कीर्तिपुर–चन्द्रागिरी साइकल ट्रेल : ‘जति उकालो ओरालो, त्यति नै एडभेन्चरस’
बर्खामास भएकाले चिप्लो भए पनि ट्रेल गज्जबको बनेको रहेछ । उकालो–ओरालो छ, त्यसैले एडभेन्चरस छ । अनुभवी राइडरले मज्जा लिएर राइड गर्न सक्छ ।काठमाडाैं, साउन १४ : शनिबार (साउन ७) बिहान ६१ वर्षीय रामबहादुर श्रेष्ठ चन्द्रागिरीस्थित ‘कीर्तिपुर–चन्द्रागिरी एड्भेन्चर साइकल ट्रेल’मा साइकल हाँक्दै थिए। आठ दिन चार घन्टा लगाएर नेपालको पूर्वदेखि पश्चिमसम्म साइकलमा यात्रा गरेका श्रेष्ठले भने, ‘बर्खामास भएकाले चिप्लो भए पनि ट्रेल गज्जबको बनेको रहेछ। उकालो–ओरालो छ, त्यसैले एडभेन्चरस छ। अनुभवी राइडरले मज्जा लिएर राइड गर्न सक्छ।’
साइकल यात्राका सोखिन श्रेष्ठले ‘काष्ठमण्डप राइडर क्लब’ समेत गठन गरेका छन्। पछिल्लो समय क्लबका २५ सदस्यले बेलाबेला सँगै साहसिक साइकल यात्रा गर्दै आएको उनी बताउँछन्।
१५ किलोमिटर लामो यस साइकल ट्रेल कीर्तिपुर–४ बोसनडाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी नगरपालिकाको वडा ६, ७, ८ र ९ मा फैलिएको छ। ‘यहाँ वातावरण स्वच्छ छ। उकालो–ओरालो भएकाले जोखिमपूर्ण पनि छ। तर जहाँ जोखिम हुन्छ, त्यहाँ मज्जा हुन्छ,’ राइडर श्रेष्ठले भने।
अर्का साइकल यात्री ४८ वर्षीय पद्मेन्द्रनाथ कर्माचार्य पछिल्ला पाँच वर्षयता साइकलयात्रामा रमाइरहेका छन्। नेपालको पूर्व–पश्चिम लगायत धेरै ठाउँमा साइकल यात्रा गरिसकेका उनी भन्छन्, ‘साइकल यात्रीका लागि यहाँ नयाँ गन्तव्य बनेको रहेछ, निकै खुसी लागेको छ।’
१० दिनमा निर्माण
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले निर्माण गरेको यस साइकल ट्रेल ८ पुस २०७८ देखि सञ्चालनमा आएको हो। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार, कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रका एक हजार मजदुरले १० दिनमा यो साइकल ट्रेल बनाएका हुन्। ‘प्रतिमजदुरलाई प्रतिदिन एक हजार रुपैयाँ ज्यालामा काम लगाइएको थियो,’ लामिछानेले भने।
लामिछानेका अनुसार पर्यटन बोर्डको १० लाख डलर र युएनडिपीको १० लाख ५० हजार डलरमा सुरू गरिएकाे २ वर्ष ६ महिना अवधिकाे जीविकाेपार्जन पुनरूत्थानका लागि दिगाे पर्यटन परियाेजनाअन्तर्गत एउटा महत्त्वपूर्ण कार्यक्रमका रूपमा रहेकाे साइकल ट्रेलकाे बीचबीचमा पदैलयात्रीका लागि बाटोसमेत बनाइएको छ। वातावरणलाई क्षति नपुर्याई बनाइएको यस साइकल ट्रेलले आन्तरिक तथा बाह्य साइकलयात्रीलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
युएनडिपी अन्तर्गतको परियोजनाविज्ञ धर्म दवाडीका अनुसार, ट्रेलको बीचमा भएका साना खोल्सामा काठको पुल, ठाउँठाउँमा साइकल चिह्नको होर्डिङ बोर्ड लगायत राख्न बाँकी छ। ‘अहिले बर्खाको बेला कच्ची ट्रेल पानीले चिप्लो बनाउने, साइकलको पांग्रा चिप्लिने तथा भासिने हुन्छ। त्यसैले राइडर कम आएका छन्,’ दवाडी भन्छन्, ‘प्रचार–प्रसार हुँदै जाँदा साहसिक साइकलयात्राको मजा लिन आउनेहरु बढ्ने अपेक्षा गरेका छौँ।’
चन्द्रागिरी नगरपालिकाबाट २५ लाख
चन्द्रागिरी नगरपालिकातर्फ यस साइकल ट्रेल ८–९ किलोमिटरजति परेको छ। चन्द्रागिरीका नगरप्रमुख घनश्याम गिरी धार्मिक पर्यटनको प्रवद्र्धनका लागि यस साइकल ट्रेल उपयोगी भएको बताउँछन्।
‘अब यसमा ट्रेकिङको व्यवस्था, खानेपानीको व्यवस्थासँगै काठको पुल र सांकेतिक बोर्ड राख्न आवश्यक छ। त्यसैले चालू आर्थिक वर्षमा २५ लाख भन्दा बढी बजेट छुट्ट्याएका छौँ,’ उनले भने, ‘साइकल टे«लको बीचमा मातातीर्थ, मच्छिन्द्रनाथ, चम्फादेवीका मन्दिर छन्। दर्शनका लागि जान चाहनेलाई अवसर मिलेको छ। यसले पर्यटक बढ्ने अपेक्षा छ।’
‘ट्रेलको लम्बाइ बढाउँछौं’
गत वर्ष हतार–हतार र्कीतिपुर–चन्द्रागिरी साइकल टे«ल बन्यो। योजनामा सहभागी भए पनि राम्रोसँग काम गर्न नपाएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी बताउँछन्। ‘यस ट्रेलको लम्बाइ बढाउने योजना छ,’ उनले भने, ‘वरपरका साइकलयात्रीले छिटै केही लामो साहसिक यात्रा गर्न पाउनेछन्।’
उनका अनुसार, कहाँदेखि कति किलोमिटर बढाउने भनी छलफल भइरहेको छ। छलफलपछि योजना बनाएर बजेट छुट्ट्याइनेछ।
वृक्षारोपण
शनिबार (साउन ७ गते) चन्द्रागिरी राइडर क्लबको आयोजनामा यस साइकल ट्रेलको वरपर वृक्षारोषण कार्यक्रम गरिएको थियो। वरपर रुख हुँदा साइकल यात्रीलाई सुरक्षित बनाउने, बर्खामा माटो बग्न नदिने र सौन्दर्य बढ्ने क्लबका अध्यक्ष विष्णुभक्त महर्जन बताउँछन्। पेसाले इन्जिनियर महर्जन साइकल राइडर पनि हुन्। ‘तीन हजार बिरुवा रोप्न विद्यार्थी ल्याएका थियौँ तर जुकाका कारण धेरै विद्यार्थी डराएकाले दुई हजार बिरुवा मात्र रोप्न सफल भयौँ,’ अध्यक्ष महर्जन भन्छन्, ‘एक महिनाअगाडि पनि यहाँ वृक्षारोपण गरेका थियौँ। अझै यहाँ तीन–चार किलोमिटर वृक्षारोषण गर्न बाँकी छ।’
उनका अनुसार, ट्रेलको छेउछाउमा अम्रिसो, धुपी लगायत विभिन्न प्रकारका फूल फुल्ने बिरुवा हुँदा राइडरलाई रोमाञ्चित तुलाउँछ।
यस भेगमा जुका लाग्ने गर्छ। शनिबार वृक्षारोपणका लागि गर्जुधारास्थित सनसाइन स्कुलका ८० विद्यार्थी आएका थिए। कक्षा ९ मा अध्ययरत १५ वर्षीया सुनौना कार्की जुकासँग डराएको भाव व्यक्त गर्दै थिइन्। ‘विद्यालयमा पुस्तक पढेर बुझ्छौँ भने फिल्डमा आउँदा सिक्ने मौका पाउँछौँ,’ सुनौना भन्छिन्, ‘वृक्षारोपण रमाइलो थियो तर जुका लागेर डराएँ।’
यस स्कुलका प्राध्यापक मणि महर्जन वृक्षारोपणको आवश्यकता र महत्वका बारेमा बुझून् भनी कक्षा– ८ र ९ का विद्यार्थीलाई ल्याएको बताउँछन्। उनी भन्छन्, ‘प्रयोगात्मक रूपमा स्थलगत अध्ययन गराउँदा विद्यार्थीले भौतिक र मानसिक रूपमा बढी ज्ञान लिन सक्छन्।’
कक्षा ९ मा अध्ययरत १५ वर्षीया क्रिस्टिना रुपाखेतीका लागि सामूहिक रूपमा वृक्षारोपण गरेको यो पहिलो अनुभव थियो। ‘चिप्लो बाटो र जुकाको टोकाइले रमाइलो भयो,’ उनले हाँस्दै भनिन्।