Kathmandu Press

स्थानीयबाट रुचाइएकी सरस्वती दर्लामी : अघिल्लोपटक उपाध्यक्ष, अहिले अध्यक्ष

पालिकाभित्र नेवार, मगर, कुमालको आफ्नै भाषा, कला र संस्कृति छ । त्यसैले जुन ठाउँमा जे भाषा कला संस्कृति छ, त्यो ठाउँमा त्यही खालको होमस्टे बनाउनका लागि छलफल भइरहेको छ ।
स्थानीयबाट रुचाइएकी सरस्वती दर्लामी : अघिल्लोपटक उपाध्यक्ष, अहिले अध्यक्ष

काठमाडाैं, असार १७ : अघिल्लो स्थानीय निर्वाचन (२०७४) मा महिला जनप्रतिनिधि निर्णायक पदमा कमै आए । त्यतिबेला अधिकांश महिला जनप्रतिनिधिले ‘उप’ पदका लागि टिकट पाएका थिए र ‘उप’ पदमा महिला जनप्रतिनिधिको प्रतिनिधित्व उल्लेख्य रह्यो । यसपटकको स्थानीय निर्वाचनमा महिलाहरू प्रमुख वा अध्यक्ष पदमै आउनुपर्ने महिला नेता तथा अधिकारकर्मीबाट आवाज उठेको थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा सरस्वती दर्लामी चिदी निर्वाचित भएकी थिइन् । यसपालि पुनः अध्यक्षमा उठ्ने उनको कुनै इच्छा थिएन । तर पार्टी (नेकपा एमाले)बाट उनले सहज रूपमा पालिका अध्यक्षका लागि टिकट पाइन् र निर्वाचित भइन् ।
 
‘अघिल्लो निर्वाचनमा गाउँपालिका उपाध्यक्षको उम्मेदवारका लागि म दाबेदार नै थिइनँ । पार्टीले तपाईं उपाध्यक्षमा उठ्नुपर्छ भनेकाले उठेकी थिएँ,’ अध्यक्ष दर्लामी भन्छिन्, ‘यो निर्वाचनमा पदको मोह नराखी व्यक्तिगत रूपमा पार्टीलाई सकेको सहयोग गर्छु भनेकी थिएँ, सबै पार्टीका कार्यकर्ताले तपाईंले अध्यक्षको टिकट लिनुपर्छ भनेकाले टिकट लिएँ ।’

उपाध्यक्ष हुँदा के गरिन् ?

Hardik ivf

गाविस उपाध्यक्ष भएर आएको सुरुको वर्ष आवश्यक नियम–कानुन बनाउँदै र सरकारी कामको विधि–प्रक्रिया सिक्दासिक्दै बितेको उनी बताउँछिन् । ‘दोस्रो वर्षबाट गाउँपालिकाको विकासका लागि थुप्रै योजना बने, तर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले गर्दा सोचे अनुरूप काम हुन सकेन,’ उनी भन्छिन्, ‘जनप्रतिनिधि भई आउनुअघि हाम्रो गाउँपालिकामा सडकको अभाव थियो । भएको सडक पनि बर्खामा नचल्ने अवस्थाको थियो । हामीले नौवटै वडा जोड्ने सडक निर्माण गरेका छौँ, जुन अहिले बाह्रै महिना चल्ने अवस्थामा छन् ।’

योसँगै महिला सशक्तीकरणका लागि सीपमूलक तथा आयआर्जनका कार्यक्रम, स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार निर्माण लगायत कार्यमा जोड दिएर काम गरेको उनी बताउँछिन् ।

‘गाउँपालिकामा पुरुषको तुलनामा महिला पछि परेका छन् । महिलाको अवस्था कमजोर भएकाले अघिल्लो कार्यकालमा सशक्तीकरणका कार्यक्रम ल्याएका थियौँ,’ उनी भन्छिन्, ‘अझै पनि सोचे अनुसारको विकास हुन सकेको छैन ।’

उनका अनुसार, अहिले गाउँपालिकामा एकल महिलाको अवस्था एकदमै कमजोर छ । एकल महिलालाई घरपरिवार र समाजले हेर्ने दृष्टकोण नै फरक भएकाले उनीहरू हरेक क्षेत्रमा हेपिएर, दबिएर बस्नुपरेको छ । उनीहरूलाई समाजमा स्थापित गर्न र आत्मनिर्भर बनाउन उत्पादन र आयआर्जन क्षेत्रसँग जोडेर अगाडि बढ्ने उनको योजना छ ।

पृष्ठभूमि

सरस्वती दर्लामीको जन्म अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ मा भएको हो । २१ वर्षको उमेरमा उनको विवाह बगनासकाली गाउँपालिका– १ का दिलबहादुर चिदीसँग भयो ।

उनका माइतीले नेपाली कांग्रेसमा आस्था राख्थे । यही कारण २०५७ मा इन्टर पढ्दै गर्दा उनले नेवि संघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । विवाहपछि भने उनको राजनीतिक गतिविधि रोकियो । स्वास्थ्य स्वयंसेविका भएर जागिर गर्न थालिन् ।

०७४ को स्थानीय निर्वाचनअघि उनले नेकपा एमालेको सदस्यता लिइन् र गाउँकमिटी सदस्य बनेर राजनीतिमा पुनः सक्रिय भइन् । ०७४ को स्थानीय निर्वाचनमा उपाध्यक्षको टिकट पाएर निर्वाचित भएसँगै उनको राजनीतिक यात्रा रोकिएको छैन ।

‘खानेपानी, सडक, कृषि र संस्कृतिलाई जोड दिन्छौँ’

आफ्नो पालिकामा टड्कारो समस्या खानेपानीको रहेको अध्यक्ष दर्लामी बताउँछिन् । पालिकाभित्र खानेपानीको मूल छैन । आफ्नो गाउँपालिकामा एक घर एक धारा पु¥याउन कालीगण्डकीबाट पानी ल्याउने योजना उनको छ ।

पालिकाभित्र पूर्वाधारको क्षेत्रमा बस्तीदेखि वडा कार्यालय जाने सडक निर्माण गरिएको छ, तर ती सबै सडकको स्तरोन्नति भइसकेको छैन । ‘कतिपय सडकमा बर्खामा एकदमै हिलो हुने र हिउँदमा अत्यधिक धुलो हुने गर्छ,’ ४० वर्षीया अध्यक्ष दर्लामी भन्छिन्, ‘नौवटै वडा कार्यालय जोड्ने सडकलाई हिलो र धुलोमुक्त बनाउने पहल भइरहेको छ ।’  

गुणस्तरीय स्वास्थ्य सेवा पालिकाबाटै दिने उद्देश्यले बर्थिङ सेन्टर निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने र थप सेवाका लागि १५ शय्याको हस्पिटल निर्माण गर्ने उनी बताउँछिन् । ‘महिला, अपांगता भएका व्यक्ति लगायत लक्षित वर्ग तथा समुदायको सशक्तीकरण र उनीहरूलाई आर्थिक आयआर्जनमा जोड्ने खालका कार्यक्रम सञ्चालन गर्ने सोच पनि छ,’ उनले भनिन् ।

उनका अनुसार, गाउँपालिकाभित्र थुप्रै पर्यटकीय क्षेत्र छन् । पालिकाभित्र नेवार, मगर, कुमालको आफ्नै भाषा, कला र संस्कृति छ । त्यसैले जुन ठाउँमा जे भाषा कला संस्कृति छ, त्यो ठाउँमा त्यही खालको होमस्टे बनाउनका लागि छलफल भइरहेको छ ।

यस पालिकाको प्रमुख बालीका रूपमा धान र मकै रहेको उनी बताउँछिन् । त्यसो त यहाँ सिजन अनुसारका अन्य तरकारी राम्रै उत्पादन हुने गर्छ । अघिल्लो कार्यकालमा कृषि र पशुपालनलाई समेटेर पकेट क्षेत्र निर्धारण गरिएको थियो । ‘गाउँपालिकाका नौवटा वडालाई तरकारी, सुन्तला, अदुवा, बेसार, अकबरे खुर्सानी, मौरी र बाख्रापालन लगायत पकेट क्षेत्र निर्धारण गरेका छौँ,’ उनी भन्छिन्, ‘कृषिलाई प्रवद्र्धन र व्यवस्थित गर्न बजारको व्यवस्थापन आवश्यक छ । अबको योजना भनेको यस गाउँपालिकाका हरेक परिवारलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने हो । यसलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्य लिएका छौँ ।’

 

प्रकाशित मिति: १०:४९ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्