गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने–फर्कने बढी, भिसा सेन्टर र मेडिकल जाँच नहुँदा अप्ठेरो
अहिलेसम्म यस विमानस्थलबाट कुवेतको जजिरा एअरवेजले मात्र उडान गरिरहेको छ।काठमाडौं, साउन ९ : जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० जुलाईसम्म ६ हजार ७६७ यात्रुले आवतजावत गरेका छन्। जसमध्ये ३ हजार ७१ भित्रिएको र तीन हजार ६ सय ९६ बाहिरिएको विमानस्थलले जनाएको छ।
अहिलेसम्म यस विमानस्थलबाट कुवेतको जजिरा एअरवेजले मात्र उडान गरिरहेको छ। ‘जजिराले सुरुवाती दिनदेखि नै सातामा तीनपटक (सोमबार, बुधबार, शनिबार) उडान गर्दै आएको छ। हालसम्म २९ उडान र २९ अवतरण गरेको छ,’ विमानस्थलका प्रवक्ता श्यामकिशोर साह भन्छन्, ‘पछिल्लो समय जजिराबाहेक अन्य एयर कम्पनीले पनि उडानका लागि चासो देखाएका छन्।’
यस विमानस्थलबाट बाहिरिनेको संख्या बढी भएकाले अहिले जजिरा एयरवेजले कुवेत, युएई, कतार, साउदी अरेबिया, ओमन, साउदीका विभिन्न सहरमा उडान गरिरहेको प्रवक्ता साह बताउँछन्। ‘यात्रुको संख्या बढ्दै गएमा जजिरा एयरवेजले नियमित उडान गर्ने कुरा छ,’ उनी भन्छन्।
वैदेशिक रोजगारीमा जाने र फर्कने बढी
विशेषतः खाडी क्षेत्रमा कार्यरत कामदार र बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि आउने पर्यटकलाई लक्षित गरी यस विमानस्थल सञ्चालनमा आएको हो। प्रवक्ता साहका अनुसार, विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारीमा गएकाको यात्रामा सहजता पुगेको छ। ‘अहिलेसम्म पर्यटकभन्दा कुवेत तथा युएईका विभिन्न सहरमा रोजगारी लागि जाने र फर्कने बढी छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाने विमानस्थल नजिकका जिल्लावासीलाई धेरै राहत मिलेको छ।’
आफूहरुले विमानस्थल र उडानबारे प्रचार–प्रसार गरिरहेको र पर्यटकीय स्थलमा विमानस्थल भएकाले छिटै पर्यटकको संख्या बढ्ने अपेक्षा रहेको प्रवक्ता साह बताउँछन्। उनका अनुसार, उद्घाटन भएदेखि हालसम्म कोरियाका राजदूत, थाइल्याडका राजदूत, अस्ट्रेलियाका राजदूत आएर भ्रमण गरेर गएका छन्। ‘उहाँहरुले पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने बताउनुभएको छ। विभिन्न देशको राजदूत आउँदा पनि प्रचार–प्रसार बढ्ने र पर्यटक आउने विमानस्थलको अपेक्षा छ,’ प्रवक्ता साहले भने। उनका अनुसार, जजिराले अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको तुलनामा २० प्रतिशत हवाइ टिकटमा छुट दिएको छ। यस कारण यात्रुको संख्या बिस्तारै उकालो लाग्ने उनको अनुमान छ।
समस्या
प्रवक्ता साहका अनुसार, यो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अहिले भिसा सेन्टरका शाखा, मेडिकल जाँच, ट्राभल एजेन्सी छैनन्। भिसा सेन्टर तथा मेडिकल रिपोर्टका लागि काठमाडौं पुग्नुपर्छ। त्यस्तै, विमानस्थल वरपर यात्रुका लागि सुपथ मूल्यमा सेवा दिने होटल तथा लज छैनन्। ‘विमानस्थल आवतजावतका लागि आवश्यकता अनुसार सवारीसाधनको सुविधा छैन। मागभन्दा कम संख्यामा यातायात सुविधा भएकाले भाडादर मनलाग्दी छ,’ साह भन्छन्, ‘भाडादर व्यवस्थापन, होटल व्यवसाय सुरु लगायतका थुप्रै सेवा सञ्चालन हुन बाँकी छ।’
उनका अनुसार, विमानस्थलबाट एक किलोमिटर टाढा रहेको सिद्धार्थ सिटी अस्पतालले मेडिकल रिपोर्ट जाँचका लागि अनुमति मागिरहेको छ। ‘स्वास्थ्य मन्त्रालय र वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले अनुमति दिए अस्पताल सेवा दिन तयार छ,’ उनले भने।
थप दुई एयर तयारीमा
प्रवक्ता साहका अनुसार, यस विमानस्थलबाट थप दुई एयर उडानको तयारीमा छन्। आगामी १५ सेटेम्बरमा एयर अरेबियाले र ३० अक्टोबरमा विज एयरले उडानको तयारी गरिरहेको छन्। ‘दुवै एयरले हप्तामा तीन–तीन दिन उडान गर्ने छलफल भइरहेको छ। यी दुवै एयर युएई र साउदीका विभिन्न स्थानबाट उडान भर्छन्,’ साह भन्छन्, ‘स्वीकृतिका लागि उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्र पेस गरिरहेका छन्। अनुमति पाए छिटै उडान सुरु गर्छन्।’
एयर अरेबियाले एक सय ७४ सिटे र विज एयरले २ सय ३४ सिटे जहाज सञ्चालनमा ल्याउने साहले बताए। यीबाहेक अन्य एयरले समेत उडानका लागि चासो देखाएको उनी बताउँछन्। ‘बिस्तारै एयरको संख्या बढ्दै जाने अपेक्षा गरेका छौँ, उनले भने।