Kathmandu Press

जहाँकी कुमारीले खोला तर्दिनन् 

नुवाकोटको साततले दरबार नजिकै छ, तलेजु भवानीको मन्दिर। यस मन्दिरमा पूजारीबाहेक कोही प्रवेश गर्न पाउँदैनन्। त्यसैले तलेजुको प्रतिरूपमा कुमारीको स्थापना गरी सर्वसाधारणलाई दर्शन गराउने चलन सुरु भयो।
जहाँकी कुमारीले खोला तर्दिनन् 

काठमाडौं, असार २१ : १० वर्षीया दिनिशा डंगोल र उनकी बहिनी हामीलाई लिन घरनजिकै बाटोमै आइपुगेका थिए। गएको जेठ १ गते मलाई नुवाकोटको विदुर नगरपालिका – २ मैदानटाेलस्थित  दिनिशाको घरमा पाहुना हुने संयोग जुरेको थियो। त्यस दिन मलाई विदुर बजारबाट स्कुटीमा चढाएर दिनिशाकी आमा शर्मिलाले आफ्नो घरमा लगेकी थिइन्। 

शर्मिलाले दिनिशालाई देखाउँदै भनिन्, ‘उहाँ नै हुनुहुन्छ कुमारी।’ शर्मिलाकी जेठी छोरी नुवाकोटकी कुमारी भएको मलाई पहिले नै अवगत थियो। उनले आफ्नी छोरीलाई आदरार्थी शब्दले सम्मान गरेपछि म अचम्भित भएँ। मनमनै अड्कल काटेँ– कुमारीप्रतिको सम्मान होला यो। तर पहिले शिक्षण पेसा गर्ने शर्मिलाले घरमा छोरीहरूलाई पनि तपाईं भनेरै सम्बोधन गर्दिरहिछिन्।

१० वर्षीया दिनिशा डंगोल

Hardik ivf

लामो कपाललाई पछाडितिर एक चुल्ठी पारेर बाटिएको, नाकको टुप्पोमा कालो कोठी र मुहारमा मृदु मुस्कान– पहिलोपटक देख्दा दिनिशाको यही आकृति मेरो स्मृतिमा गडेको थियो। उनको घरमा म पाहुना भएर २४ घन्टाजति रहेँ। यो अवधिमा दिनिशाको परिवार र छरछिमेकीले मलाई कुमारीबारे केही किंवदन्ती सुनाए। 

तलेजुको प्रतिरूप कुमारी

नुवाकोटको साततले दरबार नजिकै छ, तलेजु भवानीको मन्दिर। यस मन्दिरमा पूजारीबाहेक कोही प्रवेश गर्न पाउँदैनन्। त्यसैले तलेजुको प्रतिरूपमा कुमारीको स्थापना गरी सर्वसाधारणलाई दर्शन गराउने चलन सुरु भयो। कुमारीलाई भने यहाँ ल्याइँदैन। साततले दरबार परिसरमै छ, भैरवीको मन्दिर। सोही मन्दिरमा घटस्थापनादेखि विजया दशमीसम्म कुमारीलाई राख्ने प्रचलन छ। 

‘कुनै समय हाम्रो बुवा नारायणमान सिंह डंगोल समेत त्यहाँको पूजारी हुनुहुन्थ्यो,’ दिनिशाका काका उमेशमान डंगोलले माथिको किंवदन्ती सुनाउँदै भने, ‘हाम्रो बुवा दैनिक पूजा गर्न जाँदा हामीलाई पनि लैजानुहुन्थ्यो तर मन्दिरभित्र लैजानु हुन्नथ्यो। हामी बाहिरै बस्थ्यौँ।’ तलेजु भवानीको दर्शन पूजारीबाहेक अन्य कसैले गर्न नमिल्ने नियम अझै छ। 

कुमारी नियुक्ती हुँदाकाे क्षण

अहिलेकी कुमारी दिनिशा घटस्थापनादेखि विजया दशमीसम्म भैरवी मन्दिरमै बस्ने गर्छिन्। भैरवी मन्दिर नजिकै धामी–धमेनी बस्ने घर छ। दशैँ अवधिभर यही घरमा बसेर दिनिशाले भक्तजनलाई दर्शन दिने र अनुष्ठानका कार्यमा सहभागी हुने गर्छिन्। ‘सानो उमेरमा उहाँ (दिनिशा)लाई बसाउन केही समस्या हुन्थ्यो। तथापि, पूजा र दर्शनका लागि भक्तजन आउने क्रममा उहाँ मूर्तिजस्तै भएर बसेको देख्दा मै अचम्ममा पर्थें,’ दिनिशाकी आमा शर्मिला भन्छिन्, ‘अहिले त उहाँ बुझ्ने हुनुभएको छ। खासै समस्या हुँदैन।’

यसबाहेक नुवाकोटको सिन्दुरे जात्रामा पनि कुमारीको उपस्थिति अनिवार्य छ। धामीलाई स्नान गराउने तथा सिन्दुर जात्रामा पहिलो सिन्दुर चढाउने काम कुमारीबाट हुन्छ। न्वागी (दही, चामल खाने दिन) र चैते दशैँमा पनि कुमारी पूजा तथा भोज हुने गर्छ।

१२५ दिनकी हुँदा कुमारी नियुक्त 

२०७० वैशाख ५ गते दिनिशा नुवाकोटकी कुमारीका रूपमा नियुक्त भएकी हुन्, जति बेला उनी १२५ दिनकी थिइन्। उनको जन्म ३० मंसिर २०६९ मा भएको हो। उनी कुमारी भएकै पनि १० वर्ष पुग्न थाल्यो। उनी कुमारी भएपछिका केही तस्बिर ‘लुमन्ती पौ स्मारिका’मा छापिएका रहेछन्। यो स्मारिकालाई दिनिशाले जतनले आफ्नो दराजमा राखेकी छन्। 

दिनिशाको परिवारको दाबी छ, हालसम्म देशभरमै सबैभन्दा सानो उमेरमा कुमारी नियुक्त हुने दिनिशा नै हुन्। ‘पास्नी गरेको केही दिनमै नानी (दिनिशा) कुमारीको रूपमा चयन हुनुभएको थियो,’ शर्मिलाले भनिन्, ‘नुवाकोटमा चैते दशैँको अवसर पारेर बहालवाला कुमारीको अवकाश र नवकुमारीको नियुक्ति हुने गर्छ।’

दिनिशा कुमारी हुनुअघि त्यहाँका धामी र धमिनीकै खलकका तथा उनीहरूका १३ दिने दाजुभाइमध्येका छोरीहरू कुमारी चयन हुँदै आएका थिए। धामी र धमिनी पनि डंगोल थरकै हुन्। उनीहरू जीवित देवदेवी मानिन्छन् र उनीहरूको काम मन्दिरको हेरचाहदेखि पूजाआजा गर्ने हो। अहिले भैरवी मन्दिरमा धामी–धमेनीका रूपमा हरिमान सिंह डंगोल र ज्ञानी डंगोल छन्

धामी धमिनीसँग कुमारी दिनिशा डंगोल। 

धामी हरिमान सिंहका अनुसार, यहाँ कुमारी छान्नका लागि धामीबाट हेराइन्छ र जुर्नुपर्छ। जुरेकैले दिनिशा कुमारी भएकी हुन्। ‘मलाई अझै पनि याद छ, त्यस बेला धामी बाले कुमारी कुनै वंश र कुलभन्दा पनि जन्मअघि नै सिद्ध हुने बताएका थिए,’ दिनिशाका काका उमेशमान भन्छन्, ‘यद्यपि अझै पनि केहीले उहाँ (दिनिशा)लाई कुमारीको रूपमा स्वीकार्नुभएको छैन। धामी–धमेनीको खलक बाहेकबाट कुमारी जुरेको उहाँहरूलाई मनपरेको छैन।’

‘खोला तर्न हुन्न’

यहाँ कुमारी राख्ने प्रचलन कहिले र कसरी सुरु भयो भन्ने सम्बन्धमा स्थानीयलाई त्यति जानकारी छैन। स्थानीय ६५ वर्षीय कुशबहादुर डंगोलका अनुसार, यहाँ पृथ्वीनारायण शाह आउनुअघि नै कुमारीको प्रलचन थियो। 

यहाँकी कुमारीका सम्बन्धमा केही मान्यता प्रचलित छन्। यहाँकी कुमारीले कपाल काट्न हुँदैन, शरीरमा कुनै चोटपटक लागेको पनि हुनुहुँदैन। त्यस्तै कसैको जुठो खानु हुन्न। ‘कुमारी भइसकेपछि खोला तर्न समेत हुँदैन,’ दिनिशाकी आमा शर्मिला ठट्यौली शैलीमा भन्छिन्, ‘धन्न उहाँ (दिनिशा)को मामाघर भने खोलापारि छैन।’ 

आमा शर्मिला डंगोल र बहिनी दिकिशा डंगोलसँग कुमारी दिनिशा डंगोल

अन्यतिरका कुमारीका तुलनामा यहाँकी कुमारीलाई केही छुट पनि छन्। जस्तो : यहाँ कुमारीलाई रातो वस्त्र अनिवार्य छैन। त्यस्तै, यहाँकी कुमारीले खोला नतरी बाहिर हिँड्डुल गर्न पनि मिल्ने शर्मिला बताउँछिन्। 

दिनिशाको नियुक्तिसँगै कुमारीको महत्व

दिनिशा अघिसम्म यहाँ कुमारी हुनेलाई कुमारीको पहिचानका आभूषण र आसन केही थिएन। पूजाका बेला कुमारीले साधारण पहिरनमै उपस्थिति जनाउने गर्थिन्। अहिले भने दिनिशाको परिवारले कुमारीका लागि निधारमा रातो टीकाको बीचमा लगाउने चाँदीको टीका, गरगहना, आसन, कल्ली, बाला लगायत पहिरन तथा आभूषणको व्यवस्था गरेको छ। 

दिनिशा कुमारी नियुक्त भएसँगै नुवाकोट र नुवाकोट बाहिर पनि चर्चा हुन थाल्यो। यसमा दिनिशाका काका उमेशमानको विशेष भूमिका छ। ‘२०६५ सालमा स्नातकोत्तर अध्यनन गर्न म काठमाडौँ आएँ। सहर घुमघाम गर्ने क्रममा काठमाडौंकी राज्य कुमारीको पनि दर्शन पाएँ। सरकारकै कुमारीको दर्जा पाएकी नुवाकोटको कुमारी भने किन सादा होलिन् भन्ने लाग्यो,’ काठमाडौंमै जागिर गर्दै आएका उमेशमान भन्छन्, ‘पछि मेरै भतिजी कुमारी नियुक्त भएपछि हामी कुमारीका सरसामग्री तथा गरगहनाको जोहो गर्नतिर लाग्यौँ।’

कुमारी बस्ने आसनको आकृति र कलाकृति बुझ्न उनी पाटनका कालिगड कहाँ पुगेका थिए। त्यस समय आसन बनाएको ५० हजार लाग्ने उनले थाहा पाए। ‘सामान्य मध्यमवर्गीय परिवारका हामीलाई उक्त रकम ठूलो थियो। सरकारी कुमारी भएकाले उहाँलाई मासिक तीन हजार कुमारी भत्ता व्यवस्था गरिदिएको छ। तर, उक्त रकम सामान जोरजामका लागि अपुग थियो,’ उनी भन्छन्, ‘यस कारण हामीले सोही आकृतिको आसन नुवाकोटकै कालिगडलाई जिम्मा दियाैँ। आसनको छेउमा आवश्यक पर्ने सिंहका आकृति छुट्टै किन्याैँ।’

आसनको माथिल्लो भागमा हुने नागको आकृति उमेशमान आफैँले कोरे, जुन आसनमा अहिले दिनिशा बस्दै आएकी छन्। आउँदो दशैँदेखि उनलाई नयाँ आसनमा विराजमान गराइने जानकारी समेत उनले जनाए। 

‘पारिवारिक स्तरबाट पहिलोपटक आसनको व्यवस्था गरियो। त्यसपछि कुमारीले घाँटीमा लगाउने तायो (एक विशेष प्रकारका गहना) को व्यवस्था ग¥याैँ,’ उनले भने, ‘कुमारीको आधारभूत चिनारी टीकाको पनि व्यवस्था ग¥यौँ।’ 

अहिले पहिरन र आभूषणले सुसज्जित कुमारीप्रति स्थानीयको आस्था बढ्न थालेको उनको भनाइ छ। कुमारीको प्रचारका लागि दिनिशाको परिवारले पर्चा, फ्लेक्स, किरिङ, चित्र, टिसर्ट प्रिन्ट, कप प्रिन्ट आदि बाँड्ने गर्छ।

याे पनि : 

रातो मच्छिन्द्रनाथलाई बिरामी बनाउने बुंगमतीकी जीवित कुमारी 
 

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्