‘पहिलेपहिले घरेलु जडीबुटी खाएर गर्भपतन गर्नुपर्ने बाध्यता थियो’
अविकसित र ग्रामीण भेगका महिलाहरू अझैपनि स्वास्थ्यलाई प्रतिकूल पार्ने औषधि सेवन गरेर गर्भपतन गराइरहेका समाजशास्त्री मीना उप्रेती बताउँछिन्।काठमाडौं, असार १० : धादिङ ज्वालामुखी–२ की ४६ वर्षीया कान्छीमाया सुनारले घरेलु औषधि सेवन गरेर तीनपटक गर्भपतन गरिन्।
१४ वर्षको उमेरमा विवाह गरेकी कान्छीमाया १७ वर्षमै आमा बनिन्। पहिलो सन्तान जन्मेको केही वर्ष दोस्रो सन्तान जन्माउने योजना थिएन। तर, पहिलो सन्तान दुई वर्ष नपुग्दै उनी पुनः गर्भवती भइन्।
शारीरिक रूपमा परिपक्व नहुँदै आमा बनेकी कान्छीमाया दोस्रो सन्तानका लागि चार/पाँच वर्षको जन्मान्तर राख्न चाहन्थिन्। तर, त्यसका लागि उपाय भने उनीसँग थिएन। ‘दोस्रो सन्तानका लागि केही समय पर्खनेबारे श्रीमान्सँग कुरा राखे पनि त्यसको जवाफ नै आउँदैनथ्यो,’ कान्छीमाया भन्छिन्, ‘सन्तान भगवानकाे वरदान हुन्, जति दिए पनि थापिरहनुपर्छ भन्ने मानसिकता थियो।’
ग्रामीण भेग, त्यसमाथि विपन्न परिवार। पोषणयुक्त आहार त परको कुरा, सुत्केरी अवस्थामा आराम गरेर बस्ने सुविधासमेत कान्छीले पाइनन्। पहिलो सन्तानका रूपमा छोरा जन्माएकी कान्छीले दोस्रोपटक पनि छोरा नै जन्माइन्।
दोस्रो सन्तान जन्मिएपछि आफूमा सन्तानको रहर पुगेको कान्छीमाया बताउँछिन्। ‘शारीरिक रूपमा निकै कमजोर भएका कारण पनि त्यसपछि सन्तान जन्माउन सक्दिनँ जस्तो लागेको थियो तर इच्छा नहुँदानहुँदै पुनः गर्भवती भएँ, तेस्रोपटक गर्भवती हुँदा दोस्रो सन्तान डेढ वर्ष मात्रै भएको थियो,’ कान्छीमाया भन्छिन्, ‘श्रीमान्ले छोरीको रहर गर्नुभएको थियो, शारीरिक रूपमा म तयार त थिइनँ तर गर्भ बस्यो।’
शारीरिक र मानसिक रूपमा तयार नभए पनि गर्भवती भएपछि कान्छीमाया गर्भपतन गर्ने निर्णयमा पुगिन्। ‘त्यतिबेला गाउँमा अस्पताल थिएन, सल्लाह दिने चिकित्सक थिएनन्, गर्भपतनलाई नकारात्मक रूपमा हेरिन्थ्यो,’ कान्छीमायाले भनिन्।
तेस्रोपटक गर्भवती भएपछि कान्छीमायाले गर्भपतनका लागि घरायसी उपायहरूबारे खोजीनिती गरिन्। गाउँकै वृद्धाहरूले सुझाएअनुसार सिउँडीको दुध (चोप), कुभिन्डो, माहुरीको चाका सेवन गरिन्। ‘सिउँडीको दुध खाएको दुई दिनपछि अत्यधिक रक्तश्राव भयाे र गर्भ खेर गयो,’ उनी भन्छिन्, ‘गर्भ खेर जाँदा सुत्केरी हुँदाजस्तै पीडा हुन्थ्यो।’
कान्छीमाया घरेलु विधिबाट गर्भपतन गराउँदा असह्य रूपमा तल्लो पेट दुख्ने अनुभव सुनाउँछिन्। त्यसको असर अहिलेसम्म पनि भोग्नुपरेको उनको भनाइ छ। अहिले पनि महिनावारी हुँदा धेरै दिनसम्म तल्लो पेट दुख्ने, सेतो पानो बग्ने, रगत धेरै जाने, शरीर कमजोर हुने, यौन सम्बन्ध राख्दा बढी पीडा हुने, महिनावारी हुँदा खानामा रुचि घट्ने इत्यादि समस्या भोगिरहेकी छन्। ‘अशिक्षित र चेतनाका अभावका कारण जडीबुटी सेवनबाट घरायसी विधिबाट गर्भपतन गरें, धेरै पीडा सहनुप¥यो,’ उनी भन्छिन्, ‘हाम्रो जमानामा गाउँगाउँमा अस्पताल र डाक्टर थिएनन्, आजकालका महिलाहरूले उहिलेजस्तो सास्ती खेप्नुपरेको छैन।’
गर्भ नबसाेस् भन्नका लागि काँचो सिम्रिकलगायत थुप्रै जडीबुटी घोटेर खाएको समेत कान्छीमाया बताउँछिन्। ‘विभिन्न किसिमका जडीबुटीजन्य औषधि लिएर मानिसहरू आउँथे, उनीहरूले नै गर्भ रोक्ने औषधि भनेर काँचो सिम्रिकलगायत जडीबुटी दिन्थे,’ कान्छीमाया सम्झिन्छिन्, ‘३० रूपैयाँ पथ्र्यो, गर्भ बस्दैन भनेर खाएँ।’
त्यस्ता औषधिहरूले गर्भ रोके पनि शरीरमा अन्य समस्याहरू बाँचुन्जेल रहिरहने उनी बताउँछिन्। अहिले गाउँकै अस्पतालबाट उपलब्ध हुने परिवार नियोजनका साधन प्रयोग गरिरहेको उनी बताउँछिन्।
समाजको डरले गर्भपतन गराउन घरेलु जडीबुटी सेवन गर्छन्
अहिले पनि महिलाहरू समाजकाे डरले जडीबुटी सेवन गरी गर्भपतन गरिरहेका समाजशास्त्री मीना उप्रेतीको भनाइ छ। अविकसित र ग्रामीण भेगका महिलाहरू बाध्य भएर स्वास्थ्यलाई प्रतिकूल पार्ने औषधि सेवन गरेर गर्भपतन गराइरहेका उनी बताउँछिन्।
‘गर्भपतन गराउँदा हुने पीडा पुरूषले महसुस गर्नै सक्दैनन्, उनीहरू आफ्नो सुविधाका लागि महिलालाई गर्भपतन गराउन लगाउँछन्,’ समाजशास्त्री उप्रेती भन्छिन्, ‘परिवार र समाजले नकारात्मक दृष्टिकोण राख्ने भएकाले महिलाहरू सुरक्षित गर्भपतन गराउन डर मान्छन्।’
विकासका दृष्टिले समाज धेरै अगाडि बढे पनि मानसिकतामा भने परिवर्तन हुन नसकेको उनको धारणा छ। महिलाको इच्छा र चाहनामा अझै पनि परिवारले बन्देज लगाउने गरेका उदाहरण प्रशस्त भेटिने उनको भनाइ छ।
‘बलात्कार भएका महिला, एकल महिलालगायत धेरैले जडीबुटी सेवन गरेर असुरक्षित गर्भपतन गर्छन्,’ उनी भन्छिन्, ‘सुरक्षित गर्भपतन गर्न पाउने हरेक महिलाको अधिकार हो, यो सबैले बुझ्नुपर्छ।’
ग्रामीण भेगका महिलाहरू आर्थिक अभावका कारण पनि जडीबुटी सेवन गर्ने गरेको उनी बताउँछिन्। परिवारले छोराछोरी के चाहेका छन्? यस्ता घटनामा असुरक्षित गर्भपतन परिवारको दबाबमा हुने उप्रेतीको भनाइ छ। ‘समाजको डर र परिवारको दबाबमा जडीबुटी सेवन गरी गर्भपतन गर्छन्,’ उनी भन्छिन्, ‘असुरक्षित गर्भपतन समाजमा धेरै डरलाग्दो अवस्थामा छ तर यसको तथ्यांक संकलन गर्न सकिएको छैन।’
जडीबुटी सेवन गर्दा दीर्घकालीन रोग लाग्ने तथा ज्यान जाने जाेखिम
जडीबुटी सेवन गरी गर्भपतन गर्नु स्वास्थ्यका लागि अत्यन्त जोखिम हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम बताउँछन्।
‘धामीझाँक्री र हानिकारक जडीबुटी सेवन गरी गर्भपतन गर्दा ज्यान जाने खतरा हुन्छ,’ डा. गौतम भन्छन्, ‘अहिले जिल्ला–जिल्लामा सुरक्षित गर्भपतन गराउने क्लिनिक छ, तर पनि सबै महिला क्लिनिकमा पुग्दैनन्।’
गाउँघरतिर जडीबुटी सेवनबाट गर्भपतन गराउँदा महिलाको ज्यान गएको सुनिए पनि त्यसको तथ्यांक भने नभएको डा. गौतम बताउँछन्। समाजको मानसिकताका कारण महिलाहरू गर्भपतनका लागि क्लिनिक जान डराउने गौतमको भनाइ छ।
‘जडीबुटी सेवन गरेर गर्भपतन गराउदा गर्भ पूर्ण रूपमा नजान सक्छ,’ डा. गौतम भन्छन्, ‘गर्भको आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना हुन्छ। त्यस्तो हुँदा संक्रमण भई दीर्घकालीन रोग लाग्ने डर हुन्छ, जुन निकै घातक हुन्छ।’
असुरक्षित गर्भपतनले अत्याधिक रक्तश्राव, ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने डा. गौतम बताउँछन्। ‘घरेलु औषधिबाट गर्भपतन गराउनु जोखिम हो सबैलाई थाहा छ। समाजको डर र परिवारको दबाबमा यस्ता गतिविधि अहिले पनि हुन्छन्,’ उनी भन्छन्, ‘ग्रामीण भेगका महिलाहरूले गर्भपतनका लागि हानिकारक जडीबुटी प्रयोग गरेको पाइन्छ।’
सुरक्षित गर्भपतन महिलाको अधिकार
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा महिलाले १२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएको अधिवक्ता नेहा गुरूङ बताउँछिन्। ‘कानुनले अधिकार दिएको छ भने खुलेर सुरक्षित गर्भपतन गराउनुपर्छ,’ उनले भनिन्।
समाजको डरले खुलेर सुरक्षित गर्भपतन गराउन नसक्दा कतिपय महिलाले असुरक्षित र गलत बाटो रोज्ने उनको भनाई छ। ‘कानुनले सुरक्षित रूपमा गर्भपतन गर्न सहज बनाइदिएको छ,’ उनले भनिन्। उनका अनुसार, १० हप्तासम्मको गर्भ औषधिबाट १२ हप्ताको गर्भ औजार तथा औषधि प्रयोग गरेर गर्भपतन गराउन पाउँछन्।
१२ हप्ताभन्दा बढी भए सरकारले निश्चित मापदण्ड तोकेको उनी बताउँछिन्। ‘महिलाको ज्यान खतरामा भए, बलात्कार भएर गर्भ रहे, भ्रूणमा कुनै कमीकमजोरी भए, दीर्घकालीन रोग लागे २८ हप्तासम्मको गर्भ हटाउन पाइन्छ,’ अधिवक्ताले गुरूङले भनिन्, ‘सरकारले कानुनी व्यवस्थामा सहज बनाएकाले सुरक्षित गर्भपतन गर्नुपर्छ, जडीबुटी सेवन गरी असुरक्षित गर्भपतन गर्नुहुँदैन।’
जडीबुटी प्रयोग गरेर गर्भपतन गरे ज्यान जाने खतरा हुन्छ। जडीबुटी खानुभन्दा चिकित्सको सल्लाहसुझावमा मेडिकलको औषधि सेवन गरी सुरक्षित गर्भपतन गराउनु उचित हुने उनको भनाइ छ। ‘घरेलु जडीबुटी सेवन गरेर गर्भपतन गराउनु असुरक्षित हो,’ उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीको सहयोगमा सुरक्षित गर्भपतन गर्नुपर्छ।’