ज्येष्ठसँग भलाकुसारी : ‘हाम्रो देशमा सबैतिर चुनढुंगा छ, हामीले बंगलादेशलाई चुनढुंगा बेच्न सक्छौँ’
उनको अनुभव र अनुमानमा, नेपालको पूर्वतिर सुनका खानी र पोखराको सम्पूर्ण ब्लकमै हीरा खानी हुन सक्छ। तर, यस्ता खानी खोजका लागि निकै विशिष्ट प्रकारका प्रविधि आवश्यक हुने उनी बताउँछन्।काठमाडौं, साउन ६ : ८० वर्षीय सिद्धिबहादुर रञ्जितकारले गत जेठमा आफ्नो तेस्रो पुस्तक बजारमा ल्याए– ‘कुमारी : मल्टिफेसेटेड लिभिङ गडेस।’ यसअघि उनका ‘महाभारत’ र ‘द भर्जिन गडेस : कुमारी’ गरी दुई पुस्तक प्रकाशित छन्।
रञ्जितकार लेखनमा आएको धेरै भएको छैन, लेखनमा आउनुअघि उनले केही वर्ष सरकारी र गैरसरकारी संस्थामा सेवा गरे। बुधबार बिहान ११ बजे उनी काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा थिए, उनको लेखपढ गर्ने समय सुरु हुँदै थियो। बिहानको खाना खाएपछि प्रायः उनी चार घन्टाजति लेखपढमा रमाउँछन्। विशेषतः संस्कृतिको अध्ययनमा उनको रुचि छ। यसबाहेक अन्य समय उनी आराम र आफन्तसँगको गफगाफमा बिताउँछन्।
मलाई भने उनले टेलिफोनमार्फत बिहान ११ बजेकै समय दिएका थिए। आफ्नो घरको तेस्रो तलाको कौसीमा मलाई राखेर उनले भने, ‘पख्नुस् है, मालाई आँखामा औषधि राखेर आउँछु (उनकी श्रीमतीलाई मैले मा भन्छु)। अस्ति मात्रै उनको मोतीबिन्दुको अपरेसन भयो।’
घरमा उनीहरूको दम्पती र एकजना काम गर्ने मानिस बस्छन्, छोराछोरी विदेशतिर छन्। श्रीमतीको आँखामा औषधि राखिदिएपछि उनी कौसीमा आए। उनको विद्यार्थी जीवन, जागिरे जीवन र पुस्तक लेखनका सम्बन्धमा हामीबीच एक घन्टाजति भलाकुसारी चल्यो।
‘बंगलादेशलाई चुनढुंगा बेच्न सक्छौँ’
भक्तपुरको श्री पदम् हाइस्कुलबाट सन् १९५८ मा एसएलसी र त्रिचन्द्र कलेजबाट सन् १९६१ मा आइएससी गरेपछि उनी इन्जिनियरिङ पढ्न रुसको मस्को पुगे, सरकारी छात्रवृत्तिमा। त्यहाँ सात वर्ष अध्ययन गरी सन् १९६८ मा नेपाल फर्के। अनि उनको जागिरे जीवन सुरु हुन्छ। ‘त्यति बेला इन्जिनियर भनेपछि राजादेखि मन्त्री सबैले राम्रै मान्थे,’ उनी भन्छन्, ‘नेपाल फर्केलगत्तै मैले खानी विभागमा शाखा अधिकृतको जागिर पाएँ।
उनका अनुसार, उतिबेला खानी विभागमा इन्जिनियरहरूको दुई प्रकारको काम हुन्थ्यो– सम्भाव्यता अध्ययन र खानी खोज। उनले खानी खोजअन्तर्गत काम गरे। ‘खानीका स्रोत भेटिएको ठाउँ र खानीको सम्भावना रहेको ठाउँमा हामी जानुपथ्र्यो,’ उनी भन्छन्, ‘कहीँकतै खानीको स्रोत पहिचान भयो र त्यसबारे स्थानीयबाट रिपोर्टिङ आयो भने हामी अध्ययनका लागि जान्थ्याँै। त्यहाँ गएर पहिले माटो वा बालुवाको परीक्षण हुन्छ। जसलाई जिओकेमिकल एक्सप्लोरेसन भनिन्छ। माटो वा बालुवाको परीक्षणमा कपर, लिड, जिंकजस्ता मिनिरल्सको अनुपात हेरिन्छ र सोही अनुसार खानीको पहिचान र उत्खनन हुन्छ।’
उनका अनुसार, नेपालका प्रायः सबै सम्भाव्य स्थानमा खानी अध्ययन भइसकेका छन्। ‘राणाकाल अघि र पछि नेपालमा राजाहरूले यस्ता खानी खोजमा व्यापकता ल्याए। उनीहरूले बलजफ्ती खानी खोज तथा प्रशोधनमा कर्र्मचारी तथा सर्वसाधारणालाई लगाउँथे,’ उनी भन्छन्, ‘उतिबेला राजस्वमा फलाम, कपर, सिसा लगायत धातुको प्रयोग हुन्थ्यो। त्यसैले यस्ता धातुजन्य खानी शाहकालमा धेरै उत्खनन भए।’
उनको अनुभव र अनुमानमा, नेपालको पूर्वतिर सुनका खानी र पोखराको सम्पूर्ण ब्लकमै हीरा खानी हुन सक्छ। तर, यस्ता खानी खोजका लागि निकै विशिष्ट प्रकारका प्रविधि आवश्यक हुने उनी बताउँछन्। ‘हाल हामीले सिमेन्टका लागि कच्चा पदार्थ चुनढुंगा निकालेर बेच्न सक्छौँ, यो हाम्रो देशमा सबैतिर छ। बंगलादेशमा चुनढुंगा नै छैन,’ उनी भन्छन्, ‘सिमेन्ट नै नसके पनि चुनढुंगा मात्र बंगलादेशमा निर्यात गर्न सके अर्थतन्त्रमा टेवा मिल्ने थियो। यद्यपि, यसका लागि भारतसँग रेलवे रुट भने मिल्नुपर्छ।’
हाल नेपालमा जति पनि सिमेन्ट र मार्बल उद्योग छन्, ती सबै खानी विभागको देन भएको उनी बताउँछन्। ‘देशको पूर्वदेखि पश्चिमसम्म अध्ययन गरी सिमेन्टका लागि उपयुक्त ढुंगा खोज्ने काम खानी विभागले नै गरेको हो,’ उनी भन्छन्, ‘दोलखा जाने बाटोमा पर्ने खहरे भन्ने स्थानमा म्याग्नेसाइट खानी थियो।’ माग्नेसाइटको प्रयोग म्याग्नेसियम ब्रिक्स र सिमेन्ट बनाउन गरिन्छ।
खानी विभागमा शाखा अधिकृतबाट प्रवेश गरेका उनी उपसचिवसम्म पुगेका थिए। देशविदेशको भ्रमण गर्थे। ‘विभागमा काम सुरु गरेको एक वर्ष नबित्दै मिनिरलबेस स्टडिजका लागि मलाई अल इन्डिया टुरमा पठाइयो। त्यसपछि १९७२ मा एक वर्ष अध्ययनका लागि युके बसेँ। त्यहाँ सर्टिफिकेटसँगै कमाइ पनि भयो। सन् १९७५ ढुंगासम्बन्धी अध्ययन गर्न ४५ दिन इजरायल र १९७९ मा तीनमहिने मिनिरल इकोनोमिकको तालिमका लागि क्यानडामा सहभागिता जनाउन पाएँ।’
विभागमा स्थायी सेवा, सबै राम्रै थियो तर त्यहाँ १३ वर्ष सेवा गरेपछि उनले राजीनामा दिए। किन ? ‘जति खोज गरे पनि खानी पत्तो नलाग्दा मलाई एक प्रकारले फ्रस्ट्रेसन जस्तो भइसकेको थियो। त्यसैले १३ वर्ष सेवा गरेपछि मैले विभागबाट राजीनामा दिएँ। अझ आकर्षक सेवासुविधासहित नयाँ काम गर्ने अफर पनि आएको थियो।’
विभागमा उनले चार सय ७५ रुपैयाँ तलबबाट सेवा सुरु गरेका थिए, उप–सचिव हुँदासम्म त्यो बढेर १२ सय पुगेको थियो। विभाग छाडेर सन् १९८२ देखि उनी ‘स्विस एसोसियन फर टेक्निकल एसिस्टेन्ट’ (साटा)मा जोडिए, जहाँ उनको तलब पाँच हजार रुपैयाँ थियो। साटामा सात वर्ष बिताएपछि सन् १९८९ देखि उनलाई ‘सहरी विकास कोष’मा कार्यकारी निर्देशक (सचिव सरह)को पदमा अफर आयो। त्यहाँ उनलाई नगर पञ्चायतको योजना अनुसार, खानेपानी, ढल निकास तथा भौतिक निर्माणको जिम्मेवारी थियो। ‘सचिव सरहको मान्यता र आफ्नै देशका लागि काम गर्न पाइने सन्तुष्टिले म कोषमा आएँ। तर, राजनीतिक गन्ध मिसिन थालेपछि डेढ वर्षमै जागिर छाडेँ,’ उनले भने। राजनीतिक गन्ध भन्नाले ? ‘उही राजनीतिक दलको स्वार्थ अनुसार काम गर भन्ने त हो,’ उनले थपे।
उनका अनुसार, सहरी विकास कोषका जति पनि योजना छन् ती सबै काठमाडौंबाहिरका सहरका लागि थिए। भर्खरै गाउँबाट सहरमा परिणत हुँदै गरेका स्थानमा कोषले ध्यान दिन्थ्यो। नेपालका सहर अव्यवस्थित हुनुको मुख्य कारणमा उनी भ्रष्ट कर्मचारीतन्त्र र गलत राजनीतिक नेतृत्वलाई मान्छन्।
कोषपछि उनले ‘युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट’ (युएसएड)मा सात वर्ष काम गरे र जागिरे जीवनबाट विश्राम लिए। अहिले उनी संस्कृतिको खोजमा छन्।
संस्कृतिको खोज
उनको बढी अध्ययन ‘कुमारी’का सम्बन्धमा छ। खानी खोजबाट उनी कसरी संस्कृतिको खोजतर्फ आए ? यसको पनि सुन्दर संयोग छ।
युएसएडमा काम गर्ने क्रममा जोन मेलोसिप नाम गरेका एक विदेशी ‘कुमारी’का बारेमा थेसिस गर्न नेपाल आएका थिए। यसै क्रममा जोन मेलोसिपसँग उनको संगत भयो। ‘६ वर्ष जति मैले उनलाई सहयोग गरेँ। यस क्रममा मैले उनका लािग कुमारीका घरमा जाने, नेपाली कागजात तथा डकुमेन्ट, लेख अंग्रेजीमा ट्रान्सलेट गर्ने गरेँ,’ रञ्जितकार भन्छन्, ‘उनलाई सहजकर्ता गर्दागर्दै आफ्नो संस्कृतिप्रति मलाई रुचि बढ्यो। विशेषतः विदेशीहरू नेपाल आएर अनेक अध्ययन गर्छन्। उनीहरूले बुझेका कतिपय कुरा गलत छन् र भाष्य पनि आफ्नो बुझाइअनुरुप स्थापित गरेका छन्, जुन सरासर गलत छ। संस्कृतिजस्तो संवेदनशील विषयमा गहिरो अध्ययन हुनुपर्छ।’
उनको बुझाइमा संस्कृति हजाराँै वर्षदेखि पुर्खाले स्थापित गर्दै आएको चलन र सभ्यता हो। राज्यबाट संस्कृतिको जगेर्नाभन्दा पनि बिगार्ने काम भइरहेको उनको गुनासो छ। ‘केहीअघि ल्याइएको गुठी विधेयक यसको प्रमाण हो,’ उनी भन्छन्, ‘नाममा मात्र सीमित संस्कृति मन्त्रालयले पर्यटनसम्बन्धी फाट्टफुट्ट र पुरातत्व विभागले आफ्नो हिसाबले काम गरिरहेको छ।’
कुमारीका सम्बन्धमा उनको खास दृष्टिकोण छ। बहु–आयामकी कुमारी शैव, वैश्य, शाक्त, बौद्ध हरेक धर्मावलम्बीमा मानिँदै आएको उनी बताउँछन्। ‘वैश्य धर्मावलम्बीले कुमारीलाई महालक्ष्मीका रूपमा मान्छन् भने यता शैवमार्गीले महाकालीका रूपमा,’ उनी भन्छन्, ‘हिन्दू धर्मावलम्बीले तलेजु अथवा दुर्गा भवानीका रुपमा मान्छन् भने बौद्धधर्मतर्फ बज्रयोगिनीको रूपमा। यी सबै पात्रको माथिल्लो स्थानमा हुन्छिन्, कुमारी। पात्रअनुसार उनको मान्यता हुन्छ। तर कुमारी सार्वभौम सत्ताको प्रतीक हुन्।’