‘दाइजो दिनुपर्ने हुँदा आमाबुवाले छोरीलाई बोझ सम्झने गरेका छन्’
‘त्यतिबेलाको मधेस आन्दोलनको अवस्था र असरले गर्दा म निर्वाचित हुन सकिनँ । ‘पराजित भए पनि हरेस नखाई स्थानीयवासीको सेवामा लागेकी थिएँ।’काठमाडौं, असार १३ : ‘अहिले म महिलाको प्रतिनिधि मात्र नभई नगरकै प्रतिनिधित्व गर्ने स्थानमा छु। अशिक्षा र कुसंस्कारका कारण महिलालाई घरबाहिर निस्कन वर्जितजस्तै रहेको क्षेत्र र समाजमा म निर्वाचित भएकी छु, यो नै एउटा सकारात्मक परिवर्तनको संकेत हो,’ कल्पनाकुमारी कटवाल भन्छिन्, ‘यसले के देखाउँछ भने मानिसहरु परिवर्तनको पक्षमा छन्। परिर्वतनकारी काम गर्न हाम्रो भूमिका रहनेछ।’
केहीअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा कल्पना सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा निर्वाचित भइन्।
कल्पनाको जन्म साबिकको बरहथवा गाउँपालिका– ३ मा भएको हो। कल्पनाका बुवाआमाले नेकपा एमाले पार्टीप्रति आस्था राख्थे। कल्पनाले पनि कक्षा ७ मा पढ्दै गर्दा (०३७ सालमा) अनेरास्ववियुको सदस्यता लिएकी थिइन्।
कल्पनाको विवाह बरहथवा नगरपालिका– ५ का भक्तप्रसाद शर्मासँग भयो, २०४१ सालमा। स्नातक उत्तीर्ण कल्पनाको राजनीतिक यात्रा, अध्ययन र अध्यापनसँगै अगाडि बढ्यो। प्रवीणता तह उत्तीर्ण गरेपछि २०४५ सालदेखि उनले शिक्षण पेसा गर्न थालिन्, आफैँले पढेको चक्र जनता सहिद गंगा माविमा। ०४८ सालदेखि उनी ‘नेपाल राष्ट्रिय शिक्षक संगठन’मा समेत सक्रिय रहिन्। २०६६ मा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षमा निर्वाचित भएकी कल्पना भर्खरै सम्पन्न केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बनिन्।
अघिल्लो स्थानीय निर्वाचनमा पनि कल्पनाले बरहथवाको नगरप्रमुखमा उम्मेदवारी दिएकी थिइन्। ‘त्यतिबेलाको मधेस आन्दोलनको अवस्था र असरले गर्दा म निर्वाचित हुन सकिनँ,’ ५४ वर्षीया रावल भन्छिन्, ‘पराजित भए पनि हरेस नखाई स्थानीयवासीको सेवामा लागेकी थिएँ। पार्टीमा क्रियाशील रहेकैले मलाई पार्टीले यसपालि पनि टिकट दिएको हो।’
छोरी बोझ
प्रमुख कटुवालका अनुसार, बरहथवा नगरपालिकाभित्र बालविवाह र दाइजोजस्ता कुप्रथा कायमै छन्। ‘विवाहमा दाइजो दिनुपर्ने हुँदा आमाबुवाले छोरीलाई बोझ सम्झने गरेका छन्,’ प्रमुख कटुवाल भन्छिन्, ‘यहाँका महिला शिक्षाबाट वञ्चित छन्। कतिपय सुत्केरी तथा गर्भवती महिलाले बेलैमा स्वास्थ्य सेवा नपाउँदा अकालमै ज्यान गुमाउन समेत परेको छ।’
हरेक क्षेत्रमा महिला सहभागिता र महिलाको क्षमता अभिवृद्धि आवश्यक रहेको उनी बताउँछिन्। ‘महिला सशक्तीकरणका लागि शिक्षामा पहुँचसँगै विभिन्न सीपमूलक कार्यक्रम ल्याउने योजना छ,’ उनी भन्छिन्, ‘त्यस्तै, जनचेतनाका कार्यक्रम पनि ल्याउनेछौँ।’
कल्पनाका अनुसार, बरहथवा नगरपालिकामा शिक्षण संस्था नभएका होइनन्, तर गुणस्तरीय छैनन्। सामुदायिक विद्यालयलाई कम्तीमा निजी विद्यालयको प्रतिस्पर्धी बनाउन दक्ष जनशक्तिको व्यवस्थापनसँगै भौतिक पूर्वाधारमा विकास गर्ने उनी बताउँछिन्।
सम्भावना
प्रमुख कटुवालका अनुसार, बरहथवा नगरपालिकामा कृषि उत्पादनको राम्रो सम्भावना छ। ‘यहाँ नगदे बालीका रूपमा उखुखेती, आलुखेती गरिन्छ। मकैखेती, दलहन बाली र धानखेती पनि हुन्छ। कृषिका लागि यहाँको माटो एकदमै उपयुक्त छ,’ उनी भन्छिन्, ‘तर, किसानले समयमै मल नपाउने समस्या छ। सिँचाइको व्यवस्थापन हुन सकेको छैन। त्यस्तै बजारको पनि समस्या छ। किसानले उचित मूल्य नपाउँदा मर्कामा परेका छन्।’ किसानका यिनै समस्यालाई सम्बोधन गरी अगाडि बढ्ने उनको योजना छ।