बहिराको आवाज : ‘फोहोर लिन आउँदा सिटी बजाएको सुनेनौं, हामीलाई म्यासेज पठाऊ’
बोल्न र सुन्न सक्नेहरूलाई लाग्न सक्छ– सिटी बजेको सुन्नेहरूले सहयोग गरे वा खबर गरे भइहाल्यो। तर, बोल्नजस्तो सहज छैन।काठमाडाैं, साउन ८ : राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघकी अध्यक्ष लक्ष्मी महर्जन (देवकोटा)ले शनिबार ‘बालेन शाह समर्थन ग्रुप’लाई ट्याग गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘म एउटी बहिरा हुँ। नेपालभरि मजस्ता तीन लाख बहिरा छन्। हामी बहिराले मोबाइल म्यासेजका माध्यमबाट कुराकानी गर्न सक्छौँ। फोहोर उठाउने दिन १ घन्टाअगाडि हामीलाई मोबाइलमा मेसेजबाट जानकारी गराएदेखि सहज हुने थियो भन्ने आशा राख्दछु। फोहोर लिन आउने समय थाहा नहुँदा र सिटी बजाएको नसुन्दा समयमै फोहोर फाल्न नसकेको अवस्था छ। यस विषयमा सल्लाह सुझावका लागि यो नम्बर (९८४१९६३५०८) मा मेसेज गर्नुहोला।’
काठमाडौंको बौद्धमा बस्ने ४४ वर्षीया निर्मला बस्नेत पनि बहिरा हुन्। उनले फोहोर लिन आउने गाडीका चालक तथा सहचालकले बजाएको सिटीको आवाज सुन्न सक्दिनन्। उनलाई फोहोर लैजाने गाडी कहिले आउँछ भन्ने पनि थाहा छैन। त्यसैले बिहान प्रायः फोहोरको गाडी आयो कि भनेर चोकतिर हेरिरहन्छिन्। कैयौँपटक उनले निकै दिनसम्म फोहोर कोठामै राख्नुपरेको छ।
निर्मलाजस्तै धेरै बहिराले सिटी बजाएको नसुन्दा फोहोर फाल्न नपाएको गुनासो गरेको अध्यक्ष महर्जन बताउँछिन्। ‘फोहोर फाल्न समस्या भएको भनी थुप्रै बहिराबाट गुनासो आएकाले हामीले यसको समाधान खोज्न थालेका हौँ,’ अध्यक्ष महर्जनले सांकेतिक भाषामा भनिन्, ‘उपत्यकामा बस्ने अधिकांश बहिराले समयमै फोहोर फाल्न पाएका छैनन्। लामो समयसम्म कोठामा राख्दा फोहोर कुहिएर दुर्गन्ध फैलिई विभिन्न रोग लाग्ने डर हुन्छ। बहिराका समस्यालाई पनि सम्बन्धित निकायले बुझी स्वस्थ्य रहन सहयोग पु¥याउनुपर्ने देखिन्छ।’
उनको सांकेतिक भाषालाई दोभासे आकृति न्यौपानेले नेपालीमा अनुवाद गरी हामीलाई सुनाएकी हुन्। अध्यक्ष महर्जनका अनुसार, अवसरको खोजीमा धेरैजसो बहिरा उपत्यकामा डेरा गरी बस्छन्। बहिरा स्कुल, बहिराका हकहितका लागि काम गर्ने संस्था काठमाडौंमै बढी छन्। परिवारसँग बस्ने बहिरा, जसका अन्य सदस्य बोल्न सक्छन्, उनीहरूलाई फोहोर व्यवस्थापन खासै समस्या हुँदैन तर एक्लै बस्ने बहिराले समयमै फोहोर फाल्न नपाउँदा दुर्गन्धसँग जुध्नुपरेको अध्यक्ष महर्जनको भनाइ छ।
‘फोहोरको विषय मात्रै होइन, बहिराले पाइला–पाइलामा समस्या भोग्नुपर्छ,’ अध्यक्ष महर्जन भन्छिन्, ‘जुन स्थानीय तहमा बहिरा बसेका छन्, सोही स्थानीय तहले बहिराका हितका लागि काम गर्नुपर्ने हो। कम्तीमा बहिराका लागि फोहोर व्यवस्थापनमा सहयोग पु¥याए मात्र धेरै हुने थियो।’
पछिल्लो समय अध्यक्ष महर्जनले पनि समयमै फोहोर फाल्न सकेकी छैनन्। उनका श्रीमान बहिरा हुन्। पहिले उनीहरूलाई यस्ता काममा छोरीहरूले सघाउँथे। अहिले उनका श्रीमान र जेठी छोरी अमेरिकामा छन्। कान्छी छोरीको तीन महिनाअघि विवाह भयो। यतिखेर अध्यक्ष महर्जन कालोपुलस्थित डेरामा एक्लै बस्छिन्। सिटी बजाएको नसुन्दा आफूले पनि लामो समय फोहोर फाल्न नपाएको उनी गुनासो गर्छिन्।
‘वरपरकाले ढोका ढकढकाए पनि सुन्दैनौँ’
बोल्न र सुन्न सक्नेहरूलाई लाग्न सक्छ– सिटी बजेको सुन्नेहरूले सहयोग गरे वा खबर गरे भइहाल्यो। तर, बोल्नजस्तो सहज छैन।
अध्यक्ष महर्जनका अनुसार, सुरक्षाका कारण कोठामा बस्दा धेरै बहिरा महिलाले ढोका बन्द गरेर बस्छन्। कसैले बोलाउँदा वा ढोका ढकढकाउँदा सुन्दैनन्।
‘कसैले इसारा गर्ला भनेर ढोका खुल्लै राख्ने कुरा आएन,’ उनी भन्छिन्, ‘हामीलाई धेरै समस्या छ। नसुन्ने भएपछि वरपरका छिमेकीले बोलाउँदैनन्, नसुन्नेलाई बोलाउनुको अर्थ छैन। म आफैँ पनि फोहोरको गाडी चोकमा आएको ढिला थाहा पाएर धेरैपटक गाडीको पछाडि दौडिएकी छु। आवाज दिन सकिन्न। इसारा गर्ने हो, इसारा गरेको सधैँ देख्दैनन्। सुन्दा सामान्य लागे पनि बहिराका लागि यो ठूलो समस्या हो।’
मेयर साहलाई ज्ञापनपत्र बुझाउने तयारी
बहिराले फोहोर फाल्ने विषयमा काठमाडौं महानगरपालिकाले नै सहयोग गर्नुपर्ने अध्यक्ष महर्जन बताउँछिन्। सुन्न, बोल्न नसक्ने भए पनि अधिकांश बहिराले पढ्न सक्छन्। ‘फोहोर लिन आउनुपूर्व महानगरले बहिरालाई मोबाइल वा अन्य सञ्चारमाध्यममार्फत जानकारी गराउनुपर्छ,’ उनी भन्छिन्।
अध्यक्ष महर्जन यस सम्बन्धमा काठमाडौंका मेयर बालेन शाहलाई ज्ञापनपत्र बुझाउने तयारीमा छन्। ‘सबै नागरिकलाई सहयोग गर्ने भनेर उहाँले सञ्चारमाध्यममा बताउनुभएको छ। हाम्रो समस्या बोकेर जान लागेका हौँ,’ उनी भन्छिन्, ‘सामूहिक रुपमा काठमाडौं महानगरको कार्र्यालय जान्छौँ र ज्ञापनपत्र बुझाउँछौँ। हाम्रो पीडा पक्कै बुझ्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ।’
यस विषयमा यसअघि पनि आफूहरूले काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई भेट्न चाहेको तर समय नपाएको उनको भनाइ छ।