जब सीता प्लास्टिकका बोतल कम्मरमा बाँधेर फेवाताल तरिन्
सीताले १२ वर्षको उमेरदेखि कायक चलाउन थालेकी हुन्। पौडी खेल्न, कायक चलाउन उनलाई कसैले सिकाएको होइन। कायाकिङका केही टेक्निक भने उनले स्विडेनमा विवाह गरेकी एक नेपाली चेलीबाट सिकेकी हुन्।काठमाडौं, साउन २ : सीता थापा कहिलेदेखि फेवातालमा तैरिन सिकिन् ? यसको सम्झना सीतालाई छैन। तर, उनलाई राम्रोसँग थाहा छ, निकै बल गर्दा पनि उनी फेवाताल तर्न सकेकी थिइनन्, धेरैपटक बीचबाटै फर्कने गर्थिन्।
एक दिन भने कसोकसो उनको मनमा जुक्ति आयो— खाली प्लास्टिकका बोतलमा बलियोसँग बिर्को लगाई तिनलाई डोरीले कम्मरमा बाँधेर पौडने। ३५ वर्षीया सीता भन्छिन्, ‘यसो गर्दा पानीमा तैरिन सहज हुने रहेछ। यसरी म पहिलोपटक सजिलै फेवाताल तरेँ।’
यो सीता केटाकेटी हुँदैको कुरा हो। अहिले सीताले रिभर गाइडलाई आफ्नो पेसा बनाएकी छन्। लामो समय रिभर गाइडसँगै ट्रेकिङ गाइड गरेकी सीताको अहिले आफ्नै कम्पनी छ– ‘हिमालयन एडभेन्चर ग्रुप।’
यस कम्पनीमार्फत उनले पर्यटकलाई ट्रेकिङ, कायाकिङ रर्याफ्टिङ गराउँछिन्। ‘हिजोर्याफ्टिङ सिकेर के गर्र्छेस् भन्नेलाई मेरो सफलताले जवाफ दिएको छ,’ उनी भन्छिन्, ‘नेपालमा मात्र होइन, रिभर गाइडका रूपमा म केहीपटक जापान लगायत केही देश पनि पुगेकी छु।’
सरकारले नेपालका १६ वटा नदीमार्याफ्टिङ का लागि वर्क प्रमिट दिएको छ, तीमध्ये तमोर नदीबाहेक सबैमा उनलेर्याफ्टिङ यात्रा गरिसकेकी छन्। यतिखेर उनी रिभर गाइड प्रशिक्षक समेत हुन्। असारको अन्तिम साता महिला र पुरुषसहितको एउटा ग्रुपले रिभर गाइड लाइसेन्सका लागि काठमाडौंमा तालिम लिँदै थियो, जसमा एक प्रशिक्षकका रूपमा सीता थिइन्।
करिअर संघर्ष
पोखरा महानगरपालिका– ६ मा जन्मेकी सीताको घरअगाडि केहीर्याफ्टिङ का कार्यालय थिए। ती कार्यालयमा साहसी पर्यटक आउने गर्थे। यसमाथि फेवातालमा पौडनु र फेवातालमा डुंगाहरू चलेको हेर्नु उनका लागि नौलो थिएन। आफ्नो घर वरपरकार्याफ्टिङ कार्यालयसँग कायाक मागेर उनले कायाकिङ सिकिन्।
स्थानीय तालबाराही माविबाट ०५९ मा एसएलसी पास गरेपछि उनले शिक्षालाई निरन्तरता दिन सकिनन्, उनको प्यास पानी र पौडीमै थियो। स्कुल पढ्दासम्म छुट्टी हुनासाथ उनी फेवाताल पुग्थिन्। ‘बाराही मन्दिरअगाडिको रुखबाट फेवातालमा हामफाल्थेँ,’ सीता भन्छिन्, ‘म रुखमा चढेर हामफालेको दृृश्य विदेशी पर्यटकले मन पराएका थिए। उनीहरूले मलाई एक महिनासम्म खाना खुवाए।’
सीताले १२ वर्षको उमेरदेखि कायक चलाउन थालेकी हुन्। पौडी खेल्न, कायक चलाउन उनलाई कसैले सिकाएको होइन। कायाकिङका केही टेक्निक भने उनले स्विडेनमा विवाह गरेकी एक नेपाली चेलीबाट सिकेकी हुन्।
फेवातालमा कायक चलाउँदै गर्दा सन् २००७ मा उनको भेट यिङ्का गुरुङसँग भयो। नेपालकी छोरी यिङ्काले स्विडेनका नागरिकसँग विवाह गरेकी छन्। गफगाफका क्रममा यिङ्काले आफू रिभर गाइड भएको कुरा सीतालाई सुनाइन्। उनीसँग सीताले कायाकिङका टेक्निक सिकाउन आग्रह गरिन्। यिङ्काले पनि उनको आग्रह सहजै स्विकारिन्। ‘कायक चलाउन आवश्यक पर्ने हेलमेट, लाइफ ज्याकेट उनैले दिइन्,’ सीता भन्छिन्, ‘उनीबाट लामो समय सिक्न पाइनँ, किनभने उनलाई छिटै स्विडेन फर्किनुपर्ने भयो। तर जति सिकेँ, महत्वपूर्ण कुरा सिकेँ।’
कायाकिङमा रोलिङ टेक्निक (उल्टोसुल्टो चलाउने) निकै महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ हावाको गति, पानीको तीव्र बहाव वा केहीमा ठोक्किएर कायाक घोप्टो परिदिन्छ। यस्तो बेला कायाकलाई तत्कालै सुल्टो बनाउने टेक्निक हुन्छ। यिङ्काबाट यो टेक्निक सिकेको पहिलो दिन सीतालाई संसारै जितेजस्तो महसुस भएको थियो।
‘रोलिङ टेक्निक जानेपछि मैले केहीपटक प्राक्टिस गरेँ,’ सीता भन्छिन्, ‘त्यतिबेला महसुस भयो कि खतरासँग खेल्न केही टेक्निक चाहिँदो रहेछ, जुन पुरुषले मात्र होइन महिलाले पनि गर्न सक्छन्।’
त्यही वर्ष (सन् २००७)देखि सीताले फ्याट्टफुट्ट रिभर गाइडका रूपमा काम पाइन्। उनलाई विभिन्न ट्राभल एजेन्सीले सिजनमा रिभर गाइडका लागि बोलाउँथे। कुनै दिन रिभर गाइड बन्ने सपना देखेर सीताले फेवातालमा पौडिन सिकेकी वा कायाकिङ सिकेकी थिइनन्। ‘तर काम गर्दै जाँदा यही मेरो पेसा बन्यो,’ उनले भनिन्।
सन् २००८ मा यिङ्का पुनः पोखरा आइन्। त्यतिबेला उनले ४५ दिने र्याफ्टिङ को तालिम चलाएकी थिइन्, जसमा सीता पनि सहभागी भइन्। ‘त्यति बेला तालिम लिनेमध्ये थोरै मात्र नेपाली थियौँ, त्यसमा पनि महिला दुईजना मात्र,’ सीता भन्छिन्, ‘त्यतिबेला पहिलोपल्ट सुनकोसीमा १० दिनको र्याफ्टिङ गएकी थिएँ।’
अवसर
रिभर गाइड मनोरञ्जनात्मक पेसा भएकाले अहिले यसको माग नेपालमा मात्र नभई अन्य देशमा पनि बढिरहेको छ। रिभर गाइडको सीप र लाइसेन्स भएपछि बेरोजगार भएर बस्नुनपर्ने सीता बताउँछिन्। ‘अवसर आउँदा विदेश समेत काम गर्न जान सकिन्छ, अहिले म प्रायः जापान गइरहन्छु। तर यसका लागि सक्षम हुनुपर्याे,’ उनले भनिन्।
उनका अनुसार, अहिले साहसिक खेलमा रमाउने महिला पर्यटक (आन्तरिक वा बाह्य) बढिरहेका छन्। त्यसैले महिला रिभर गाइडको माग विश्वमै बढ्दो छ। ‘हामी अहिले महिला रिभर गाइड उत्पादन गर्ने प्रयासमा छौँ,’ सीता भन्छिन्।
यही असारमा ४७ महिलालाई १५ दिने (यही असार १–१५) रिभर गाइडको प्रशिक्षण दिइएको थियो। सिन्धुपाल्चोकको भोटेकोसीमा दिइएको प्रशिक्षणमा सीता पनि प्रशिक्षक थिइन्। ‘पहिलोपल्ट त्यति धेरै महिलालाई सिकाउन पाउँदा खुसी लाग्यो,’ उनी भन्छिन्, ‘रिभर गाइड बन्न सके गुजारा चलाउन त्यति मुस्किल छैन। यसमा धेरै ज्यानको जोखिम त्यति छैन। पौडने सीप भएपछि लाइफ ज्याकेटले धेरै सुरक्षा गर्छ।’
उनका अनुसार, अहिले नेपालमा एकपटकर्याफ्टिङ जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँभन्दा माथि शुल्क लिइन्छ। ‘महिला सक्षम भए आफ्नो पारिश्रमिक तोकेर समेत विदेश काम गर्न जान सक्छन्,’ उनी भन्छिन्।
उनका अनुसार, नेपालको पहिलो रिभर गाइडका रूपमा मीना गुरुङलाई चिनिन्छ। ‘उहाँ जापानमा बस्नुहुन्छ,’ उनी भन्छिन्, ‘मीना गुरुङ म्याम सञ्चारमाध्यममा आउन रुचाउनुहुन्न।’