रोनिशा भन्छिन्- ‘नेपाली महिला साहसिक जलयात्रामा पनि कमजोर छैनन् भनेर विश्वलाई चिनाउनुछ’
उनका दिदी र मामाले भोटेकोसीमा र्याफ्टिङ तथा कायाकिङ गर्छन् । पौडी खेल्न आउने भएकाले उनले पनि कहिलेकाहीँ लुकिछिपी दिदी र मामाको र्याफ्टिङ डुंगा चलाउँथिन् ।काठमाडाैं, असार ३१ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९ की १९ वर्षीया रोनिशा पहरी भोटेकोसीमा पौडी खेलेर हुर्किएकी हुन्। आइतबार (२६ असार) उनी काठमाडौंको रविभवनस्थित ‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान’को कार्यालयमा रिभर गाइडको लाइसेन्सका लागि दिइएको तालिममा सहभागी थिइन्।
‘रहर भएरै म लाइसेन्सका लागि तालिम लिन आएकी हुँ,’ दिउँसो २ बजे खाजा खान निस्कँदा उनले भनिन्, ‘रिभर गाइड भएर देश–विदेशका नदी सयर गर्ने रहर छ। नेपाली महिला साहसिक जलयात्रामा पनि कमजोर छैनन् भनेर विश्वलाई चिनाउनुछ।’ नेपाली महिलाले अवसर पाए हरेक क्षेत्रमा काम गर्न सक्छन् भन्ने सन्देश फैलाउन चाहेको पनि उनले बताइन्।
उनका दिदी र मामाले भोटेकोसीमा र्याफ्टिङ तथा कायाकिङ गर्छन्। पौडी खेल्न आउने भएकाले उनले पनि कहिलेकाहीँ लुकिछिपी दिदी र मामाको र्याफ्टिङ डुंगा चलाउँथिन्। ‘र्याफ्टिङ डुंगा चलाउन सक्ने भएपछि मामा र दिदीबाट अनुमति पाएँ। सिन्धुपाल्चोकको सुकुटेदेखि काभ्रेपलाञ्चोकको दोलाघाटसम्म यात्रु राखेर कैयौँपटक र्याफ्टिङ गरेकी छु,’ रोनिशाले भनिन्।
उनीसँगै तालिममा सहभागी थिए, धनकुटाको चौबिसे गाउँपालिकाका २२ वर्षीय विजय माझी। तमोर नदीमा पौडी खेलेर हुर्किएका माझीको रिभर गाइड बन्ने सपना छ। ‘त्यही सपना पूरा गर्न लागिपरेको छु,’ उनले भने।
उनीहरूसँगै रिभर गाइडको लाइसेन्स तालिमका लागि ४२ जना (महिला : ११, पुरुष : ३१) सहभागी भएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा), नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)को सहकार्यमा लाइसेन्सका लागि एकहप्ते तालिम दिइएको छ।
नाराका अध्यक्ष शिव अधिकारीका अनुसार, विगत तीन दशकदेखि नारा र नाथमको सहकार्यमा लाइसेन्सका लागि तालिम दिँदै आइएको छ। दुईहप्ते रिभर गाइडको तालिमका लागि प्रतिव्यक्ति १२ हजार रुपैयाँ तिर्नुपर्छ। अहिले आफूहरूले आठ हजार रुपैयाँ मात्र तालिम शुल्क लिएको अधिकारी बताउँछन्। ‘हामीले रिभर गाइड उत्पादनमा जोड दिएका हौँ,’ उनले भने, ‘अहिले रिभर गाइडको माग नेपालमा मात्र होइन, अन्य देशमा पनि छ।’
महिलाको माग बढी
यसअघि बोर्ड र युएनडिपी अन्तर्गतको ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’को समन्वयमा नाराले ४७ महिलालाई भोटेकोसीमा १५ दिने (असार १–१५) रिभर गाइडको निःशुल्क तालिम दिएको थियो। ‘नेपालको इतिहासमा पहिलोपटक रिभर गाइडको निःशुल्क तालिम सञ्चालनमा ल्याएका थियौँ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘पहिलो चरणको तालिममा सहभागी भएका तथा दुई वर्ष साइड रिभर गाइडका रूपमा काम गरेका अनुभवीलाई अहिले लाइसेन्सका लागि तालिम दिएका हौँ।’
दिगो पर्यटन परियोजना विज्ञ धर्म दवाडीका अनुसार, पछिल्लो समय र्याफ्टिङ गर्न चाहने महिलाले धेरैजसो महिला नै रिभर गाइड खोज्ने गरेका छन्। ‘पहिला वर्षमा एक–दुई महिलाले मात्र रिभर गाइडको तालिम लिन्थे, लाइसेन्स लिएका महिला आत्मनिर्भर बनेको देख्यौँ,’ उनले भने, ‘रिभर गाइडमा महिलाको माग भएकाले प्रोत्साहन गरिरहेका हौँ।’
नाथमका विभागीय प्रमुख अजय ढकाल अहिले रिभर गाइडमा विशेषतः महिलाको माग धेरै भएकाले तालिम दिएर सक्षम बनाउन लागेको बताउँछन्। ‘नेपाली महिलालाई रिभर गाइडमा सक्षम बनाउन सके अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सक्छन्,’ उनले भने।
लाइसेन्सको प्रक्रिया
रिभर गाइड बन्न लाइसेन्स अनिवार्य हुन्छ। नाराका अध्यक्ष अधिकारीका अनुसार, पहिले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षामा पास भएपछि नाथमले दिने प्रमाणपत्रका आधारमा पर्यटन विभागले लाइसेन्स दिने गर्थ्याे । अहिले प्रदेशमै रहेको पर्यटन कार्यालयबाट लाइसेन्स दिने गरिएको छ।
बुधबार (२२ असार) बाट सुरु भएको एकहप्ते तालिममा सहभागीसँग लिखित परीक्षा लिई आज (शुक्रबार) भोटेकोसीमा प्रयोगात्मक परीक्षा लिइएको छ। नाराका अध्यक्ष अधिकारीका अनुसार, लिखित र प्रयोगात्मक परीक्षामा पास भए नाथमले प्रमाणपत्र दिन्छ, त्यसैका आधारमा प्रशिक्षार्थीले लाइसेन्स लिन सक्नेछन्।
नाथमका विभागीय प्रमुख अजय ढकालका अनुसार, तीन दशकमा लाइसेन्सका लागि तालिम लिनेको संख्या सात हजारभन्दा बढी रहेको छ। ‘यीमध्ये अनुमानित तीन–चार हजारले लाइसेन्स लिए होलान्, तालिम लिने सबैले लाइसेन्स लिँदैनन्,’ ढकाल भन्छन्, ‘लाइसेन्स लिएकाहरूमा पनि नवीकरण नगर्नेजस्ता समस्या छन्। पाँच–पाँच वर्षमा नवीकरण गर्ने नियम छ।’
‘हिम्मत गरे रिभर गाइड सोचेजस्तो जटिल छैन’
पछिल्लो समय नदीहरूमा डुंगामार्फत साहसिक यात्रा गर्ने प्रचलन बढेको छ। यो एउटा पर्यटन व्यवसाय नै बनेको छ। कतिपय आन्तरिक वा बाह्य पर्यटक नदीहरूमा डुंगामार्फत साहसिक यात्रा गर्न रुचाउँछन्। नदीको गहिराई, बहावको अवस्थिति बुझेर डुंगा चलाउनुपर्ने हुन्छ। यसका लागि अनुभवी वा लाइसेन्सप्राप्त रिभर गाइड आवश्यक हुन्छ।
पोखरा लेकसाइडकी ३५ वर्षीया सीता थापा आइतबार तालिममा सहभागीलाई हौसला दिन आएकी थिइन्। सीतासँग र्याफ्टिङ गाइडसँगै ट्रेकिङ गाइड र कायाकिङको लामो अनुभव छ। पछिल्ला १२ वर्ष यही क्षेत्रमा काम गरेकी उनी भन्छिन्, ‘नेपाली समाजमा छोरीमान्छेले र्याफ्टिङ गाइडजस्तो साहसिक कार्य गर्नु हुँदैन वा गर्न सक्दैनन् भन्ने सोच छ। पहिले महिला भएर पनि के गर्न लागेको भनी हेप्ने समाजले आज मेरो तारिफ गर्छ।’
उनको अनुभवमा हिम्मत गरे रिभर गाइड सोचेजस्तो जटिल छैन। रिभर गाइडले राम्रो कमाइ गर्ने तथा देश–विदेश घुम्न पनि पाउने उनी बताउँछिन्।
५१ वर्षीय कमल ठकुरी रिभर गाइडको तालिम दिने गर्छन्। ०४३ सालदेखि निरन्तर रिभर गाइडका रुपमा सक्रिय ठकुरीले नेपालमा र्याफ्टिङ गर्नका लागि तोकिएका बाहेकका नदीमा समेत र्याफ्टिङ गरिसकेका छन्।
उनी र्याफ्टिङ लाई जोखिमसँगै मनोरञ्जक खेल मान्छन्। ‘नेपालमा र्याफ्टिङ का लागि ६ महिना उपयुक्त मान्छौँ,’ उनी भन्छन्, ‘६ महिना नेपालमा काम गरेर ६ महिना विदेशमा गर्न सकिन्छ। सुरक्षा अपनाउने हो भने रिभर गाइड त्यति जोखिमपूर्ण छैन, जति ठानिन्छ।’
सम्भावित क्षेत्र
नाराका अध्यक्ष अधिकारी ‘जलयात्रामा युवाको आकर्षण बढाउन र महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले’ आफूहरूले तालिमको आयोजना गरेको बताउँछन्। ‘नेपालमा प्रशस्त नदीहरू भएकाले र्याफ्टिङ को ठूलो सम्भावना छ,’ उनले भने, ‘अहिले बाह्य पर्यटक मात्र नभई नेपालीले समेत र्याफ्टिङ खेल्न थालेका छन्। यो साहसी खेललाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्रको आर्थिक वृद्धिको बलियो स्रोत बन्छ। यसको महत्व बुझेर सरकारले दायरा बढाउन नसक्दा निजी संस्था अग्रसर हुनुपरेको हो।’
दिगो पर्यटन परियोजनाका विज्ञ दवाडी जलयात्रामार्फत पर्यटकीय क्षेत्रलाई फराकिलो बनाई मनग्गे आम्दानी गर्न सकिने बताउँछन्। ‘पर्यटकीय स्तरलाई टेवा पु¥याउन र्याफ्टिङ क्षेत्रको विस्तार एकदमै जरुरी छ,’ उनी भन्छन्, ‘अहिले र्याफ्टिङ का लागि १६ नदीले वर्क प्रमिट पाएका छन्, ती सबै नदीमा सिजन अनुसार चलाउन सके पनि पर्यटन क्षेत्र बलियो बन्छ।’
उनका अनुसार, अहिले कर्णाली, ठूलीभेरी, भेरी, त्रिशुली, बुढी गण्डकी, सेती, काली गण्डकी, भोटेकोसी, सुनकोसी, दूधकोसी, तामाकोसी, तमोर लगायत नदीले वर्क प्रमिट पाएका छन्।
‘रिभर गाइड उत्पादन गर्न सके नेपालको पर्यटकीय क्षेत्रलाई उकास्नुका साथै महिलालाई आत्मनिर्भर हुन सहयोग पु¥याउनेछ,’ उनले भने।