बाबाहरूको बिगबिगी : नेपालका राजादेखि नेतासम्म बाबाको शरणमा
‘धर्म’ सुरु भएदेखिनै ‘धर्म’ र ‘राजनीति’ को स्वार्थपूर्ण सम्बन्ध एकदम गाढा र कसिलो रूपमा बस्दै आएको देखिन्छ।सुरुमा समाजलाई सभ्य, सुसंस्कृत र अनुशासित बनाउने अभिप्रायले ‘धर्म’ को प्रतिपादन गरियो। हरेक धर्म आफै चल्ने होइन, मान्छेद्वारा सञ्चालन हुने हो। धर्ममा तर्कको मतलव नहुने र विश्वास बाध्यता बनेर उभिने हुन्छ। देवी, देवताहरू आश र त्रास दुवै बनेर मान्छे वरिपरि घुमिरहेछन् भन्ने भ्रम बाँड्न सफल हुने समाजका टाठाबाठा भनाउँदाहरूले धर्मलाई आफू अनुकुल व्याख्या, वर्णन र चालचलनको माध्यम बनाउन थालेपछि यो पनि समाजमा शोषण गर्ने प्रमुख माध्यम ‘धर्म’ नै हुन पुग्यो।
संसारको इतिहास हेर्दा पोप, पादरी, फलाही जस्ता धर्मगुरुहरूले धर्मको नाममा अनेकौ झञ्झावात समाजमा धार्मिक शोषणको जरा मज्जाले गाडिन थाल्यो। पुरोहित, पण्डित, ब्राह्मण, बाबा, सन्त, साधु, सन्यासी, योगी जस्ता अनेकौं रूप र नाम धारण गरेर समाजमा अलौकिक ईश्वरको नाममा ठगी गर्नेहरूको हरेक समयमा बिगबिगी चलिरहेछ। यो अरु धर्ममा पनि लागू हुन्छ।
‘धर्म’ सुरु भएदेखिनै ‘धर्म’ र ‘राजनीति’ को स्वार्थपूर्ण सम्बन्ध एकदम गाढा र कसिलो रूपमा बस्दै आएको देखिन्छ। सोह्रौँ शताब्दीसम्म त विश्वमा धर्मको राजनीति चल्थ्यो। समाजमा सोझासाझालाई धार्मिक रूपमा गरेको शोषण टिकाउन धर्मगुरुहरू र धार्मिक ठुलाठालुले राजनीतिज्ञहरूलाई कसरी च्याप्ने, ईश्वरलाई खुसी पारिदिएर राजनीतिज्ञको स्वार्थपूर्ति गरिदिने मनोवैज्ञानिक आश्वासन थोपरिदिने र राजनीतिज्ञहरू पनि धर्मको आधारमा सर्वसाधारणको मत कुम्ल्याएर आफ्नो राजनीति सफल पार्ने अपवित्र गठवन्धनले सर्वसाधारण चेपुवामा परेर हलचल गर्न नसक्ने अवस्थामा छन्।
पौराणिक कालमा धर्मको पालना गर्नु गराउनुलाई राजाले प्रमुख कर्तव्य ठान्थे। युद्ध पनि धर्म र अधर्मको रूपमा विभाजन गरिन्थ्यो। संसारमा आजसम्म धर्मका नाममा अनेकौ युद्धहरू भएका छन्। ती मध्ये केही ‘धर्मयुद्ध’ कहलाईए भने कैयौ युद्धहरू अरु धर्मावलम्बीलाई समाप्त पार्ने मनसायले गरिए।
सुरुमा पुजारी, पोप, पादरी, फलाही जस्ता धर्मगुरुहरूको काम मन्दिर, मन्जिद, गिर्जाघरहरूको रेखदेख गर्नु, ईश्वरीय पक्षको पालना गर्ने र जनमानसलाई सच्चा धर्म र नैतिकताको स्मरण गराउने थियो। वर्तमानमा त्यस्ता व्यक्तिहरूको रूप फेरिएको छ। धर्माधिकारीहरू ढोंगी बनेका छन्।
उनीहरू धर्मको नाममा पैसा जम्मा गर्ने, गाँजा, भाङ, अफिम जस्ता नशालु पदार्थहरू सेवन गर्ने, परस्त्रीगमनमा लिप्त रहने, डकैती र हत्यामा संलग्न हुने जस्ता काममा समेत संलग्न भै वितण्डा मच्चाउन थालेका छन्। धर्मको उद्देश्य छोरी, बुहारी र समस्त महिलाको इज्जत गर्ने हुनु पर्नेमा त्यस्ता मान्छेहरू नारी अस्मिता लुट्ने र नारीहरूको बदनाम गर्न पनि आकर्षित भएका छन्। समाजमा नैतिकताको र सिर्जनशिलताको रक्षाको लागि ‘धर्मयुद्ध’ हुनुपर्नेमा धर्मका ठेकेदारहरूनै स्त्री पुरुष, सानो ठूलो र धनी गरीवको भेद गर्दै खराबको पक्षमा बेस्सरी लागेका छन्।
बाबाको बस्त्र र पगरी गुथेर सारा समाजलाई अपहेलित र रोगी बनाउने त्यस्ता मान्छेहरूको अर्थ संकलननै प्रमुख उद्देश्य भएको छ। यिनीहरूकै कारण सांस्कृतिक, सामाजिक र धार्मिक आचरणको पतन भएको छ। उनीहरू आफैलाई देवता भन्न समेत पछि परेका छैनन्। मठ मन्दिरहरू परोपकार, त्याग, सत्सङ र साधनाको केन्द्र हुनुपर्नेमा देवता अघिल्तिर तेस्र्याएर अर्थ सङ्कलनको केन्द्र बनेका छन्। धर्माधिकारीहरू त्यागका मूर्ति, आदर्श रूपमा बलवीर्यवान, तेजस्वी तथा विद्वान हुनुपर्ने र तिनको वृत्ति सत्यतर्फ लागेको हुनुपर्नेमा व्याभिचारीहरू, धोकेवाजहरू, जालीहरू, अल्छीहरू र नाफाखोरहरू नै बस्त्र र बोली फेरेर ईश्वरको सच्चा दूत भन्न थालेका छन्। यसले समाजको स्वच्छतामा अरू धमिलो मिसिएको छ।
सुरुमा हिन्दूसाधु संस्था जनसेवी साधुसंस्था थियो। पछि चार वर्णाश्रममा समाज विभाजित गरिएपछि तपका विधान बनाइयो, कर्मकाण्डका जालो फिजाइयो र साधुसंस्थालाई घोर निवृत्तिवादी बनाइयो। त्याग, तप, भक्ति आदिको नाममा लाखौं भिखारीहरू साधुमा रूपान्तरण हुन थाले जसमा न कुनै जनसेवाको भावना छ, न कुनै सदाचार नै।
इतिहासलाई सिंहावलोकन गर्ने हो भने पनि नेपालका अनेकौं शासकहरूले सन्त महात्माहरूसँग आस्थाले वा स्वार्थले सम्बन्ध बढाएका देखिन्छन्। बाबाहरूको आशीर्वाद लिएर सत्ता टिकाउने अस्त्रको रूपमा नेपाली नेताहरूले स्वीकारेको पनि देखिन्छ। बाबाहरू उनीहरूको आशीर्वादले सत्ता टिक्ने, पद प्रतिष्ठा र धन दौलत प्राप्त हुन्छ भन्ने भ्रम बाँडिदिने र नेताहरू त्यही भ्रममा परेर अनेकौँ सुन चाँदी, नगदजस्ता उपहार र भेटी चढाउने क्रम धेरै पहिलेदेखि चल्दै आएको हो। यसले बाबाहरू र शासकहरू दुवैको दुनो सोझिने तर सर्वसाधारणलाई भने ती दुवै ठूला भन्ने भ्रमले मानसिक, आर्थिक, राजनैतिक र धार्मिक शोषणमा पर्ने क्रम बढिरहेको छ।
भनिन्छ- राजा वीरेन्द्र र रानी ऐश्वर्य भारत भ्रमणको अवसरमा साइबाबाको दर्शन गर्न गए। रानी ऐश्वर्यले बाबालाई तीन किलो सुन चढाइन्। सट्टामा बाबाले राजा वीरेन्द्रलाई एउटा सुनको स्यानो मुकुट पहि¥याइदिए र बोले- ‘अब तिम्रो शासन अकन्टक हुन्छ, कसैले टेढो आँखासम्म लगाउन सक्नेछैन।’ बाबाको आशीर्वादको खुसी लिएर राजा रानी स्वदेश त फर्किए तर त्यसको केहीसमय पछि उनीहरूसहित उनको वंशनै नाश हुनेगरी नारायणहिटी दरवार हत्याकाण्ड भयो।
प्रधानमन्त्री बनेर भारत भ्रमण गर्दा गिरिजाप्रसाद कोइरालाले पनि भारतको पुट्टपर्दी पुगेर साईबाबालाई ठूलै राशिको नगद उपहार चढाए। बाबाले उनलाई पनि तिम्रो प्रधानमन्त्री पदलाई कसैले भाँजो हाल्न पाउनेछैन भन्ने आशीर्वाद दिए। गिरिजाप्रसाद स्वदेश फर्केको केही समयमै आफ्नै पार्टीको विरोधले प्रधानमन्त्री पद गुम्यो।
राजा ज्ञानेन्द्रले पनि राजा हुनेबित्तिकै नेपाल र भारतका धेरै मन्दिरमा बोकाबली चढाए। कालीबाबा लगायत अनेकौँ साधु सन्तको पछि लागेर यज्ञ–यज्ञादिमा ठूलो धनराशि खर्च गरे। परिणाममा उनी पनि राजगद्दि छोडेर नागार्जुन जङ्गलतिर धकेलिए।
अनेकौँ उदाहरण छन्, जहाँ बाबाका मीठा आश्वासनमा नेपाली शासक लट्ठिएका छन्। योगी गोरखनाथले दिएको आशीर्वादले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सके भन्ने किंवदन्ती प्रख्यात नै छ। शिवपुरी नामका बाबा राणाकालमा नेपाल आएपछि दरबार, प्रशासन र सर्वसाधारणसम्म उनको पछि लाग्नेको लामै लर्को लाग्यो। खप्तड बाबाप्रति राजा वीरेन्द्रले निकै भक्ति देखाए। उनलाई आश्रम र खानपिनको बन्दोबस्त मिलाईदिए। चुनचुन बाबा हुन् या श्याम चैतन्य बाबा, कमलनयन आचार्य हुन् या पाइलटबाबा कसै न कसैको पछि लाग्ने शासक र प्रशासकको नेपालमा कमी छैन।
समाजका टाठाबाठा कहलाएका र उच्च पदस्थ मान्छेहरू डरले, लोभले र आशाले बाबाहरूको पछिल्तिर मरिहत्ते गरेर लागि परेका छन्। उनीहरूले दिएका औंठीहरू, रत्नहरू, मुगा, मालाहरू धारण गर्ने, सार्वजनिक ठाउँमा बाबाभक्तिका अनेकौं प्रसङ्गहरूले आकाश पाताल जोड्ने र उनीहरूको चाकडी, चुक्ली र चापलुसीमा मग्न बनेर दूनो आफ्नोतिर सोझ्याउन पल्केकाहरू पनि नेपालमा कम छैन।
भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आफ्नो सपथग्रहण समारोहमा सार्क देशहरूका नेताहरू त निम्त्याए तर आध्यात्मिक गुरु रविशंकर र अरु सन्तमहन्तहरूलाई पनि छुटाएनन्। त्यति मात्र होइन भारतका कतिपय साधुसन्तहरू त शासन सत्तामै होमिएका छन्। गोरखनाथ पीठका प्रमुख महन्थ अभेद्यनाथ र उनका उत्तराधिकारी आदित्यनाथ र हरिद्वारका स्वामी चिम्ममानन्द सांसदै नै बनेका छन्।
धार्मिक र आध्यात्मिक गुरु भन्नेबित्तिकै सादा भेष, कडा आत्मानुशासनमा रहेका, ध्यानयोग गर्ने, व्यवहारिक जीवनबाट टाढा रहेर एकांकी पाराले जीवन समर्पित गरिरहेका व्यक्तित्वको झल्को दिन्छन्। तर, कतिपय धर्मगुरुहरू यतिखेर धनाढ्य र शक्तिशाली व्यक्तिको रूपमा आफ्नो परिचय दिइरहेछन्। अध्यात्म दर्शन र धर्मलाई माध्यम बनाएर सोझा निमुखा जनताहरूलाई ठग्ने र रातारात विपुल धनराशि जम्मा गर्ने बाबाहरू झन् झन् चमत्कारी र सोझासाझाको मन जित्न अनेकौ हतकन्डा अपनाउन उद्यत छन्।
शिक्षाको कमी र आधुनिक जीवन शैली टाढाकै विषय बनेको नेपाल लगायत दक्षिण एशियाली मुलुकहरू त उनीहरूको लागि धर्मको नाममा पैसा कमाउने उर्वर भूमि नै ठहरिन्छ। यो मामलामा भारत अझ अगाडि छ। क्याम्ब्रिज विश्वविद्यालयले केही समय अघि गरेको अध्ययनले पनि भारतमा ‘धर्म’ एक ठूलो व्यवसाय भएको उल्लेख थियो। धार्मिक समूहको दर्शन अनुसार जनता पनि धर्मको उपभोक्ता बन्दै गएका छन्।
धर्म एउटा यस्तो चिज हो, जसमा डुब्दै गएपछि मान्छे एकोहोरो र आफूले अवलम्वन गरेको धर्म नै सर्वोत्कृष्ट र सर्वगुणसम्पन्न ठान्न थाल्दछ। धर्मगुरुहरू ईश्वरकै दूत हुन् र उनीहरूको सेवा गर्नु र उनीहरूलाई खुसी पार्नु नै आपूm सफल हुनु हो भन्ने मान्यताले लट्ठीएपछि मान्छे धर्मको नाममा आफ्नो सर्वस्व सुम्पन पछि पर्दैन। भक्तहरूलाई पुरै लठ्याइसकेपछि धार्मिक गुरुहरू उनीहरूलाई विस्तारै दुहुन थाल्छन् र उनीहरूको शरीर, सम्पत्ति र सेवा सबैकुरा आपूmतिर तान्छन् र तन्नम्भगत बनाइदिन पनि पछि पर्दैनन्।
तिब्बतीय धर्मगुरु दलाई लामाको पिसाव र दिसासमेत प्रसाद भनेर खाने र शिर र शरीर शुद्धीको लागि घस्ने जमात अझै घटेको छैन। हाम्रै नेपालमा पनि पञ्चायती कालसम्म पशुपतिका भट्टले अँध्यारो मुख लगाए भने दरवारलाई अनिष्ट हुनछ भन्ने विश्वासमा दरवार सधैं त्रस्त रहेको कुरा बेलाबेलामा बाहिर आइनै रहन्थ्यो। भक्तलाई आफ्नो खुट्टा ढोगाउने त प्रायः सबै धर्मगुरुहरूको स्वभाव हुन्छ नै। त्यही कर्मबाट भक्त पुरै शारीरिक मानसिक रूपमा गिर्न थाल्छ र बाबाहरूको हरेक क्रियाकलाप चमत्कार र ईश्वरीय हो भन्दै उसैको सेवा सुश्रुषामा हराउन थाल्दछ। हिन्दूहरूको सबैभन्दा ठूला धर्मगुरु मानिएका काञ्चिकामकोठीका पिठाधीश ‘शङ्कराचार्य’ले महिलालाई बलात्कार गरेको र जेल चलान गरिएको खवर त त्यति पुरानो भैसकेको छैन।
यस लेखमा केही धर्मगुरुको उल्लेख गरिन्छ जसले धर्मको नाममा मान्छेहरूलाई लठ्याउँदै ठूलो धार्मिक व्यवसाय चलाईरहेछन्। उनीहरू सारा शरीर, धन सम्पत्ति र नाता सम्बन्ध क्षण भङ्गुर हो, ‘ब्रह्म सत्य जगन्मित्थ्या’ भने धार्मिक अफिमका गोलीहरूले लठ्याउँछन्। यद्यपि उनीहरूनै स्वदेश तथा विदेशमा रहेका नेता, अभिनेता, प्रशासक, खेलाडी व्यापारी र कालोधन्दा गर्नेहरू सम्मलाई आफ्नो अनुयायी बनाएर सर्वस्व लुटिरहेका छन्। परम्परागत औषधि, स्वास्थ्य उत्पादन, योग र आध्यात्मिक उत्पादनको माध्यमबाट ठग्न पनि उनीहरूलाई सजिल्लो भएको छ। विद्यालय, कलेज र अस्पताल संचालन गरेर समाजको विश्वास तान्नेहरू पनि कम छैनन्।
१) सन्त रामपाल
कुनै बेला पेसाले सरकारी इञ्जिनियर र काममा लापरवाहीका कारण सरकारी जागिरबाट निकालिएका रामपालले जस्तोसुकै रोगको पनि उपचार गर्ने भ्रम फैलाएर हजारौं अनुयायी बनाएका र उपचार गर्ने र स्वस्थ बनाउने बहानामा रकम असुल्दै आएका थिए। आफैँलाई ईश्वर घोषणा गर्ने रामपालले धार्मिक व्यापारको रूपमा साम्राज्य चलाईरहेको हिन्दुस्तान टाइम्सले केही समय अगाडि जनाएको थियो। हत्याको आरोपमा सन् २०१४ नोभेम्वरमा रामपाललाई प्रहरीले पक्राउ गर्न खोज्दा उनको आश्रममा २४ घण्टा भन्दा बढी झडप भयो।
उनका २ सय ५० भन्दा बढी निजी सुरक्षा १६ हजारभन्दा बढी चेलाचेली आश्रमभित्रै राखेको सेना रहेको, दुईहजार भन्दा बढी मान्छेलाई आश्रमभित्रै मानव ढालको रूपमा प्रयोग गरेको समेत प्रहरिले भेटेको छ। अनुयायीहरूलाई बढी सुख सयलमा नलाग र धर्म सङ्कलनमा जोड नदेऊ भन्ने प्रवचनले लठ्याउने रामपालको आश्रम भने पाँचतारे होटलभन्दा धेरै बढी सुविधाले युक्त भएको भेटिएपछि सर्वसाधारण चकित परेका छन्। आखिर गैरकानुनी रूपमा मान्छेलाई बन्धक पारेको, राज्यविरुद्ध युद्ध गरेको र हत्या समेत गरेको अभियोगमा प्रहरीले रामपाललाई पक्राउ गरेको छ।
सन्त रामपालका भक्तहरू र कविरका भक्तहरूमा कविरनै सन्त रामपाल बनेर जन्मेका हुन् भन्ने विश्वास पाइन्छ। गुरुको आदेशमा वा गुरुसँगै मर्न पाउनु साह्रै असल काम हो भन्ने भ्रम फिजाउन रामपाल सफल छन्। गुरुको कहिलै आलोचना गर्नु हुँदैन र गुरुको जे सुकै आदेश पनि पालना गर्न हिचकिचाउन हुँदैन भन्ने विश्वास दिलाएर भक्तहरूको दिमाग भुट्न उनी सफल छन्।
२) आशाराम बापु
जोधपुर आश्रममा सोह्र वर्षे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा आशाराम बापु पनि सन् २०१४ मा जेल परे। बहत्तर वर्षीया आशारामलाई पक्राउ गर्दा उनका लाखौँ समर्थकले सरकारको विरोध समेत गरे। तर, उनी र उनका पुत्र नारायणले शृङ्खलाबद्ध बलात्कार गरेको विरोधका स्वरहरू मच्चिएपछि उनका समर्थकहरू पुच्छर लुकाउँदै भागे। आशाराम र उनका पुत्रले सातसय एकड जमिन हडपेको, सन् २००८ मा सावरमती नदीमा दुई युवकको हत्या गराएको, उनकै आश्रमभित्र चारजना बच्चाको हत्या भएको र आश्रभित्र आतङ्ककारी गतिविधि सञ्चालन हुने गरेको तथ्य पनि खुल्न आएको छ।
मीठो प्रवचनले अनुयायीहरूलाई लठ्याउँन पल्केका र सत्चरित्रको ज्ञान फ्याक्न सिपालु आशारामले अहम्दावादमा बनाएका मोटेरा आश्रम पनि गैरकानुनी रूपमा हडपेको जग्गामा बनेको खुल्न आएको छ। उनले आफ्नो ट्रष्ट मार्फत भारत र विदेशमा तीनसय पचासभन्दा बढी आश्रमहरू र सत्र हजार भन्दा बढी बालसंस्कार केन्द्रहरू संचालन गरेका र त्यसबाट वार्षिक साढे तीनसय करोड भारतीय रुपैया भन्दा बढी नाफा कमाइरहेछन्।
आशाराम बापु आफू भक्तियोग, ज्ञान योग र कर्मयोगका ज्ञाता र यसैबाट संसारमा चमत्कारिक परिवर्तन ल्याउने दावी गर्थे तर उनी नै व्यभिचार र धनलिप्सामा चुर्लुम्म डुबेको भेटिएपछि जेल नपुगि सुख पाएनन्। आपूmमा दैवी शक्ति छ भन्ने प्रचार गर्ने आशारामले आफ्नो आश्रममा गोमूत्रबाट औषधि बनाएको र वैदिक मन्त्रको शक्तिले नारीहरूको मासिक धर्ममा देखिने समस्या हल गर्न सकिने दावी गरेपनि कतैबाट प्रमाणित हुन सकेको छैन।
३) साइबाबा
सन् २०१२ मा साइबाबाको मृत्यु भयो। अस्पताल, विद्यालय, कलेज निर्माण गरी अनेकौँ चमत्कारहरूबाट भक्तहरूका प्रिय भगवान सरह बनेका साइबाबा पनि धनाढ्य र चर्चित गुरु हुन्। पवित्र खरानी वा विभूति, सुनका गहना र औठीहरू हावामा सिर्जना गर्न सक्ने उनको चमत्कार, चमत्कार नभएर विभिन्न ‘ट्रिक’ अपनाएको ‘जादू’मात्र रहेको पुष्टि भएपछि उनका कर्तुत फिका भएका छन्। अझ यौन दूराचारमा लिप्त रहेको भन्ने उनीमाथिको आरोप पनि चर्को रूपमा छ।
सम्पत्ति मोहमा नफस्न भक्तलाई उक्साउने र हावाभित्रैबाट औठी, गहना, विभूति निकाल्न सक्ने भनिएका साइबाबाको सम्पत्ति भने १२ अरव डलर रहेको तथ्य प्रकाशमा आएको छ। उनको मृत्युपछि उनको व्यक्तिगत च्याम्वरहरूमा मात्रै २८ लाख डलर नगद र ५० लाख डलर मूल्य बराबरका सुन चाँदी फेला परे। हिराजडित कपडाहरू, पाँचसयभन्दा बढी जोर जुत्ताहरू, असंख्य पफ्र्युमहरूसमेत उनको निजी निवासमा भेटिएपछि उनको ढोंग खुलेको छ।
साईबाबा तथा त्यस्तै अनेकौ मिनी र म्याक्सी बाबाहरूको चमत्कारको असाध्यै चर्चा भइरहेको बेला त्यस्ता चमत्कारको सत्यता जाँच्नको लागि बैङ्लोर विश्वविद्यालयका उपकुलपति डा. नरसिंहमको अध्यक्षतामा एउटा कमिटी निर्माण गरियो। त्यो कमिटीको उद्देश्य कुनै तथाकथित भगवान र बाबाले आफ्नो चमत्कार वैज्ञानिक तरिकाद्वारा प्रमाणित गर्न सक्छ भने त्यो जनमानसमा प्रस्तुत गर्ने थियो। यसको लागि कमिटीका सदस्यहरूले साईबाबालाई अनुरोध गरे। साइबाबा र उनका चम्चाहरूले डा. नरसिंहलाई ‘कुकुर’ समेत भन्न पछि परेनन्। उनीहरूले भने— ‘कम बुद्धिबालाले बढी बुद्धिबालाको बुद्धी जाँच्न पाइन्न।’ साइबाबाले आपूmलाई बढी बुद्धि भएको ठान्नुनै हीन बुद्धिको प्रमाण हो। परीक्षाको सामनानै नगरी गालीको पर्रा बर्साउनु लाचारीपन हो।
४) बाबा रामदेव
बाबा रामदेव हरेक बिहान बेलुका योग विज्ञापनमार्फत आफ्ना अनेकौं औषधि विक्री गरिरहेछन्। उनीबाट सिकेको प्राणायाम नियमित गरेपछि एचआइभी एड्स, कलेजो, क्यान्सर, ब्रेन ट्युमर, सोसाइसिस, जस्ता रोगहरू समेत पूर्ण रूपमा निमन भएको भन्ने उनको अभिव्यक्ति चिकित्साशास्त्रको क्षेत्रमा विवाद बनिरहेछ। योग गरेपछि औषधिनै सेवन गर्न छोडिदिए हुन्छ भन्ने उनको अभिव्यक्ति पत्याउँदा कयौंको ज्यान गएको खवर पनि आइरहेछन्। भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीकी नेता बृन्दा करातले त रामदेवको दिव्या फार्मेसीले औषधिमा मान्छे र जनावरको हड्डी समेत प्रयोग गरेको आरोप लगाएकी छिन्।
सन् २०११ जुनमा रामदेवले दिल्ली स्थित रामलीला मैदानमा भ्रष्टाचार विरुद्ध भोक हडताल सुरु गरे। त्यसैबेला उनीद्वारा सञ्चालित हरिद्वारस्थित पतञ्जली योग पीठ र दिव्या फार्मेसीले राज्यलाई तिर्नु पर्ने करौडौ कर छलेको र मनि लण्डिङ (सम्पत्ति शुद्धीकरण) गरेको खबर प्रकाशमा आयो। ठूलो समूहका समर्थक सहित रामलीला मैदानमा भोक हडताल गर्न बसेका बाबामाथि प्रहरी आक्रमण हुन थालेको सुइको पाएपछि सलवार कमिज र दुपट्टा पहिरेर महिलाको भेषमा उनी कुलेलम ठोके र केही दिन गुमनाम भए। आस्था च्यानल, पतञ्जली योगपिठ, दिव्य योगी मन्दिर ट्रष्ट, आयुर्वेद कलेज, पतञ्जली चिकित्सालय, पतञ्जली फुड एण्ड हर्वल पार्क जस्ता अनेकौ संस्थाहरू संचालन गरिरहेका बाबा रामदेवको ट्रष्टको मूल्य मात्र करिव २५ करोड डलर रहेको केही समय अघि वासिङटन पोष्टले रहस्य खोलेको थियो।
५) रविशंकर
तमिलनाडुमा जन्मिएर रविशंकरका विश्वभर १५१ देशमा झन्डै ३० करोड अनुयायी रहेको आँकडा छ। उनले ‘आर्ट अफ लिभिङ’ नामको योगसम्बन्धी कोर्स सञ्चालन गरिरहेछन्। बैंग्लोरस्थित आर्ट अफ लिभिङ सेन्टर श्री श्री रविशंकर वैध मन्दिर ट्रस्ट, पीयु कलेज, श्री श्री सेन्टर फर मिडिया स्टडीज, अमेरिका स्थित आर्ट अफ लिभिङ हेल्थ एण्ड एजुकेशन ट्रस्ट जस्ता संस्थाहरू संचालन गरेर उनले वार्षिक १ हजार करोड भारतीय रुपैया कमाइरहेका कुरा मार्च, २०१२ को सिलिकन इन्डिया न्यूजले प्रकाशमा ल्याएको थियो।
६) माता अमृतानन्दमयी
‘हगिङ सेन्ट’ उपनामले चिनिने यी माता आपूmले अङ्कमाल गरिदिएपछि जस्तोसुकै रोगव्याध, पीडा–पीर नास हुने एवं शरीर र धनले पूर्ण हुने बताउँछिन्। अहिलेसम्म उनले ३ करोडभन्दा बढी मानिसलाई अङ्कमाल गरिसकेको आँकडा छ। अमृता, टेलिभिजन अमृता इस्टिज्यूट अफ मेडिकल साइन्स, अमृता विश्वविद्यापिठम् कलेज जस्ता क्षेत्रहरू संचालन गरिरहेकी माताको अमृतावन्दामयी ट्रस्टसँग मात्र १५ करोडभन्दा बढी सम्पत्ति भएको तथ्य प्रकाशमा आएको छ।
७) स्वामी नित्यानन्द
स्प्रिचुअल डिस्कोर्स र ध्यानयोगमा ख्याती कमाएका स्वामी नित्यानन्द पनि अध्यात्म व्यवसायबाट मालामाल हुने मध्येमा पर्दछन्। उनलाई एकपटक भेटेपछि संसारको सारा माया मोह, सुख शैल फिका लाग्छ भन्नेहरू पनि धेरै छन्। उनले धेरै महिलाहरूलाई बलात्कार गरेको कुरा प्रकाशमा आएपछि र एउटी चलचित्र अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा उनी रहेको भिडियो फुटेज सार्वजनिक भएपछि उनको ढोंगिपन सबैको सामु उदाङ्गियो।
नित्यानन्द निर्जिव वस्तुमा पनि प्राण प्रतिष्ठाको माध्यमबाट प्राण भर्न सक्छन र उनको ईशाराले जे सुकै असम्भव काम पनि सम्भव हुन्छ भन्ने विश्वासमा आफ्ना भक्तहरूलाई हलचल नगराई राख्न उनी सफल थिए।
८) ओशो रजनीश
ओशो रजनीश खुला यौनको पक्षधर उभिए। विवाह र सन्तान उत्पादनलाई निरुत्साहित गर्ने उनको विचारलाई समाजले आलोचना ग¥यो। पुनामा रहेको उनको आश्रमले ठूलो धनराशि कर छलेको, राजनीति, समाज र धर्मको विषयमा उनले व्यक्त गरेका विचारले समाज धमिल्याउन खोजेको आरोपमा भारत सरकारले कारवाही गर्न खोजेपछि रजनीश सन १९८१ मा अमेरिका सरे। त्यहाँ एउटा कम्युन बनाए र अमेरिकी राजनीतिमा समेत हात हाल्न थाले।
उनका अनुयायी र अमेरिकीहरूबीच मनमुटाव र झडप सुरु भयो र अमेरिकी सरकारले पनि उनीमाथि निगरानी राख्न थाल्यो। सयौ रोल्स रोय कार, व्यक्तिगत हेलिकप्टर र आफ्नै चेलीहरूसँग गर्ने यौन सम्पर्कका कारण उनी झन् आलोचित बने। सन् १९८५ मा रजनीशमाथि पैतीस मुद्धा लगाइयो, त्यसमध्ये केहीमा उनी दोषी ठहरिए। त्यसपछि ४ लाख अमेरिकी डलर क्षतिपूर्ति तिरे र भारत फर्किए।
रजनीश आश्रममा रजनीशसँगै दशवर्ष व्यतित गरेका उनका निकटवर्ती हग मिल्नेले ‘रजनीशको यौन व्यापार’ (द सेक्स बिजनेस अफ रजनीश) नामक पुस्तक सम्भोग र समाधिका व्याख्याता भनिएका रजनीश ढोंगी, यौनलम्पट, यौन व्यापारीको रूपमा चित्रण गरेका छन्। अध्यातमवाद केवल धनीहरूको लागि मात्र हो, गरिबहरूको लागि होइन भन्ने रजनीशले संचालन गरेका आश्रमहरूमा विपरीतलिङ्गीहरूको हुलबाट आपूmलाई मनपर्ने यौनसाथीहरू खोज्न पाइने र तिनीहरूसँग समाधि नमिलुञ्जेल यौनक्रिया गर्न पाइने लोभमा लाखौ भारतीयहरूले अरवौ डलर स्वाहा पारेका र रजनीशको अथाह धनदौलतको प्रारम्भिक स्रोत तिनै भारतीय काम पिपासुहरू रहेको कुरा मिल्नेले स्पष्ट रूपमा प्रष्ट्याएका छन्।
बेलायतका अधिराजकुमार चाल्र्सका काकाका छोरालाई उनको मुखबाट अक्सिजन मास्क निकाल्न लगाएर रजनीशले प्राण पखेरु उडाउन लगाएका घटना, आश्रममा पुग्ने चेलीहरूले ‘गुरु भक्ति त मर्दैन रण्डो गुरु भएपनि’ भन्ने उखान अनुशरण गर्नै पर्ने बाध्यता, आश्रमहरूमा भिरिङ्गी, एड्स जस्ता रोगहरू फैलिएका प्रसंग, भक्तले ल्याएको सम्पत्ति सकिएपछि फेरि धन ल्याएपछि मात्र आश्रममा प्रवेश गर्ने आदेश, भारतदेखि अमेरिकासम्म पुग्दा सरकारी कर्मचारी, स्थानीय व्यक्तिहरू र अवैधानिक काम गर्नेसँग साठगाँठ गरी आफ्ना कुत्सित स्वार्थ पुरा गर्दै अघि बढेका घटनाहरू, रजनीशको विरोध गर्नेहरूलाई जस्तोसुकै हतकन्डा अपनाएर स्वाहा पारेका अनेकौ घटनाहरू, रजनीश र अनुयायीहरूले लागूपदार्थ प्रयोग गर्ने गरेका घटनाहरू, सेक्स थेरापी, सामूहिक सेक्स कार्यक्रम, तन्त्र समूह जस्ताका क्रियाकलाप संचालन गरेर आफ्नै प्रेमी प्रेमिकाको अघिल्तिर अरु धेरै मान्छेहरूद्वारा यौनक्रिया गराइएका घटनाहरूले रजनीशको सक्कली रुप समाज समक्ष आयो र रजनीशले चलाएको सम्प्रदाय ‘यौन व्यापार’ मात्रमा सीमित हुन पुग्यो भन्ने हग मिल्नेको ठहर छ।
९) चन्द्रस्वामी
चन्द्रस्वामी त भारतका प्रधानमन्त्री पि.भि.नरसिंह रावको धार्मिक सल्लाहकारनै थिए। उनी मानवको रूपमा प्रकट भएका ईश्वरनै हुन् र एउटा सिद्धहस्त ज्योतिषी हुन् भन्ने विश्वास उनका अनुयायीहरूमा थियो। उनले बेलायतका एक व्यापारीसँग एक लाख अमेरिकी डलर ठगेको यथार्थता खुलेपछि नौ करोड विदेशी मुद्रा अपचलन गरेको भेटिएपछि र राजिव गान्धीको हत्या काण्डमा उनको समेत संलग्नता देखिएपछि उनले भनेका सबै चमत्कारहरू झुठा रहेको सबैले थाहा पाए। अनेकौ जालझेल र ठगीको कारण उनी पछि जेलमा पुगेपछि उनका भक्तहरू आश्चर्यमा परेका छन्।
१०) श्रीमुरथ द्विवेदी
श्रीमुरथ द्विवेदी मान्छे होइन ईश्वर नै हुन् भनेर भक्तहरू मरिमेट्दथे। उनलाई इच्छा पुरा गर्न सक्ने सन्त पनि भन्दथे। उनलाई पैसा, जग्गा जमिन, सुन चादी जुहारतहरू चढाएका धन, सम्पत्ति, यश सबै बढ्छ भनेर सारा सम्पत्ति र शरीर सुम्पनेहरूको पनि कमी छैन। आश्रममा वेश्यावृत्ति संचालन गरेर समाजमा विकृति फैलाएको आरोपमा उनी पक्राउ परेपछि बल्ल उनको कर्तुत बाहिर प्रकाशमा आएको छ।
पण्डित, पादरी, फलाही, स्वामी, बाबा नाम धारण गरेका धार्मिक ठेकेदारहरू भगवानलाई समेत आर्थिक लाभको कमिशन दिने आश्वासन दिन पछि पर्दैनन् मानौ भगवान कुनै घुस लिने अधिकारी हो। कालोधन्दाबाट ठूलो धनराशि बटुल्नेहरू यस्ता बाबाहरूको आश्वासनमा मख्ख पर्छन् र उनीहरूको आदेश अनुसार धन खर्चिन्छन्। बाबाहरूलाई भेटी चढाएपछि आफ्ना कर्तुत र कालोधन सबै सफेद हुन्छ भन्ने विश्वास उनीहरूमा रहन्छ। त्यस्तोमा धार्मिक श्रद्धा होइन आफ्ना कर्तुत छोप्ने अभिप्राय प्रमुख रूपमा रहेको हुन्छ।
बाबाहरू धार्मिक प्रार्थना गराउँछन्। प्रार्थनामा आर्थिक आकाङ्क्षा सुषुप्त रूपमा उठिरहेको हुन्छ। बाबाहरूले देवताहरूलाई खुसी पारिदिन्छन् र सुख, शान्ति, यश प्राप्त हुन्छ भन्ने विश्वासले धनसम्पत्ति बाबाहरूलाई सुम्पदा सुम्पदा आफू कङ्गाल हुनेहरू कति छन् कति। घरमा पति पत्नीसँग सधैँ झगडामा उत्रने तर बाबालाई खुसी पार्न शरीर र सौन्दर्य सबै सुम्पनेहरू पनि यो समाजमा कम छैनन्।
बाबाका आश्रमहरू दान दक्षिणा संकलन केन्द्रहरू बनेका छन्। यो सब धर्मको नाममा व्यापार होइन अधर्म पनि हो। धर्मको नाममा धन, दौलत र शरीरको माग गर्ने, भक्तहरूलाई धन सङ्ग्रह गर्न, बचाउन र उपभोग गर्न नतम्स र शरीरको माया पनि नगर भनेर उत्प्रेरिणा जगाउने बाबाहरू आफू भने शुरा, सुन्दरी र सम्पत्ति सङ्ग्रह गरेर धार्मिक व्यापारको निकृष्टतालाई प्रोत्साहन दिइरहेछन्।
बाबाहरू कुनै काल्पनिक चमत्कारहरू समाजमा फ्याँकेर मात्र चुप बस्दैनन्। अशिक्षा र गरीवीको मारमा परेका दुःखी मान्छेहरू र पर्दा पछाडि खराब काम गरेर धन कुम्ल्याउन पल्केकाहरू भेटेपछि बाबाहरू उनीहरूको दिमाग भुटिदिन्छन् र उनीहरूसँग भएको सर्वस्व लुट्छन्। कोही भगवानको रूप धारण गरेको नाटक देखाउन थाल्छन्, कोही हातको सफाईले नाना भातीका चमत्कार देखाउन थाल्दछन्, कोही हावाबाटै अनेकौ सामान निकालेको भ्म बाँड्छन्, कोही तस्विरबाटै विभूती निकाल्न थाल्छन्। यसले सर्वसाधारणको मन र अर्थ दुवै हत्याउँछन्।
आध्यात्मिक वा दैवी शक्तिले घडी, औठी, रेडियो, लकेट पैदा गर्न सकिने भए अरवौ रुपैयाँ लगाएर अनेकौ यन्त्र उपकरण कारखाना किन खोल्नु पथ्र्यो र ? बाबाहरूले नै पूmमन्तर गरेर सबै समस्या हल गर्न सक्ने भए राज्यले विकास निर्माणको लागि किन मरिमेट्नु पथ्र्यो र ?