वृद्धाश्रमकी तुलमायाको कथा : हाम्रो सन्तान भएनन्, सम्पत्ति दिएका आफन्तले हेरेनन्
उनले वृद्धाश्रमका आफू सरहका व्यक्तिलाई साथी बनाएकी छन्। ‘छोराछोरी नभएर पहिला धेरै रोएँ, अहिले छोराछोरीजस्तै माया गर्ने मान्छे पाएकी छु,’ तुलमाया भन्छिन्, ‘मानिसले बल गरेर सन्तान नहुने रहेछ, देउताले दिनुपर्ने रहेछ।’काठमाडौं, असार १२ : ‘टिभी खोलिदिए हुन्थ्यो, रामायण आउने बेला भयो,’ टिभी कक्षमा कुर्सीमा बस्दै ७८ वर्षीया तुलमाया पुरी कराउँदै थिइन्, ‘अघिदेखि भनेको, पटक्कै मान्दैन। छोरा ! आऊ न, टिभी खोलिदेऊ।’
तुलमायाले जसलाई छोरा भनेर बोलाउँदै थिइन्, ती उनका सहोदर छोरा थिएनन्। उनले त काठमाडौंको पशुपति मन्दिर परिसरस्थित ‘समाज कल्याण केन्द्र वृद्धाश्रम’का कर्मचारीलाई बोलाउँदै थिइन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चालित यस वृद्धाश्रममा तुलमायाले आश्रय लिन थालेको १२ वर्ष भयो। यहाँ अहिले उनीजस्तै ९९ वृद्धवृद्धाले आश्रय लिएका छन्।
सन्तान नभएपछि...
ओखलढुंगाकी तुलमायाको नौ वर्षको उमेरमा विवाह भएको थियो, रामेछाप मन्थलीका अम्मरबहादुर पुरीसँग। विवाह गर्दा अम्मर १४ वर्षका थिए। विवाहपछि उनी पाँच वर्ष माइतीमै बसिन्। कक्षा ५ सम्म पढेका उनका श्रीमान नेपाली सेनामा भर्ती भएका थिए। तर, नौ वर्ष सेवा गरी जागिर छाडे। ‘सासुससुराले गाली गरेपछि उहाँ (श्रीमान्)ले सेनाको जागिर छाड्नुभएको हो,’ तुलमाया भन्छिन्, ‘जागिर खाएर के गर्छस् ? तेरा सन्तान छैनन् भनेर सासुससुरा कराइरहनुहुन्थ्यो।’
तुलमाया र अम्मरको सन्तान भएनन्। विवाहको लामो समयसम्म जायजन्म नभएपछि घरमा किचलो बढ्न थालेको उनी बताउँछिन्। उनका अनुसार, परिवारले अम्मरलाई दोस्रो विवाह गर्न जोड दिएका थिए, तर अम्मरले गरेनन्।
अम्मरका एक भाइ थिए। उनैका छोराछोरीलाई तुलमाया र अम्मरले आफ्नै छोराछोरी समान ठान्थे। ‘१४ वर्षअगाडि (०६५ सालमा) उहाँ (श्रीमान्)ले आफ्नो नाममा भएको सबै सम्पत्ति देवरको जेठो छोराको नाममा गरिदिनुभयो,’ तुलमाया भन्छिन्, ‘सम्पत्ति दिएपछि बुढेसकालमा हेर्छन् भन्ने आशा थियो। सम्पत्ति पाएपछि त पराईले झैँ व्यवहार गर्न थाले।’
त्यही साल विरक्तिएर उनका श्रीमानले घर छाडे। तुलमायालाई श्रीमान खोज्न दुई वर्ष लाग्यो, उनले आफ्ना श्रीमान् पशुपति परिसरस्थित वृद्धाश्रम रहेको थाहा पाइन् र श्रीमानसँगै बस्न आइन्। वृद्धाश्रममा सँगै ६ वर्ष बिताएपछि अम्मर अस्ताए। त्यसयता तुलमायाका लागि घर–परिवार भन्नु नै वृद्धाश्रम बनेको छ।
उनले वृद्धाश्रमका आफू सरहका व्यक्तिलाई साथी बनाएकी छन्। ‘छोराछोरी नभएर पहिला धेरै रोएँ, अहिले छोराछोरीजस्तै माया गर्ने मान्छे पाएकी छु,’ तुलमाया भन्छिन्, ‘मानिसले बल गरेर सन्तान नहुने रहेछ, देउताले दिनुपर्ने रहेछ।’
तुलमायालाई देवरका छोराछोरी बुढेसकालको सहारा बन्ने आशा थियो। त्यसैले सम्पत्ति देवरका छोराको नाममा गराउन उनी राजी भएकी थिइन्। तर, समय उनले सोचेजस्तो आएन। उनले आफ्नो ठानेकाहरु पराई भए। पशुपतिनाथकै काखमा देह त्याग्ने उनको उनको अन्तिम इच्छा छ। उनी भन्छिन्, ‘यहीँ रमाउन थालेकी छु, यहीँ मर्न पाऊँ।’