Kathmandu Press

एउटा यस्तो विद्यालय, जहाँ भर्ना हुन योग्यता चाहिन्छ– गोबर सोहोर्न घीन नमान्ने...

यस विद्यालयमा सरकारले तोकेको अनिवार्य विषयसँगै विभिन्न पाँच विभागमार्फत विद्यालयलाई जीवन उपयोगी शिक्षा दिइन्छ। अहिले यहाँ दरबन्दीका दुई शिक्षक मात्र छन्।
एउटा यस्तो विद्यालय, जहाँ भर्ना हुन योग्यता चाहिन्छ– गोबर सोहोर्न घीन नमान्ने...

काठमाडाैं, साउन १९ :  लमजुङकी १४ वर्षीया दीपिक्षा सुनार व्यावहारिक शिक्षा लिनका लागि खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका– २ सोल्मास्थित जनजागृति माध्यमिक विद्यालय पुगेकी छन्।

‘म किचन विभागमा छु। पशुपन्छी विभाग र कृषिसम्बन्धी काम पनि गर्दै आएकी छु,’ कक्षा ८ मा अध्ययरत सुनारले भनिन्, ‘यस विद्यालयमा मैले जीवनमा काम लाग्ने कुरा सिकिरहेकी छु।’

यस विद्यालयमा भर्ना हुन खास योग्यता चाहिन्छ, त्यो हो- गोबर सोहोर्न घीन मान्नु हुँदैन, दूध दुहुन गाह्रो मान्नु हुँदैन र कुटोकोदालीसँग जुध्न अल्छी मान्नुहुँदैन।

Hardik ivf

पहिले यस विद्यालय पनि देशका अरु विद्यालयजस्तै थियो। विद्यार्थी नहुँदा करिबकरिब बन्द हुने अवस्थामा पुगेको यस विद्यालयको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी ०७२ सालदेखि ‘सुभद्रा–मदन फाउन्डेसन’ले लिएको हो। कृषिविज्ञ मदन राई संस्थापक रहेको यस फाउन्डेसनले यसअघि पनि विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको थियो। पहिले जीवन उपयोगी शिक्षा लिने विद्यार्थीलाई फाउन्डेसनले वरपरका विद्यालय तथा क्याम्पसमा भर्ना गर्थ्याे। 

पाँच विभागमार्फत जीवन उपयोगी शिक्षा

यस विद्यालयमा सरकारले तोकेको अनिवार्य विषयसँगै विभिन्न पाँच विभागमार्फत विद्यालयलाई जीवन उपयोगी शिक्षा दिइन्छ। अहिले यहाँ दरबन्दीका दुई शिक्षक मात्र छन्। शिक्षक कम भएकाले ठूला कक्षाका विद्यार्थीले साना कक्षाका बालबालिकालाई पढाउँछन्।
  
३१ वर्षीय शिक्षक टेक कार्कीले यहाँ विगत दुई वर्षदेखि स्वयंसेवक रूपमा पढाउँदै आएका छन्। ‘यहाँ कृषि विभाग, पशुपन्छी विभाग, भौतिक पूर्वाधार विभाग, सिलाइबुनाइ विभाग र किचन विभाग सञ्चालित छन्,’ उनी भन्छन्, ‘यी विभाग हेर्नेहरू हुनुहुन्छ। यी विभागमार्फत विद्यार्थीले व्यावहारिक शिक्षा लिन्छन्।’

२७ वर्षीया कुमारी राईले फाउन्डेसनको व्यवस्थापन हेर्छिन्। दिक्तेल बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयमा स्नातकोत्तर गर्दै गरेकी राई फाउन्डेसनकै कार्यालयमा बसेर अध्ययन गर्छिन् र परीक्षा दिन मात्रै जाने गर्छिन्। ‘अहिले यहाँ म भौतिक निर्माण, किचन विभाग, सिलाइबुनाइ, कृषि उद्योग लगायत काम गर्छु,’ उनले भनिन्। 

यस विद्यालयमा व्यावहारिक शिक्षा लिनका लागि मासिक १० हजार रुपैयाँ शुल्क लाग्ने संस्थापक राई बताउँछन्। अभिभावक नभएका बालबालिकालाई भने निःशुल्क शिक्षा दिइन्छ। ‘आफ्ना सन्तानलाई यहाँ पढाउन इच्छुक अभिभावकले शुल्क तिर्न नसकेको अवस्थामा जति तिर्न सक्छन्, त्यति मात्र लिन्छौँ,’ संस्थापक राई भन्छन्, ‘आफूलाई आवश्यक लत्ता–कपडादेखि खाद्यान्नसम्म यहाँका विद्यार्थीले उत्पादन गर्छन्। यहाँबाट निस्केका विद्यार्थी कोही पनि बेरोजगार हुँदैनन्।’

उनका अनुसार, विद्यार्थीको सम्पूर्ण व्यवस्थापनका लागि यहाँ प्रत्येक दिन एक लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ। 

कृषिका लागि जग्गा 

संस्थापक राईका अनुसार, जीवन उपयोगी शिक्षा दिने उद्देश्यले फाउन्डेसनले १५ सय रोपनी जग्गा खरिद गरेको छ। जसमध्ये अहिले एक सय रोपनी मात्र प्रयोगमा आएको छ। जसमा १० भन्दा बढी भवन छन्। 

‘हामीले विद्यार्थीलाई हलो जोत्न, गोबर सोहोर्न, खाना बनाउन, लुगा सिलाउन, कम्प्युटर चलाउनका साथै विविध उत्पादन गर्न सिकाउँछौँ,’ संस्थापक राई भन्छन्, ‘अन्य विद्यालयको जस्तो घोकन्ते शिक्षा होइन, आत्मनिर्भरका लागि जीवन उपयोगी शिक्षा सिकाउँछौँ। अरुले पढाउँछन्, हामी सिकाउँछौँ।’

व्यावहारिक शिक्षाका लागि आधारभूत संरचना तयार गर्न अहिलेसम्म ४० करोड रुपैयाँ खर्च भएको संस्थापक राईको भनाइ छ। यहाँका कतिपय भौतिक संरचना विद्यार्थीले नै बनाएका हुन्।

कोरोनाका कारण लकडाउन हुँदा देशभरका विद्यालयमा पठनपाठन ठप्प रह्यो। तर फाउन्डेसनका दुई सय विद्यार्थी जनजागृति विद्यालयलाई जगाउनतिर लागे। अर्थात् आफैँ खटेर नयाँ संरचना बनाए।  

विद्यार्थीले विद्यालयमा सिकेकै सीपबाट भवन बनाएको संस्थापक राई बताउँछन्। ‘कोभिडको समयमा हामी कहीँ गएनौँ, दुईपटकको लकडाउनमा मात्रै दुईवटा तीनतले भवन निर्माण ग¥यौँ,’ उनी भन्छन्, ‘उक्त भवनमा विद्यार्थीलाई सिकाउनका लागि होटल, पसल र रेस्टुरेन्ट सञ्चालन गर्छौं।’ 

जीवन उपयोगी सीप सिकाउने अभियानसम्म मदन 

खोटाङको साकेला गाउँपालिका– २, रतन्छामा २००६ सालमा जन्मेका मदन राईले छात्रवृत्तिमा भारतबाट बिएससी गरेर फर्केपछि जागिर गर्न थाले। सुरुमा उनी २०२९ सालमा कृषि खरिद बिक्री संस्थान विराटनगरमा कृषि अधिकृत भएका थिए। संस्थानको जागिरबाट सन्तुष्ट नभई उनी जागिरकै लागि ०३० सालमा मुस्ताङको मार्फास्थित कृषि फर्ममा हाकिम हुन पुगे। त्यहाँ पाँच वर्ष बिताएपछि उनले बेलायतबाट एमएससी गर्ने अवसर पाए। बेलायतबाट फर्केपछि पुनः मार्फामा सात वर्ष काम गरे। मुस्ताङको स्याउको व्यवसायीकरणमा योगदान पु¥याएकाले उनलाई राजा वीरेन्द्रले तक्मा समेत दिएका थिए।

No description available.

त्यसपछि उनी संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एएफओ)मा  जागिरे भए। काम गर्दै जाँदा र देश–विदेश घुम्दा उनलाई राजनीतितर्फ पनि रुचि बढ्यो। २०५४ को निर्वाचनमा उनी आफ्नै जन्म गाउँको वडा सदस्य निर्वाचित बने। ०५६ को निर्वाचनमा सांसद्का लागि स्वतन्त्र उम्मेदवारी दिए पनि पराजित भएका थिए।

अहिले उनी जीवन उपयोगी सीप सिकाउने अभियानमा छन्। समाज र राजनीतिक बुझ्दै जाँदा र स्वअध्ययन गर्दै जाँदा उनी यो निष्कर्षमा पुगे– शिक्षा सीपमूलक हुनुपर्छ। यसैले उनले ०५८ मा सीप केन्द्र खोले र एसएलसी पास भएका विद्यार्थीलाई सीप सिकाउन कोसिस गरे। तर, उक्त उमेर समूहका बालबालिकाले हलो जोत्ने, गोबर सोहोर्ने, दूध दुहुने काम सिक्न चाहेनन्। त्यसपछि फाउन्डेसनमार्फत चार वर्षमाथिका बालबालिका राख्न थालेको र योजना प्रभावकारी बनेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्