Kathmandu Press

बिमाको २ करोड ५० लाख हत्याउन नक्कली विवाह र हत्या 

बिमा फारममा कालगतिले मृत्यु तथा अन्य कुनै भवितव्य नभनी बिमाको समयावधि भन्दा पहिल्यै दुर्घटनाबाट मृत्यु भएमा भुक्तानी पाइने उल्लेख भएको एआइजी सुवेदी बताउँछन्। ‘दुर्घटना परिकल्पना गरिएरै बिमा गरेको पाइयो र दुर्घटनाबाटै युवकको ज्यान गयो,’ उनले भने।
बिमाको २ करोड ५० लाख हत्याउन नक्कली विवाह र हत्या 

काठमाडाैं, साउन १३ : एक वर्षअघि (०७८ वैशाख २ गते), राति ११ बजे बाँकेको कोहलपुर नगरपालिका– ११ का २१ वर्षीय सर्जन विक टिपरमा बालुवा लोड गराउन गएका थिए। स्थानीय सरदार अहमद खाँको मोटरसाइकल लिएर गएका उनलाई बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा मिनिबसले ठक्कर दियो। भे१ख २४९१ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्कालै स्थानीय र प्रहरीले कोहलपुर मेडिकल कलेज पुर्‍याए, तर अस्पतालले उनलाई मृत घोषणा गर्‍याे। 

घटनापछि बाँके प्रहरीले मिनिबस चालक टोपबहादुर क्षेत्रीविरुद्ध सवारी ज्यान अन्तर्गत मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालत बाँकेले माघ २५ गते मुद्दाको फैसला गर्दै चालक क्षेत्रीलाई ३० दिन कैद र २ हजार जरिवानाको सजाय सुनाएको थियो। यस प्रकरणमा मोटरसाइकल धनी सरदार अहमद खाँले भने सफाइ पाएका थिए। 

खेल बिमाको

अदालतको फैसलालाई मृतकका आफन्तले स्विकारेकै अवस्था थियो। जब मृतकको नाममा गरिएको जीवन बिमाबापतको २ करोड ५० लाख रुपैयाँ कोहलपुर– २ की सपना मल्लले भुक्तानी लिइन्, तब घटनाले नयाँ मोड लियो। 

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बिमा कम्पनीले सर्जनका नाममा भएकोे बिमा भुक्तानी शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्‍याे। यही आधारमा सिआइबीले अनुसन्धान गर्दै जाँदा सर्जनको सवारी दुर्घटनाबाट मृत्यु नभई योजनाबद्ध हत्या भएको तथ्य फेला पारेको छ। शुक्रबार सिआइबीले पत्रकार सम्मेलन गर्दै सर्जनको योजनाबद्ध हत्यामा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ।

 

कोहलपुर नगरपालिका वडा २ की २१ वर्षीया सपना मल्ल, वडा १५ का ३२ वर्षीय सरदार अहमद खाँ, वडा ११ का ३८ वर्षीय दीपक केसी, वडा १ की २१ वर्षीया आरती भनिने ललिता सापकोटा, स्याङ्जाको वालिङ नगरपालिका– ६ घर भई कोहलपुर नगरपालिका– ११ बस्दै आएका ३१ वर्षीय सञ्जीव अर्याल र बाँकेको बैजनाथ गाउँपालिका– ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री सर्जनको हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ। 

नक्कली विवाह

२०७७ फागुन २८ गते रिलायन्स लाइफ इन्स्योरेन्समा सर्जनको नाउँमा २ करोड ५० लाखको जीवन बिमा गरिएको थियो। बिमा अभिकर्ता थिए, कोहलपुरकै सरदार अहमद खाँ। र, वैशाख २ मा सर्जनले चलाएको मोटरसाइकल उनकै थियो। 

सामान्य आम्दानी गर्ने सर्जनले त्यति ठूलो रकमको जीवन बिमा गराउन सक्ने अवस्था थिएन। त्यसमा उनलाई सञ्जीव अर्यालले साथ दिएका थिए। बिमाबापतको पहिलो प्रिमियम ५ लाख ४० हजार रुपैयाँ पनि सञ्जीवले नै तिरिदिएका थिए। 

बिमामा इच्छाइएको व्यक्तिमा थिइन्, कोहलपुरकी सपना मल्ल। सपना र सर्जनको चिनजान सञ्जीवले गराइदिएका थिए। त्यसअघि सञ्जीवकी प्रेमिका भनिएकी ललिता सापकोटाले सपनाको चिनजान सञ्जीवसँग गराएकी थिइन्। 

सपना विद्यार्थी भिसामा विदेश जाने तयारीमा थिइन्। सर्जनलाई सपनासँगै डिपेन्डेन्टमा जाने कुराकानी सञ्जीवले मिलाएका थिए। बिमाको इच्छाइएको व्यक्तिमा सपनालाई सर्जनको श्रीमती भनिएको थियो। त्यसअघि सञ्जीवले फागुन ५ र ११ गते कोहलपुरकै कामना सेवा विकास बैंकमा सर्जन र सपनाको खाता खोलिदिएका थिए। सर्जनको बैंक खातामा प्रयोग भएको मोबाइल नम्बरको सिमकार्ड समेत सञ्जीव आफैँले राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

फागुन २८ सम्म सपना र सर्जनको विवाह त परको कुरा, उनीहरुबीच राम्ररी चिनजान समेत नभएको एआइजी सुवेदी बताउँछन्। २८ गते बिमा भए पनि सर्जन र सपनाको विवाह दर्ता भने चैत २ गते भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बिमा फारममा कालगतिले मृत्यु तथा अन्य कुनै भवितव्य नभनी बिमाको समयावधि भन्दा पहिल्यै दुर्घटनाबाट मृत्यु भएमा भुक्तानी पाइने उल्लेख भएको एआइजी सुवेदी बताउँछन्। ‘दुर्घटना परिकल्पना गरिएरै बिमा गरेको पाइयो र दुर्घटनाबाटै युवकको ज्यान गयो,’ उनले भने।

सिआइबीको अनुसन्धान अनुसार, वैशाख २ गतेको दुर्घटना र सर्जनको मृत्युबारे सञ्जीवले नै सपनालाई जानकारी दिएका थिए। जानकारी पाएर पनि सपना सर्जनको मृत्यु संस्कारमा भने सहभागी भइनन्। 

सर्जनको मृत्युपछि बिमाको भुक्तानी पाउने सबै प्रक्रिया सञ्जीवले गरेका थिए भने बिमाबापतको रकम पाउन सपनालाई काठमाडौंसम्म ल्याउने काम दीपक केसीले गरेका थिए। केसी सञ्जीव निकटका व्यक्ति हुन्। 

प्रक्रिया पुर्‍याएपछि बिमा कम्पनीले ०७८ साउन २४ गते सपनालाई २ करोड ५० लाखको चेक भुक्तानी गरेको थियो। उनले उक्त चेक कामना सेवा विकास बैंकमा जम्मा गरेकी थिइन्। 

बिमा कम्पनीबाट पाएको रकम सपना प्रधान, सञ्जीव अर्याल र दीपक केसीले बाँडे। ‘सञ्जीव अर्यालले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाले ८६ लाख ८९ हजार र सपनाकी आमा छवि कुमारी खत्रीले १७ लाख ४६ हजार रुपैयाँ बाँडेर लिएको पाइएको छ,’ एआइजी सुवेदीले भने। 

प्रहरीले सपनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ९ गते पक्राउ गरेको थियो। उनी दिल्ली हुँदै जापान जान लागेकी थिइन्। उनीपछि अन्य पाँच जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो।
 

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्