको र  यसले गर्दा पनि गीतलाई अझै बढी ओझिलो बनाएको छ।

टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले गीतमा अभिनय गरेका छन्। ‘व्यक्तिगत हिसाबले मेरो रहर पनि थियो, विभागबाट स्वीकृति लिएर यो अवसर जुटाइयो’, उनी भन्छन्, ‘विशेषगरी यहाँको कला संस्कृति, भौगोलिक अवस्था, मठमन्दिर, यहाँका प्रसिद्ध पर्यटकीयस्थलहरुबारे वर्णन गरिएको गीत भएकाले पनि राम्रो लाग्यो। गायक पनि प्रहरी सहायक हबल्दार भएकाले झन रहर बढ्यो। एउटा फौजी देश र जनताका लागि २४ सै घण्टा खटिने मानिस हो तर उसलाई पनि मनोरञ्जन चाहिन्छ। त्यसकारण गीत, सङ्गीत र फौजी एक अर्काका परिपूरक भएका हुन्।’

गायिका जोशी भन्छिन्, ‘मैले देउडा गीत धेरै गाएको भए पनि यसरी एउटै गीतमा पूरै सुदूरपश्चिमलाई समेटिएको गीत पहिलो पटक गाएको र यसले सुदूरपश्चिमको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरेकी छु। कतिपय धार्मिक आस्था, माया प्रेम, परदेशी पीडा, गरिबी, विभिन्न ठाउँ र गाउँ गाउँका गीत गाएकी छु तर यो गीतले सुदूरको ब्याख्या गरेकाले एउटै गीतमा सुदूरपश्चिम देखिने यो मेरा लागि नयाँ अनुभव हो।’
 
जोशीको शब्द तथा लय रहेको गीतमा आउजी र जोशीले स्वर मिसाएका छन् भने प्रहरी नायब उपरीक्षक शाही र कलाकार झरना बोहराले अभिनय गरेका छन्। गीतमा सुदूरपश्चिमका अधिकांश धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएकाले गीत अझैँ मार्मिक भएको देउडा प्रेमीहरु बताउँछन्। 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्