Kathmandu Press

भारतमा जन्मे-हुर्केकी आशा शर्मा नेपालको सरकारी वृद्धाश्रममा

उनलाई छोराछोरी भेट्ने मन छैन, आश्रममै बानी पर्न थालिसकेको छ। ‘आश्रममा मजस्तै साथीभाइ छन्, गफगाफमै समय बित्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ परिवारको याद आउँछ, तर फर्कन चाहन्नँ।’ 
भारतमा जन्मे-हुर्केकी आशा शर्मा नेपालको सरकारी वृद्धाश्रममा

पात्र : आशा शर्मा, ६६। 

स्थान : समाज कल्याण केन्द्र वृद्धाश्रम, काठमाडौं।

मिति : १९ असार।

Hardik ivf

समय : दिनको १२ बजे।

आश्रमको भान्साकोठामा खाना खानका लागि लहरै कुर्सी राखिएका थिए। एउटा कुर्सीमा बसेर टोलाइरहेकी थिइन्, आशा शर्मा। उनलाई कहिलेकाहीँ आफ्ना सन्तान र माइतीको सम्झना हुन्छ। 

भारतमा जन्मे–हुर्केकी आशाले आजभन्दा ४० वर्षअघि एक्लो जीवन रोजेकी हुन्। जीवनका ६६औँ वसन्तसम्म आइपुग्न उनले अनेक घुम्ती हिँड्नु र कतैकतै घिस्रिनु समेत परेको छ। हिँडेका दिनहरू हुन् वा घिस्रिएका— यी दुवैसँग उनको कुनै गुनासो छैन। अहिले उनलाई वृद्धाश्रमको चौघेराभित्र आफ्नो समय ठप्प भएजस्तो लाग्छ, तर वागमती बगिरहेकै छ, पशुपति परिसरमा पूजा–प्रार्थना चलिरहेकै छन्, आर्यघाटमा शवहरू जलिरहेकै छन्। 

आशाको जीवनकथा नेपाल र भारत दुवैतिर जोडिएको छ। उनको स्मृतिमा उनकै कथाका सम्झनाहरू सलबलाइरहन्छन्। आफ्नो कथा सुनाउन उनलाई त्यति रुचि छैन, तर बोल्दै जाँदा कथाका पत्रहरु खुल्दै गए। 

उनका बुवा बुद्धिसागर शर्मा नेपाली हुन् भने आमा भारतीय। लमजुङका बुद्धिसागर भारतमा सरकारी जागिरे थिए, उतै उनको विवाह भयो र जेठी छोरीका रुपमा आशा जन्मिइन्, सन् १९५६ मा। 

आशाको सपना थियो, पढेर नर्स बन्ने। तर ४ कक्षामा पढ्दै गर्दा उनको विवाह हुन पुग्यो। ‘भारतमा जागिर गर्ने गुल्मीका भीमप्रसाद शर्मासँग मेरो विवाह भएको थियो, विवाह हुँदा मेरो पहिलो महिनावारी पनि भएको थिएन,’ आशा भन्छिन्, ‘दुई छोरा र एक छोरीलाई जन्म दिइसकेपछि श्रीमानसँग खटपट सुरु भयो।’ 

खटपटको विषय के थियो भन्ने उनी खोल्न चाहन्नन्, तर पारिवारिक विवाद बढ्दै गएपछि आजभन्दा करिब ४० वर्षअघि परिवारलाई छाडेर उनी नेपाल आएकी हुन्, जति बेला उनी २६ वर्षकी थिइन्। यतिखेर उनका सबै छोराछोरीले ४० नाघिसके। छोराछोरी कस्ता भए होलान् ? आशाको मनमा यस्तै तर्कना आउने गर्छ। के उनलाई छोराछोरी भेट्ने रहर होला ? 

‘छाडेर हिँडेको यत्तिका वर्ष भयो,’ उनी भन्छिन्, ‘अब त सम्झने मात्रै हो, सँगै बसेजस्तो माया हुन्न होला !’

उनलाई छोराछोरी भेट्ने मन छैन, आश्रममै बानी पर्न थालिसकेको छ। ‘आश्रममा मजस्तै साथीभाइ छन्, गफगाफमै समय बित्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ परिवारको याद आउँछ, तर फर्कन चाहन्नँ।’ 

उनी आश्रममा बस्न थालेको ६ वर्ष भयो। योबीचका ३४ वर्ष उनले नेपालमा अनेक संघर्ष गरिन्। 

सुरुमा उनले काठमाडौं आएर काम खोजेकी थिइन्, तर उनलाई भाषाको समस्या भयो। सुरुमा नेपाली बोल्न समेत आउँदैनथ्यो। जसोतसो उनले कमलपोखरीस्थित एक घरमा घरायसी काम गर्ने अवसर पाइन्। ‘केही वर्ष घरको काम गर्दै गलैँचा बुन्न सिकेँ, भाषा सिकेँ,’ उनी भन्छिन्, ‘गलैँचा बुन्न सिकेपछि पोखरा गएर दुई वर्ष काम गरेँ। गलैँचा बुनेर जीविका चलाउनै मुस्किल हुन्थ्यो। सानोतिनो व्यापार गर्ने विचारले फेरि काठमाडौं आएँ।’

काठमाडौं आएर कालोपुलमा डेरा गरी त्यहीँको फुटपाथमा तरकारी बेच्न थालिन्। बिहानै उठ्नु, तरकारी लिन जानु, अनि दिनभरि सडकमा बसेर बेच्नु— उनको दैनिकी यस्तै थियो। यही दैनिकीमा १२ वर्ष बित्यो। आफ्नो शरीर कमजोर हुँदै गएको महसुस उनलाई हुन थाल्यो– अहो, ६० पो लागिसकेँ ! 

उनलाई बुढ्यौलीले घेर्दै गरेको देखेका कालोपुलका केही स्थानीयले उनका बारेमा सोच्न थालेछन्। अनि, उनी वृद्धाश्रम आइपुगिन्। 

अहिले उनको स्वास्थ्य ठीकै छ, तर एक वर्षअघि खुट्टाको सानो अपरेसन गर्नुपर्‍याे। अहिले त्यसको दुखाइ पनि उनका लागि समस्या बनेको छ। उनको दायाँ खुट्टाका दुईवटा औँला काटिएका छन्। ‘सुरुमा सेतो–सेतो दागजस्तो आएको थियो। धेरै पोल्थ्यो। अपरेसन गरेर फालेपछि बिस्तारै कम हुँदै छ,’ आशा भन्छिन्, ‘के भएको थाहा छैन।’ 

वृद्धाश्रमका कार्यालय प्रमुख ओमप्रसाद पाण्डे पहिले धेरै धुम्रपान गर्ने हुँदा औँलामा निकोटिन जम्मा भई समस्या उत्पन्न भएको बताउँछन्। पाण्डेका अनुसार, वृद्धाश्रमकै खर्चमा आशाको अपरेसन गरिएको हो। अहिले यस वृद्धाश्रममा ९९ वृद्धवृद्धा छन्। ती सबैको आ–आफ्ना कथा छन्। 

यो पनि पढ्नुस्

जहाँ सरकारले ९९ वृद्धवृद्धालाई पाल्छ, तर १४१ वर्ष पुरानो भवन वृद्धवृद्धामैत्री छैन

वृद्धाश्रमकी तुलमायाको कथा : हाम्रो सन्तान भएनन्, सम्पत्ति दिएका आफन्तले हेरेनन्  


 

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्