Kathmandu Press

स्तरोन्नतिको पर्खाइमा सेती अस्पताल

अस्पतालमा सामाजिक सेवा एकाइ कार्यक्रम र स्वास्थ्य बिमा लागू गरिएको छ । जसअन्तर्गतका लक्षित वर्ग र स्वास्थ्य बिमामा आबद्ध रहेका बिरामीले निःशुल्क सेवा पाउँछन् ।
स्तरोन्नतिको पर्खाइमा सेती अस्पताल

काठमाडाैं, जेठ १८ : कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी २९ वर्षीया राधिका साउँदलाई विगत एक वर्षदेखि तल्लो पेट दुख्ने समस्या थियो । सुरुसुरुमा उनले आफ्नो समस्यालाई खासै महत्व दिएकी थिइनन् । पछिपछि उनलाई गह्रौँ वस्तु उचालेका बेला दुखाई  बढ्न थाल्यो । उनले छिमेकी साथीसँग सल्लाह लिइन् । साथीको सल्लाह बमोजिम उनी चार महिनाअघि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुगेकी थिइन् । उनको पाठेघर सुन्निएको रहेछ । ‘चेकजाँच गरेर औषधि दिएको थियो । डेढ महिनाजति औषधि खाएँ, अहिले ठीक छु,’ राधिकाले भनिन् ।

सुदूरपश्चिम क्षेत्रका बासिन्दाले आफूलाई कुनै जटिल प्रकारको रोग लाग्यो भने सम्झने अस्पताल हो, सेती प्रादेशिक अस्पताल ।

अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार, धनगढी तराई इलाका भएकाले गर्मीमा अति गर्मी र जाडोमा अति जाडो हुने गर्छ, त्यसैले सेती प्रादेशिक अस्पतालमा बाह्रै मास मौसमी बिरामी लगायत जटिल रोगका बिरामीको भीड रहने गर्छ । ‘अहिले गर्मीयाम भएकाले ओपिडीमा पाँच सय, इमर्जेन्सीमा डेढ सय र अन्य सामान्य रोगमा चेकजाँचका लागि आउने लगायत गरी दिनहुँ एक हजारको हाराहारीमा यहाँ बिरामी आउने गरेका छन्,’ उनले भने ।

Hardik ivf

उनका अनुसार, अघिल्लो वर्ष (०७८) भरि ओपिडीमा ६५ हजार, इमर्जेन्सीमा ३८ हजार र ‘एडमिसन केस’ (भर्ना हुने)का २५ हजार बिरामी आएका थिए । सुदूरपश्चिममा यो सबैभन्दा ठूलो, सुविधा सम्पन्न र विशेषज्ञ सेवा उपलब्ध हुने अस्पताल हो । ‘त्यसैले यहाँ प्रदेशका नौवटै जिल्लाबाट बर्सेनि एकदेखि डेढ लाखसम्म बिरामी आउने गर्छन्,’ उनले भने, ‘अहिले गर्मी बढेकाले झाडापखाला, रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र दमका बिरामी बढेका छन् ।’

जनशक्ति र पूर्वाधार

सूचना अधिकारी श्रेष्ठका अनुसार, १९९७ सालमा कैलाली जिल्ला अस्पताल स्थापना भएको थियो । सुरुवाती दिनमा कैलाली अस्पतालमा १५ शय्या थिए ।

२०४१ सालमा कैलाली जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पताल बनाउन ५० शय्या सरकारको तर्फबाट र ७५ शय्या विकास समितिको आन्तरिक स्रोतबाट सञ्चालन हुने गरी १२५ शय्याको स्वीकृति सरकारले दिएको थियो । त्यही समयको स्थायी दरबन्दी अझै कायम रहेकाले अस्पतालको स्तरोन्नति हुन सकेको छैन । अहिले व्यावहारिक रूपमा यस अस्पतालमा तीन सय २५ शय्या सञ्चालित छन् ।

देश नयाँ संरचनामा गएपछि ०७६ सालमा सेती अञ्चलको नाम परिवर्तन गरी ‘सेती प्रादेशिक अस्पताल’ राखियो । अस्पतालमा करार र साधारण गरेर ४८ विशेषज्ञ, २४ मेडिकल अफिसर र  डेढ सय स्टाफ नर्स छन् । ‘प्रदेश सरकारले करार वा ज्यालादारीमा भए पनि चिकित्सक दरबन्दीको व्यवस्था गरिरहन्छ । त्यसैले जनशक्तिको अभाव भने छैन,’ सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘स्थायी दरबन्दी कम भएकाले करारमा राख्नुपर्छ । कहिलेकाहीँ यहाँ चित्त नबुझे करारका चिकित्सक अन्त गइदिन्छन् र समस्या आउँछ तर प्रदेश सरकार र आफ्नै आन्तरिक स्रोतबाट करारमा चिकित्सक भर्ना गर्ने भएकाले जनशक्तिको अभाव खड्केको छैन ।’

उनका अनुसार, अस्पतालले डिजिटल एक्स–रे, सुविधा सम्पन्न ल्याबसँगै विभिन्न आधुनिक उपकरणका माध्यमबाट सेवा दिइरहेको छ । ‘सिटिस्यान र एमआरआईको माग गरेका थियौँ, अब ८–१० दिनमै जडान हुनेछ,’ उनले भने, ‘यो एउटा समस्या हल हुँदैछ । अर्को समस्या, अस्पताल रहेको जग्गाको क्षेत्रफल थोरै छ । स्थापनाकालबाटै अस्पतालका भवनहरू अव्यवस्थित रूपमा बन्न थाले । त्यसैले एउटा ठूलो र सुविधा सम्पन्न भवनको पनि अभाव छ ।’

शुल्क

यस अस्पतालले तीन सय रुपैयाँमा एक्स–रे सेवा दिएको छ । जब कि निजी अस्पतालमा एक्स–रे गर्दा ५–६ सय रुपैयाँ लाग्ने गर्छ ।

रक्त परीक्षण र ल्याब सेवा पनि निजी अस्पतालको तुलनाभन्दा एकदमै सुलभ रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । ‘शुल्क सम्बन्धमा अस्पतालको व्यवस्थापन समितिले निर्धारण गर्छ । त्यही अनुसार आम जनतालाई धेरै मार नपर्ने गरी सर्वसुलभ र सस्तोदरमै उपचार सेवा दिँदै आएका छौँ,’ उनले भने ।     

अस्पतालको आफ्नै फार्मेसी समेत छ । जहाँ बजार वा प्राइभेट अस्पतालको तुलनामा करिब २० देखि ३० प्रतिशतसम्म सस्तो दरमा औषधि उपलब्ध हुने पनि उनले बताए ।

अस्पतालमा सामाजिक सेवा एकाइ कार्यक्रम र स्वास्थ्य बिमा लागू गरिएको छ । जसअन्तर्गतका लक्षित वर्ग र स्वास्थ्य बिमामा आबद्ध रहेका बिरामीले निःशुल्क सेवा पाउँछन् । यस कारण पनि यहाँ दीर्घ रोगीका बिरामी उपचारका लागि बढी आउने गरेको उनले बताए ।

अहिले यहाँ साधारण टिकट शुल्क २० रुपैयाँ छ भने इमर्जेन्सीका बिरामीले ५० रुपैयाँको टिकट लिनुपर्छ ।

स्तरोन्नतिको पहल  

अस्पतालको स्तरोन्नतिको माग र पहल धेरै अघिदेखि भइरहेको थियो । अहिले प्रदेशको स्वास्थ्य निर्देशनालयलाई अस्पताल स्तरोन्नति सम्बन्धमा गुरुयोजना बनाएर पठाइएको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

‘अस्पतालको भवन पुरानो छ, त्यसलाई भत्काएर ठूलो र व्यवस्थित तीन सय ५० शय्या रहने एउटै भवन बनाउने योजना हो,’ उनले भने, ‘जग्गाको पूर्तिका लागि अस्पताल नजिकै सरकारी जग्गा छ, त्यो उपलब्ध हुन सक्छ कि भनेर सरोकार पक्षलाई पत्राचार गरेका छाँै ।’

 

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्