जहाँ सरकारले ९९ वृद्धवृद्धालाई पाल्छ, तर १४१ वर्ष पुरानो भवन वृद्धवृद्धामैत्री छैन
दुईतले यस भवनको माथिल्लो तलामा वृद्धवृद्धा चढ्न र झर्न सक्दैनन्। यद्यपि, दुवै तला गरी यस वृद्धाश्रमको कुल आश्रय क्षमता दुई सय ३० जनाको हो। प्रमुख पाण्डेका अनुसार, २०७२ सालसम्म यहाँ दुई सय ३० भन्दा बढी वृद्धवृद्धा थिए।काठमाडौ, असार २० : ६६ वर्षीया आशा शर्मा आफ्ना लुगा धुने तयारीमा थिइन्। दिनभरि त्यत्तिकै बसिरहन उनलाई अल्छी लाग्छ। ‘आफ्नो सरसफाइ आफैँ गर्छु,’ आशा भन्छिन्, ‘यहाँ बस्ने–खानेबाहेक अरू केही काम गर्नुपर्दैन, उमेर ढल्किसक्यो, अब काम गर्न पनि सक्दिनँ।’
आशा काठमाडौंको पशुपतिनाथ परिसरमा रहेको ‘समाज कल्याण केन्द्र वृद्धाश्रम’मा बस्छिन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चालित यस वृद्धाश्रममा आशाले आश्रय लिन थालेको ६ वर्ष भयो।
लमजुङ घर भएका आशाका बुवाले भारतमा विवाह गरेका थिए, आशा उतै जन्मिइन् र हुर्किइन्। आशाको विवाह पनि भारतमै भएको थियो। तर, श्रीमानसँग विवाद भएपछि ०४० सालमा उनी नेपाल आइन्। यहाँ आएदेखि उनको संघर्षको कथा सुरु हुन्छ। सुरुमा उनले पोखरामा गलैँचा बुन्ने काम गरेकी थिइन्। पछि आफैँ केही व्यवसाय गर्ने सोचले उनी काठमाडौं आइन्। ‘१२ वर्ष कालोपुलको फुटपाथमा तरकारी बेचेर बसेँ,’ उनी भन्छिन्, ‘दिनहुँ छिटै उठेर तरकारी बेच्न नसक्ने भएपछि आश्रम आइपुगेकी हुँ।’
आशाजस्तै यस वृद्धाश्रममा ९९ वृद्धवृद्धा (महिला : ६१, पुरुष : ३८) ले आश्रय पाएका छन्। वृद्धाश्रमका कार्यालय प्रमुख ओमप्रसाद पाण्डेका अनुसार, यीमध्ये २१ महिला र १५ पुरुष अशक्त छन्। उनीहरूको हेरचाह सुसारेले गर्नुपर्छ। आफैँ खान सक्ने वृद्धवृद्धालाई आफ्नो सरसफाइ आफैँ गर्न भनिएको छ। त्यसैले आशा आफ्ना लुगा धुन लागेकी थिइन्।
शौचालयको समस्या
पाण्डेका अनुसार, यहाँका ७६ वृद्धवृद्धालाई दिनहुँ औषधि खुवाउनुपर्छ। वृद्धवृद्धाको हेरचाहका लागि यहाँ एक नर्सको व्यवस्था गरिएको छ। बिरामी वृद्धवृद्धाको दैनिक परीक्षण समेत गरिन्छ। ‘उपचारका लागि भने बौद्धस्थित स्तुपा अस्पतालसँग सम्झौता भएको छ,’ पाण्डे भन्छन्, ‘अस्पतालले आश्रमका बिरामीको उपचारमा ५० प्रतिशत छुट दिन्छ। दीर्घकालीन रोग लागेमा वीर, टिचिङ लगायत अन्य सरकारी अस्पताल लैजान्छौँ।’
यहाँ भवन र भवनको नजिकै शौचालयको व्यवस्था छैन। शौचालयका लागि वृद्धवृद्धा भवनदेखि करिब सय मिटर पर जानुपर्छ। रोग र कमजोरीका कारण शौचालय पुग्नुअघि नै कतिपयले बाटोमै पिसाब–दिसा गरिदिन्छन्। ‘पिसाबका लागि प्रत्येकलाई कोठामै सानो प्लास्टिकको भाँडोको व्यवस्था गरेका छौँ,’ प्रमुख पाण्डेले भने, ‘बस्ने–सुत्ने ठाउँबाट केही टाढा शौचालय भएकाले हिँड्न नसक्नेलाई समस्या छ।’
‘वृद्धवृद्धामैत्री भवन छैन’
राजा सुरेन्द्र वीरविक्रम शाहका पाला (वि.संं १९३८)मा यहाँ ‘पञ्चदेव पाक्शाला’ स्थापना भएको थियो। सोही करिब १४१ वर्ष पुरानो भवनमा ०३४ सालदेखि वृद्धाश्रम सञ्चालित छ। यहाँ चारैतिर चर्तुभुज रूपमा चारवटा एकतले भवन जोडिएका छन् भने बीचमा पञ्चदेवल छन्। ‘चारवटा भवनमध्ये दुईवटा भवनमा मात्र वृद्धवृद्धा राखेका छौँ,’ प्रमुख पाण्डे भन्छन्, ‘सबै भवन पुराना भएकाले जीर्ण अवस्थाका छन्, वृद्धवृद्धामैत्री छैनन्।’ वृद्धवृद्धा बस्ने भवनको बीचमा रहेको पञ्चदेव मन्दिर पनि जोखिमपूर्ण अवस्थामा छ।
दुईतले यस भवनको माथिल्लो तलामा वृद्धवृद्धा चढ्न र झर्न सक्दैनन्। यद्यपि, दुवै तला गरी यस वृद्धाश्रमको कुल आश्रय क्षमता दुई सय ३० जनाको हो। प्रमुख पाण्डेका अनुसार, २०७२ सालसम्म यहाँ दुई सय ३० भन्दा बढी वृद्धवृद्धा थिए। ‘२०७४ मा स्थानीय सरकार आएदेखि वृद्धवृद्धाको संख्या घट्दै गएको ठानेका छौँ,’ कार्यालय प्रमुख पाण्डे भन्छन्, ‘स्थानीय सरकारले पारिवारिक विवादहरू मिलाउन थाल्यो र वृद्धवृद्धाहरू घरमै बस्न थाले भन्ने लाग्छ।’
त्यसो त गत साउन १ देखि हालसम्म यहाँका आठ वृद्धवृद्धाको निधन भयो। आश्रममा मृत्यु भएका वृद्धवृद्धाको कोही आफन्त भए सम्पर्क गरिन्छ, कोही नहुनेको शव भने जलाउन दिइन्छ। प्रत्येक वर्ष असार २० गते सामूहिक श्राद्ध पनि गरिदिने गरेको पाण्डेले बताए।
पाण्डेका अनुसार, यहाँको भवन जीर्ण र पूर्ण वृद्धवृद्धामैत्री नभएकाले काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा नयाँ भवन बनाउने तयारी भइरहेको छ। यसका लागि पशुपति विकास कोषले १३ रोपनी जग्गा दिएको छ। पाण्डे भन्छन्, ‘५० बेडको अस्पतालसहित आश्रम बनाउन चालू आर्थिक वर्षमा ८ करोड बजेट छुट्ट्याइएको छ। डिपिआर तयार भइसक्यो, अब छिटै निर्माण सुरु हुन्छ।’
‘मासु खुवाउन पाइएन’
कार्यालय प्रमुख पाण्डेका अनुसार, आश्रमका एक व्यक्ति बराबर मासिक आठ हजार रुपैयाँ खर्च लाग्छ। खाना, खाजा र इन्धनका लागि मासिक ७ लाख ५० हजार रुपैयाँ खर्च भइरहेको छ। वृद्धवृद्धालाई दैनिक चारपटक खाना तथा खाजा खुवाइन्छ। बिहान चिया–बिस्कुट, १० बजे खानामा दालभात र दूध, दिउँसो २ बजे प्रत्येक दिन फरक–फरक खाजा, साँझ ५ बजे खानामा सामान्य दालभात तरकारी खुवाइने पाण्डे बताउँछन्।
‘दुई–तीन वर्ष भयो, मासु खुवाइएको छैन, कहिलेकाहीँ दाताले मासु ल्याएर दिएमा यहाँका भान्सेले पकाएर दिन्छन्, नत्र मासु खुवाइएको छैन,’ पाण्डे भन्छन्, ‘बा–आमाले मासुको झोलसँग भात खान मन पराउने रहेछन्, हप्तामा एकपटक मासु खान पाए हुन्थ्यो भन्ने प्रस्ताव राखेका छन्।’ उनीहरूको प्रस्तावका सम्बन्धमा मन्त्रालयमा जानकारी गराइएको छ।
सरकारले आश्रमका लागि चालू आर्थिक वर्षमा तीन करोड ३१ लाख रुपैयाँ बजेट दिएको छ। त्यस्तै, ०७८÷७९ मा तीन करोड तीन लाख रुपैयाँ, ०७७ ÷७८ मा पनि तीन करोडको हाराहारीमा बजेट आएको उनी बताउँछन्। ‘खाना, खाजा र कर्मचारी खर्च त्यहीँबाट छुट्ट्याइन्छ,’ उनले भने, ‘अहिले आश्रममा २६ कर्मचारी छन्, पाँच स्थायी हुन् भने बाँकी करारमा छन्। सबै कर्मचारीलाई यही बजेटबाट तलब दिइन्छ।’
आवश्यक कागजात
यस वृद्धाश्रममा बस्नका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहको सिफारिससहित निवेदन आवश्यक पर्छ। यी कागजात महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पेस गरी स्वीकृत भएपछि वृद्धवृद्धाले यहाँ बस्न पाउँछन्। ‘मन्त्रालयको स्वीकृतिपछि पनि सिट खालि भए मात्रै तत्काल राखिन्छ, नभए प्रतीक्षाको सूचीमा राख्छौँ,’ पाण्डेले भने।
वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धालाई कोही आफन्त लिन आए पुनर्मिलन गराइने उनी बताउँछन्। ‘यो वर्ष एकजना आमालाई पुनर्मिलन गरायौँ,’ उनले भने, ‘एउटी आमालाई उनकै छोरी लिन आएकी थिइन्।’