Kathmandu Press

मरुभूमिमा भेडा चराउने युवाले भने– सहर हेर्ने त नेपाल आउँदा र जाँदा मात्रै हो

नाम उल्लेख गर्न नचाहने सिन्धुली घर भएका एक युवकले उँट, भेडा चराउने काम गर्दा रहेछन् । दोहा सहरबाट धेरै टाढा मरुभूमिमा उनले भोगेको दुःख सुन्दा पनि मन अत्तालिन्छ ।
मरुभूमिमा भेडा चराउने युवाले भने– सहर हेर्ने त नेपाल आउँदा र जाँदा मात्रै हो

विदेश जाने मेरो कुनै सोच थिएन। त्यही बेला कान्तिपुर दैनिकमा कतार एयरवेजको विज्ञापन देखेँ। साथीभाइसँग सल्लाह लिएँ, उनीहरूले पनि त्यहाँ राम्रो हुन्छ भने। केही साथी र म अन्तर्वार्ताका लागि गोकर्ण रिसोर्ट गयौँ। पहिलो चरणको अन्तर्वार्ता पास भइयो, कम्पनीकै म्यानेजर आएर होटल र्‍याडिसनमा फाइनल अन्तर्वार्ता लिए, त्यसमा पनि पास भएँ। त्यसको दुई महिनापछि भिसा लाग्यो। कहिल्यै नेपाल नछाड्ने प्रण गरेको म र अन्य २७ युवा रोजगारीका लागि कतारतिर लाग्यौं।

बिदेसिनु कसैको रहर हुन सक्ला ? हुन सक्छ, सफा र फराकिला सडक, चिल्ला गाडी, गगनचुम्बी भवनको अगाडि बसेर साथीले लिएको सेल्फी देखेपछि कतिलाई बिदेसिने रहर जाग्ला ! तर, ममा त्यस्तो कुनै रहर थिएन। अधिकांश नेपाली युवा आर्थिक अभावकै कारण बिदेसिने हुन्।  

पहिलोचोटि थियो, त्यो मेरो विदेश यात्रा। कमाउनकै लागि जाँदै भएर होला, मनमा एक किसिमको धमिलोपना थियो। एक मनमा कताकता खुसी लागेको थियो, किनभने पहिलोपटकमै राम्रो नाम चलेको कम्पनीमा काम गर्ने अवसर मिलेको थियो। हामी दिउँसोको ४ बजे मरुभूमिको देश कतारमा अवतरण गर्‍यौँ।

Hardik ivf

सुनेको थिएँ, एयरपोर्ट पुगेका कति नेपालीलाई कम्पनीबाट ‘पिक अप’ गर्न आउँदैनन्, आए पनि ढिलो आउँछन्। म त्यही एयरपोर्टमा काम गर्ने भएकाले मलाई र साथीहरूलाई त्यहाँका स्टाफले नै ‘लबी’मा राखे। केहीबेरमा हामीलाई लिन बस आयो, हामी अपार्टमेन्टतर्फ लाग्यौँ, जहाँ हामीलाई बस्ने व्यवस्था मिलाइएको रहेछ।

हप्ता दिनमै काम सुरु भयो। धेरै देशका कामदारमध्ये त्यहाँ इन्डियन र नेपालीकै वर्चस्व थियो, त्यसैले काम गर्न थोरै सहज लाग्यो। हामी गएको एक महिनापछि कतारलाई छिमेकी मुलुक साउदी, दुबई र बहराइनले घोषित नाकाबन्दी गरे। जसको प्रत्यक्ष असर कतार एयरवेजलाई पनि प¥यो, धेरै फ्लाइट ‘क्यान्सिल’ भए। त्यहाँ काम गर्ने हामी कर्मचारीलाई पनि असर प¥यो। नाकाबन्दीका कारण खाद्यान्नको मूल्य बढ्यो। छिमेकी मुलुकले कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा गरेसँगै खानेकुराको हाहाकार हुन सक्ने आकलन गरिएको थियो। तर कतारले भारत, पाकिस्तान, टर्की र इरानलगायत मुलुकबाट खाद्यान्न लगायत वस्तु आयात गरेर जटिल अवस्था आउन दिएन।

नाकाबन्दीको केही समयपछि विश्व नै कोरोना महामारीको चपेटामा प¥यो। नाकाबन्दीले थला पारेको कतार एयरवेजको ‘बिजनेस’ कोरोनाले झनै घटायो। हाम्रै कम्पनीमा काम गर्ने साथी कोरोना संक्रमित भएपछि मलगायत धेरै कर्मचारी क्वारेन्टाइनमा बस्नुप¥यो।

कोरोना संक्रमित बढ्दै गए पनि सुरक्षाका उपाय अपनाएर काम भइरहेको थियो। कम्पनीका कर्मचारी एकपछि अर्को गरी संक्रमित हुन थाले। घाटा बेहोर्नुप¥यो भन्दै मलगायत धेरै साथीलाई कम्पनीले जागिरबाट ‘इन्ड अफ सर्भिस’को लेटर हातमा थमाइदियो। केही पैसा कमाएर परिवारलाई सुख दिने, आर्थिक रूपले सबल बनाउने भनेर कतार पुगेका हामी जागिरबाट निकालिनुपर्दा निकै दुःखी थियौं।

कोरोना महामारी फैलिरहेकाले विश्वका अधिकांश फ्लाइट बन्द थिए। तत्कालै चाहेर पनि हामी नेपाल आउन पाएनौँ। म पनि ६ महिना कतारमै बस्न बाध्य भएँ। त्यो समय मैले कतारमा काम गरिरहेका नेपालीको अवस्था बुझ्न थालेँ।

नाम उल्लेख गर्न नचाहने सिन्धुली घर भएका एक युवकले उँट, भेडा चराउने काम गर्दा रहेछन्। कतारको राजधानी दोहा सहरबाट धेरै टाढा मरुभूमिमा उनले भोगेको दुःख सुन्दा पनि मन अत्तालिन्छ। ‘मरुभूमिमा सानो टहरा हुन्छ। साहुले हप्ता दिनलाई पुग्ने गरी खानेकुरा ल्याएर दिन्छ, त्यही पु¥याएर खाने। बिहानदेखि साँझ नपरेसम्म भेडाको स्याहारसुसार गर्ने,’ उनले भने, ‘सहर नदेखेको चार वर्ष भयो, सहर देख्ने भनेको नेपाल जाँदा र आउँदा बाटोमा पर्ने मात्र होे।’

दोहामै रेस्टुरेन्टमा काम गर्ने अर्का युवाको व्यथा पनि उस्तै छ। फरक यति हो, उनले सडक, मोटरगाडी, ठुल्ठूला घर भने देखेका हुन्छन्। तर, दैनिक १४÷१५ घन्टा रेस्टुरेन्टकै काममा खटिनुपर्छ। तलब जम्मा नौ सय रियल (करिब २७ हजार नेपाली)। कतारमा नेपाली कामदारलाई गरिने व्यवहार पनि उस्तै छ। खाडीको ५०–५५ डिग्री तापक्रममा उकुसमुकुस भई, खाइनखाई दैनिक ११÷१२ घन्टा काम गर्नुपर्ने बाध्यता, त्यसमाथि न्यून आम्दानी। यही नै हामीमध्ये धेरै नेपालीको नियति बन्दै आइरहेको छ।

देशको माया र परिवारको याद कस्तो हुन्छ भन्ने प्रवासमा दुःख गरेको नेपालीलाई सोध्नू, उसलाई जति थाहा कसलाई होला ?

झन्डै ४५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश छ हाम्रो देश। खाडीमा नेपालीको जागिर गुम्ने, कतिलाई काम लगाएर तलब नदिने जस्ता धेरै समस्या अहिले पनि विकराल रूपमा छ। यसको भुक्तभोगी म स्वयं बनेँ। यसमा सरकारले कहिले सोच्ने ?

जुन बेला विश्व नै कोरोना महामारीको चपेटामा परेको थियो, त्यो बेला नेपाल सरकारले प्रवासी भूमिमा काम गर्ने नेपालीका लागि अभिभावकत्व निभाउन नसकेको महसुस भयो। प्रत्येकले सोचेको जस्तो नहुन सक्छ, विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा राम्रो हुन्छ कि ?

सरकारले युवालाई विदेश जान प्रेरित गर्नुभन्दा पनि स्वदेशमै केही गर्ने वातावरण बनाउन आवश्यक छ। हामीजस्ता युवाले पनि नेपालमै केही गर्छु भन्ने आँट गर्नुपर्छ। कामलाई सानो वा ठूलो भनेर तराजुमा जोख्ने काम बन्द गर्नुपर्छ। म पनि स्वदेशमै केही गर्ने प्रयासमा जुटेको छु।

नेपाल आएर फलफूल, तरकारी लगायत सामान बेच्ने भारतीय प्रशस्तै भेटिन्छन्। त्यही काम हामी किन गर्न सक्दैनौँ ? त्योभन्दा तल्लो स्तरको काम गर्न खाडी नै बस्नुपर्ने किन ? उही काम विदेशमा गर्न हुने स्वदेशमा गर्न नहुने कारण के ? लाखौँ युवाले बुझ्न जरुरी छ।

वैदेशिक रोजगार विभागका अनुसार, २०७७÷७८ मा १ लाख ६६ हजार ६ सय ९८ कामदार वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये ११ हजार चार सय ५६ महिला छन्। वैदेशिक रोजगारीमा गएर फर्कनेमध्ये कतिपयले शारीरिक अंगभंग भएको, हिंसा भोग्नुपरेको पीडा सुनाउँछन्। वैदेशिक यात्रा कठोर भए पनि जाने युवाको जमात रोकिएको छैन। यसको मूल कारण भनेकै नेपालमा रोजगारीका अवसर सिर्जना नहुनु हो। अब सरकारका सबै संयन्त्र र हामी युवाले पनि प्रवासको विकल्प खोज्ने बेला आएको होइन र ? बहस हुन जरुरी छ।

 

 

प्रकाशित मिति: १०:४० बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्